मुख्य सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा पर्दा कर्मचारीभित्र आतंक

राजनीति समाचार

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोग कुनै बेला निधाएको बाघ जस्तो भएर बसेको थियो । अहिले आएर केही ब्यूझिएको जस्तो देखिन्छ । किन कि पछिल्लो समय उच्च दपस्थ कर्मचारी र नेताहरुलाई कारबाहीको दायरामा ल्याएर चर्चा कमाउन थालेको छ । त्यति हुँदाहुँदै पनि राजनीतिक दलका नेताहरुलाई जोगाएर कर्मचारीलाई फसाउने काममा अगाडि बढेको छ । लामो समयदेखि भ्रष्टाचारको आरोप खेप्दै आएका मुख्य सचिव बैकुण्ठ अर्याललाई गत आइतवार भ्रष्टाचारको गरेको आरोपमा मुद्दा दायर गरेको छ । मुख्य सचिव अर्याल टेरामक्स काण्डमा मुछिँदै आएका थिए ।

मुख्य सचिवसँगै तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र मोहन बस्नेत पनि तानिएका थिए । तर, अहिले मुख्य सचिव अर्याललाई अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएर उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । अदालतमा मुद्दा परेपछि मुख्य अर्यालको पद स्वतहः निलम्वनमा परेको छ । उनी निलम्वनमा परेपछि सरकारले मुख्य सचिव कसलाई बनाउँछ भन्ने निश्चित छैन । अहिले प्रधानमन्त्री कार्यालयमा कार्यरत वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई जेष्ठताको आधारमा निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको छ । बैकुण्ठ अर्यालविरुद्ध अदालतमा मुद्दा पर्नुअगाडि पूर्वसञ्चारमन्त्रीद्वय ज्ञानेन्द्रबहादुर कार्की र मोहन बस्नेतसमेतको नाम एउटै मुद्दामा थियो ।

तर, केही छिनमै दुई नाम एकाएक हटाएर मुख्य सचिव अर्याललाई मात्रै दोषी ठहर गरेर मुद्दा दायर गरिएको छ । मुख्य सचिवसँगै सहसचिव रितेशकुमार शाक्य र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पनि दोषी ठहर गरिएको छ । मुख्यसचिव जस्तो महत्वपूर्ण पदमा आसिन व्यक्तिलाई नै भ्रष्टाचार जस्तो जघन्य आरोप लाग्नुभनेको कर्मचारी प्रशासनकै धज्जी उड्नु हो । अन्य विकसित मुलुकहरुमा महत्वपूर्ण पदमा बसेका कर्मचारीहरु स्वच्छ छविका हुन्छन् । कुशल नेतृत्व, स्वच्छ छवि र कार्यकुशलतामा निपूर्ण व्यक्ति मात्रै कर्मचारीको महत्वपूर्ण पदमा पुग्छन् । तर, हाम्रो देश नेपालमा खान, खुवाउन, भ्रष्टाचार गर्न, लुकाउन र सरकार फेरिएपिच्छ पार्टी परिवर्तन गर्न माहिर व्यक्ति मात्रै उच्च पदमा पुग्ने गर्दछन् ।

त्यस्ता चोरी, चकारी र चाप्लुसी गर्न माहिर व्यक्ति मात्रै मुख्यसचिव, सचिव, निर्देशक, महानिर्देशक, विभिन्न संवैधानिक आयोगका आयुक्त बन्ने कारणले मुलुक सधैं भ्रष्टाचारको दलदलमा फस्दै आएको छ । किन कि मुख्य सचिव भनेको निजामती कर्मचारीहरुको अभिभावक हुन् । अभिभावक नै भ्रष्टाचारी र अनुशासनहिन भएपछि अन्य कर्मचारीले कसरी निष्पक्ष ढंगले काम गर्न सक्छन् । मुख्य सचिवलाई भ्रष्टाचारको आरोप लागेर निलम्वनमा परेपछि कर्मचारीबीचमा आतंक फैलिएको छ । यो घटनाक्रमले नेपालका निजामती कर्मचारीमाथि सर्वसाधारणले गम्भीर प्रश्न उठाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *