मुख्यसचिवमा कसले मार्ला छलाङ ?

राजनीति समाचार

काठमाडौं । जसरी कृष्णहरि पुष्कर संघीय मामिला तथा सामान्य प्रशासन सचिव थिए । अमेरिका शयरमै रहेको समयमा अर्थ सचिव भएर स्वदेश फर्किए । ठीक उही रितले मुख्यसचिव नियुक्त भए अनौठो नमाने हुन्छ भन्नेहरु भेटिन थालेका छन्,अहिले प्रशासनिक वृत्तमा ।

आइतबार नेपाली प्रशासनिक क्षेत्रकै कालो दिन । प्रशासन क्षेत्रकै उच्च ओहदामा पुगेका मुख्य सचिवमाथि अख्तियारले भ्रष्टाचार मुद्धा चलायो । प्रधानमन्त्रीदेखि अख्तियारको प्रमुख आयुक्त प्रेम राइले समेत पटक पटक बैकुण्ठ अर्याललाई राजीनामा दिन सुझाए तर अर्यालले राजीनामा दिन मानेनन् । आइतबार बिहानै आठ बजे कार्यालय पुगेर हाजिर गरेर फर्किएका उनीसहितका १२ जनालाई प्रतिवादी बनाउँदै अख्तियारले विशेषमा मुद्धा चलाएसँगै उनी निलम्बनमा परेका छन् र उनका लागि लोकमान सिंह कार्कीलाई झैं नयाँ दरबन्दी सृजना गरेर योजना आयोगमा पठाइएको छ । जसरी यस अघि भ्रष्टाचार मुद्धा चल्दा मधुकुमार मरासिनीले राजीनामा दिएनन् । उनले निकटवर्तीहरुलाई सात महिनामै आफू मुद्धा जितेर फर्कने दावी गर्दथें नभन्दै मुद्धा जिते,फैसलाको पूर्णपाठ नआउँदै जहाँ छँदा,जे बिषयमा मुद्धा चलेको थियो त्यही मन्त्रालयको हाकिम बनेर जिम्मेवारी सम्हाल्न गए ।

अहिले बैकुण्ठ समेत उसैगरी निकटवर्तीहरुलाई आफू केही महिना पछाडि नै मुद्धा जितेर फर्कने बताउने गरेका छन् । त्यही नेक्सस थाहा पाएकै कारण उनले राजीनामा स्वीकृत नगरेको हो भन्नेहरु धेरै प्रशासक भेटिएका छन् । यता मुख्य सचिवमाथि मुद्धा चलेपछि अघिल्लो क्याविनेटले गरेको राजदूत नियुक्ती घाममा सुकेको छ । त्यो प्रमाणीकरण हुन सकेको छैन ।

यसैबीच भावि मुख्यसचिव को होलान ? चर्चा र परिचर्चा शुरु भएको छ । कामू मुख्यसचिव चलाइरहेकी लीलादेवी गड्तौला मुख्यसचिव बनाइएको खण्डमा नेपालको निजामती क्षेत्रले रेकर्ड नै तोड्ने थियो । अहिलेसम्म २६ जना मुख्यसचिव भए । जसमा पहिलो महिला कामू सचिव बनेकी छिन्,लीला तर उनलाई मुख्यसचिव बनाइने सम्भवना क्षीण छ भन्दैछन्,प्रशासकहरु नै । मुख्यसचिवका प्रवल दावेदारका रुपमा तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेलको चर्चा छ । जसमा तोयनारायणको समय अवधि तीन महिना पनि नभएका कारण उनी रिङ्ग आउट हुने आँकलन गर्दैछन् ।रामकृष्ण सुवेदी माओवादी निकटका हुन तर निर्णय क्षमतामा कमजोर भएका कारण उनको पनि सम्भवना कम छ भनिदैंछ । प्रतिष्प्रर्धामा रहेकामध्ये सचिव ज्ञवाली भदौमा, सुवेदी कात्तिकमा, भट्टराई माघ अन्तिममा, अर्याल फागुनमा र पोखरेल २०८२ बैशाख २ गते अवकाश हुँदैछन् ।

ज्ञवाली हाल राष्ट्रिय योजना आयोगमा, सुवेदी सञ्चारमा, भट्टराई महिला बालबालिका मन्त्रालयमा र अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा छन् । अहिले गृह सचिवको जिम्मेवारीमा रहेका अर्याल प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओलीदेखि रवि लामिछानेसम्म्को प्रिय पात्र हुन । आइतबारमात्र रवि लामिछाने नजिकका एक प्रहरीलाई १ दिने एआइजीमा बढूवा सिफारिस गरेर उनी सोमबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक साथ लगाएर अमेरिका भ्रमणमा उडेका छन् । साता व्यापी लामो भ्रमणमा अमेरिका उडेका अर्याललाई अमेरिकामा छँदै मुख्यसचिव नियुक्ति गर्ने निर्णय भएको खण्डमा आश्चर्य नमाने हुन्छ भन्छन्, प्रशासकहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *