ananta gurung

अराजक विकासले राष्ट्रिय ऋण मात्रै बढाउँदै

राजनीति लेख

राष्ट्रको आवश्यकता हेरी भएका विकासहरु सबै जरुरी हुन भने विदेशीका दलालहरुले दबाब दिएर भएका विकासहरु सबै आराजक हुन । नेपालको विकासमा विदेशीले बितेको सात दशक देखि हष्तक्षेप गर्दै आएकाछन । नेपाली जनतालाई चाहिएको विकास एउटा हुन्छ विदेशीले बनाईदिन्छ अर्कै । यसरी नेपाल राष्ट्र मात्र होइन नेपाली जनता पनि पीडित भएका छन् । विदेशीले केही अनुदान र केही सहुलियत दरको ऋणमा नेपालमा बनाईदिएका विकासका पूर्वधारहरुले राष्ट्रको मर्मत सम्हार र संरक्षण गर्ने खर्च मात्रै बढाएको छ त्यसबाट राष्ट्रको अम्दानी बढाउनमा भने कुनै ठोश योगदान पुगेको छैन ।

विदेशीलाई आफ्नो व्यापार बढाउनमा मात्रै चासो हुने हुँदा स्थानिय जनता माथि परियोजनाबाट भएको प्रतिकूल असर निवारण गर्नको लागि यथेष्ट ध्यान दिने गरेको छैन । आफ्नो प्रविधि र शिप बेच्न नेपाल छिरेका विदेशीहरु सित स्थानिय ज्ञान हुँदैन । विदेशीले हेर्ने भनेको ऋण लगानीको मात्रा, आफ्ना विज्ञहरुले पाउने कामको आकार र आफ्नो मुलुकको खपत हुनसक्ने निर्माण सामाग्रीको मात्रा आदि ईत्यादिमा नै सीमित हुन्छ । त्यहि भएको हुनाले विदेशीले सात दशक पहिले देखि नेपालमा गर्दै आएको विकासको कुनै प्रभाव देखिन्न ।

विदेशीको अनुदान ऋण सहयोगको योगदानले गर्दा नेपाल राष्ट्र र नेपाली जनता धनी बन्दै जानु पर्ने हो तर त्यसो नभएर उल्टो पाल्टो हुँदै गएको छ । नेपाल राष्ट्र र नेपाली जनता विदेशी परियोजनाहरुले गर्दा धनी भएको छैन झनझन कंगाल बन्दै गएकाछन । त्यसो भएका हुँदा नेपाल सरकारले स्वीकार गरेको विदेशी ऋणको साँवा व्याज सहित तोकिएको समय भित्रै बुझाउनको लागि नेपाल राष्ट्र र नेपाली जनता सक्षम छैन । नेपालका निजी बैंकहरु पनि टाट पल्टिने अवस्थामा पुगेका छन भन्ने चर्चा नियमित रुपमै सुनिन्छ । नेपालको आर्थिक हालत भनौ वा परिस्थिति जस्तो सुकै अवस्थामा रहेको वा पुगेको भएपनि दलहरुको मनस्थिति पनि त्यसबाट नेपाल राष्ट्र र नेपाली जनतालाई बचाउन केन्द्रित छैन भन्ने कुरा भने सोह्रै आना सत्य हुन ।

नेपाल राष्ट्रलाई आत्मनिर्भर बनाउने नीति र योजनाहरु दलका शीर्ष नेताहरुले नेपालमा ल्याएको छैन । दलका शीर्ष नेताहरुले अहिले सम्म ल्याएका नीतिहरु र योजनाहरु आत्मकेन्द्रित भएको र राज्यशक्ति सन्तुलनका लागि भागबण्डा मिलाउनेमा मात्रै सीमित रहेका छन । नेपाल राष्ट्रको धर्म, इतिहास र गौरवलाई जगेर्ना गर्ने वा बढाउनेमा दलका नेताहरुले किञ्चित पनि ध्यान दिएका छैनन् । राष्ट्र विकासको सन्दर्भमा पनि दलहरुको सोच समान प्रकारको नै छन । दलका शीर्ष नेताहरु आफ्नो भन्दा पनि विदेशीका दलालहरुको मन, मष्तिक र दिमागलाई प्रयोग गरी हिड्न रुचाउँछन । विदेशीका दलालहरुले पनि नयाँ नयाँ शव्दावलीको प्रयोग गरी दलका शीर्ष नेताहरुको दिमागलाई भुट्दै अहिले सम्म आआफ्नो फाइदा निकाल्दै आएकाछन ।

केही समय अगाडि एउटा “वुटिक एयरपोर्ट“ भन्ने शव्दावली निकै चर्चामा आएको थियो । त्यहि अचुक शव्दावलीलाई हतियार बनाएर विदेशीका दलालहरुले नेपलाका अन्तर्राष्ट्रिय विमानस्थलहरुको व्यवस्थापन आफ्नो नियंत्रणमा लिने प्रयास गरेका थिए । दीपक मलहोत्रा जस्ता विदेशीको दलालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वुटिक एयरपोर्ट बनाउने भन्दै त्यसको व्यवस्थापन आंशिक रुपमा लिने सफलता पाएका छन ।

यो शव्दको प्रयोग विदेशीका दलालहरुले कमिशन खोर दलका नेताहरुलाई आकर्षण गर्न र अन्य आम प्रतिश्प्रधीहरुलाई बाहिरको बाटो देखाउनको लागि मात्रै प्रयोगमा ल्याएका हुन । प्रष्ट रुपमा भन्नु पर्दा यो चलखेल सबै नेपालीलाई काम नदिन र स्वरोजगारीबाट बञ्चित तुल्याउनको लागि मात्रै प्रयोग भएका छन । यस्तै प्रकारले नेपालमा अर्को सव्दावली “ सिग्नेचर पुल “ पनि निकै चर्चमा आएको छ । नेपालमा सामान्य पुलहरु बनाएर पनि काम चलीरहेको नै छ । त्यसको लागि नेपालमा प्रविधिको ज्ञान, अनुभव र ठेकेदारहरु पनि प्रशस्तै छन । तर सडक बिभागले सिग्नेचर पुलको शव्दावली चर्चामा ल्याएर एकतिर कमिसनखोर दलका नेताहरुलाई प्रभावित तुल्याएको छ भने अर्कोतिर नेपाली ठेकेदारहरुलाई पनि प्रतिश्प्रधाबाट बाहिर गर्न चाहेका छन् ।

धेरै लागतको ठुलो पुल बनाउनको निमिक्त नेपाली ठेकेदारहरु सक्षम छैनन् भन्दै विदेशी ठेकेदारहरु र प्रविधिकहरुलाई नेपालमा ल्याएर रोजगारी दिने व्यवस्थापन केही विदेशीका दलालहरुले मिलेर गरीरहेका छन । सञ्चालनमा रहेको राम्रै अवस्थाको नरायाणी नदीको पुललाई भत्काएर त्यसमा सिग्नेचर पुल बनाउने योजना सडक बिभागले अगाडि सारीसकेको छ । भत्काउदा पनि कमिसन र बनाउँदा पनि कमिसन खान पाईने भएकाले यस्तो परियोजना दलका नेताहरु र परियोजना अधिकारीहरुलाई निकै आकर्षण भएको देखिन्छ ।

नेपालमा यस्ता भईरहेको र चलीरहेको पूर्वाधारहरुलाई भत्काएर बनाउने होड नै चलेको देखिन्छ । कतै लेन बृद्धि गर्ने र कतै स्तरोन्नती गर्ने भन्दै ठुला ठुला सडक परियोजनाहरु नेपाल भरी सञ्चालित छन । विदेशी ठेकेदारहरु र विदेशी कन्सल्टैंटहरुले नेपालमा राम्रो रोजगारी पाएकाछन । यस्ता ठुला सडक बिस्तार गर्ने परियोजनाहरु तोकिएको समयमा पुरा नभएको हुनाले स्थानिय नेपाली जनताको साथ साथ त्यो सडक भएर यात्रा गर्ने यात्रुहरुले पनि अतिनै कष्ट भोगिरहेका छन । अति नै भएका सडक बिस्तार गर्ने परियोजनाहरुमा सूर्यविनायक–धुलीखेल सडक , पृथ्वी राजमार्गको मुगलिन–पोखारा खण्ड र महेन्द्र राजमार्गको नरायाणघाट–बुतवल खण्डहरु पर्दछन । त्यो भेग भएर यात्रा गर्नु पर्ने यात्रुहरुले कुकुरले नपाएको दुःख पाईरहेका छन । सडक बिभागको खराब व्यवस्थापनले गर्दा नेपाली जनताको जीवनस्तार सुधार्नको लागि भनी बनाईएका यस्ता विकास परियोजनाहरुबाटै नेपाली जनताले नाकाबन्दीको झै कष्ट व्यहोर्नु पर्दैछ ।

भूगोलको ख्याल नै नगरी पहिले चौडा गरिएको मुगलिन–नरायाणघाट सडक खण्ड पनि अझै पक्का स्थिर बनीसकेको छैन । यसरी पहिले भटाभट ठेकाहरु लाउने अनि ठेका लगाईसकेपछिको व्यवस्थापनमा परियोजना अधिकारीहरु र दलका नेताहरुले ध्यान नदिएको हुँदा उक्त परियोजनाहरु सबै लथालिंग र भताभुङ्गको अवस्थामा चलीरहेका छन । उक्त कुनै पनि परियोजनाहरु तोकिएको समय र तोकिएको बजेट अनुसार बन्नै नसक्ने भएका छन । कमिसन खानको लागि परियोजनाहरु बनाउने र कमिसन पाईसके पछि उक्त परियोजनाहरुको व्यवस्थापनमा सरकारी निकायहरुले आवश्याक ध्यान नदने भएकाले उक्त सडक परियोजनाहरुबाट नेपाल राष्ट्र र नेपाली जनताहरु अति नै पीडित भएकाछन । उक्त सडकहरुको दुर्दशाले गर्दा खेरी नै सोसडक भएर जानु पर्ने अन्य परियोजनाहरु प्रभावित भएर समय र लागत दुबै बढ्ने र बढाउनु पर्ने अवस्था आईलागेका छन ।

नेपालमा अनेक पीछडिएको भेगहरु र त्यसमा बसोबास गर्ने पीछडिएको जातीहरु पनि छन । उक्त भेगहरुको विकास र उक्त भेगमा बसोबास गरीरहेका जातजातीहरुको उत्थान र विकासमा दलहरुले अलिकती पनि ध्यान दिएको छैन । सहर केन्द्रित विकास निर्माणमा नै विदेशी दात्री निकायहरु लगायत दलका नेताहरुले आफ्नो ध्यान केन्द्रित गरी रहेकाछन । सहरमा भनेको जस्तो ठुलो लगानी लाग्ने नयाँ परियोजनाहरु नपाएकाले पुरानोलाई भत्काएर त्यसको ठाउँमा नयाँ बनाउने परियोजनाहरुमा विदेशी सहयोगलाई परिचालित गरिएकाछन । विदेशी दात्री निकायहरु पनि राम्रो कनेक्टीभिटी नभएको भेगमा गएर त्यस ठाउँको विकास गर्नको लागि तयार छैन ।

यसरी सहरी ईलाकामा फजुलको परियोजनाहरुमा लगानी गरी दलका नेताहरुले राष्ट्रिय ऋणको रुपमा प्राप्त महत्वपूर्ण लगानीलाई खेरफाली रहेकाछन । भैरहवा र पोखरामा अन्तराष्ट्रिय विमानस्थलहरु बनाएपनि सञ्चालनमा ल्याउन नेपाल सरकारले सकेको छैन । त्यसै गरी डाँडाको टुप्पोमा कंक्रिटको टावरहरु बनाएर पनि राष्ट्रिय ऋणको मात्रा दलहरुले बढाएका छन । प्राविधिक हिसाबले उचित ठहरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन छाडी पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनाएर दलहरुले राष्ट्रलाई दोहोरो ऋणमा पारेकाछन । यस्ता कमिसनखोर दलका नेताहरु र निजामती अधिकारीहरु नेपाल सरकारमा भएसम्म यस्तै उल्टोपाल्टो काम भई नै रहेने र नेपाली जनताले दुःख पाई नै रहने कुरा ऐना हेरेको झै छर्लङ्ग नै भईसकेको अवस्था नेपालमा विद्यमान रहेकोछ ।

नेपालको विकास र राजनीतिमा विदेशीले एशियाली विकास बैंक र विश्व बैंक मार्फत ऋण लगानी गर्दा अनेक सर्तहरु राखी हष्तक्षेप गर्दै आएकाछन । केही विदेशी मुलुकहरुले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु र स्थानिय गैरसरकारी संस्थाहरुलाई परिचालन गरी नेपालको धर्म र लोकपरम्परालाई समेत बिथोल्ने बिगार्ने वा प्रभावित तुल्याउने गर्दै आएकाछन । दलमा भएका नेपालीहरु देखि लिएर निजामती हाकिम बनेका नेपालीहरु समेत सबैबभ्रष्ट छन । त्यसैको फाईदा उठाएर विदेशीहरुले नेपालको राजनीति र विकासलाई प्रभावित तुल्याउँदै आएकाछन । नेपालमा आएका विदेशीहरु समेत पनि भ्रष्टाचार गर्न र गराउनमा सहयोगी भएकाछन । भ्रष्टहरुलाई कमिसन खुवाएर नै विदेशीले नेपाली जनताको ऋणको भारी बढाउने सफलता पाएकाछन ।

विदेश घुमाउने देखि लिएर अनुदान दिने सम्मको प्रावधानहरु परियोजनामा राखी विदेशीले दलका नेताहरु र निजामती अधिकारीहरुलाई आफ्नो पञ्जामा पार्ने जाल बुनेका हुन्छन । नेपालका लोभीपापी दलका नेताले यसरी नै विदेशीको हातमा बिकेर नेपाल राष्ट्र र नेपाली जनतालाई दशकौं देखि धोका दिंदै आएकाछन । पहिले पहिले विदेशीहरु भ्रष्ट हुँदैन भन्ने भ्रम नेपाली जनतालाई थियो अब सबै देखि भोगीसकेपछि नेपाली जनताको पनि आँखा खुलीसकेका छन । त्यसरी विदेशीको गुलाम बनेर आफ्नै राष्ट्र र नेपाली जनतालाई धोका दिंदै हिड्ने दलका नेताहरु अहिले नाफाखोर तस्कर बनेर निस्केका हुँदा सुन तस्करी र मानव तस्करीको आरोपमा सजाय भोगीरहेका छन ।

दलका नेताहरु भ्रष्ट भएको हुनाले मनमौजी फाल्तु तजबिजी परियोजनाहरु बनाएर नेपाल राष्ट्रलाई लुट्दै हिड्ने गरेको हुनाले नेपाल राष्ट्रको ऋणको भार मात्रै बढेको तर राष्ट्रिय आम्दानी बढ्न नसकेको हुँदा नेपाल राष्ट्र गरिब बन्दै गएर टाट पल्टिने अवस्थामा पुगेको कुरा प्रमाणित हुन्छ । सुनिल र विकल पौडेल जस्ताले एक्लाएक्लैले नेपालमा भ्रष्टाचार गरेका हुन भन्ने कुरा अदालतले समेत भने पनि नेपाली जनतालाई पटक्कै बिश्वास लागेको छैन । उनीहरुले गर्दै आएको भ्रष्टाचार काण्डहरुको चाङ पछाडि निश्चित रुपमा नै दलका ठुला नेताहरुको हात रहेको नै हुनु पर्छ ।

सूचना प्रविधिको क्षेत्रमा नयाँ र ठुला परियोजनाहरु बनाएर राष्ट्रलाई धेरै चुना लगाउन सफल पौडेल दुईभाई जस्ता विदेशीका दलालहरुलाई दलका नेताहरुले काँध नहाली यस्तो ठुलो भ्रष्टाचारहरु नेपालमा संभव छैन । उहाँहरुलाई सक्षम र योग्य मानी राजनीतिक नियुक्ती गर्ने दलका शीर्ष नेताहरु कुनै हालतमा पनि चोखा छन भनी मान्न सकिन्न । सूचना प्रविधिको क्षेत्रमा अनियंत्रित भ्रष्टाचारहरु भईरहेकाछन तर प्रमाण जुटाउन कठिन भएको हुँदा सूचना प्रविधिका जानकार भ्रष्टाहरुको लागि नेपाल स्वर्ग नै सावित भएकोछ । यसरी नेपाल राष्ट्र अराजक विकासको सिकार बन्दै जाँदा नेपाली जनताको ऋणको भारी पनि दिन गुणा रात चौगुणा बढीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *