नेकपा एकीकृत समाजवादी : स्थापनाको ३३ महिनापछि महाधिवेशन

अन्तरवार्ता राजनीति

नेकपा एकीकृत समाजवादीले स्थापनाको ३३ महिनापछि महाधिवेशनमार्फत आफ्नो नेतृत्व चयन गर्दै छ । एकीकृत समाजवादी स्थापनायता निरन्तर सत्तामा छ । चुनावअघिको देउवा सरकार होस् वा चुनावपछिको दाहाल सरकार, एकीकृत समाजवादीका नेता मन्त्री बनेकै छन् । गठबन्धन फेरबदलबारे दाहालले कुनै सल्लाह नगरे पनि सरकारमा उसको उपस्थिति हटेको छैन । तर, संसदीय अंकगणितमा भने निकै खुम्चिएको छ । एमालेबाट २३ सांसद लिएर बनेको यो पार्टी अहिले प्रतिनिधिसभामा जम्मा १० सिटमा सीमित छ । विभाजन हुँदा आफूहरु बलियो कम्युनिस्ट शक्ति रहेको बताउने नेकपा एकीकृत समाजवादी यो अवस्थामा पुगेको हो । यो पार्टी अहिले न सत्ता समीकरणका लागि निर्णायक छ न सांगठनिक रुपमै बलियो । नेताहरुले पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्दा विभाजनका बेला पार्टीमा लागेका नेता–कार्यकर्ता एमालेमै फर्किन थालेका छन् ।

पार्टी विभाजन गर्न सहज हुने गरी तत्कालीन शेरबहादुर देउवा सरकारले ल्याइदिएको अध्यादेशको बलमा २०७८ भदौ २ गते २३ सांसद्को सनाखतबाट नेकपा एकीकृत समाजवादी जन्मिएको थियो । के एकीकृत समाजवादीले यसबीचमा फुटको औचित्य पुष्टि गर्न सकेको छ त ? देशभर संगठन विस्तार गरेको दाबी गरे पनि चुनावमा गठबन्धनको सहारा लिनुप¥यो र भागमा जति प¥यो उत्तिमा चित्त बुझाउनुप¥यो । एकीकृत समाजवादीले यो ३३ महिनामा न संगठन बनाउन जोडबल ग¥यो न पार्टी किन कमजोर भयो भनेर गम्भीर समीक्षा नै ग¥यो । केबल सत्ता भागबन्डामै रुमल्लिइरह्यो । तर पनि नेताहरुमा नेतृत्वमा पुग्न हानथाप छ । पार्टीको जनाधार र अस्तित्वमै संकट आइरहेका बेला पनि वर्तमान अध्यक्ष माधवकुमार नेपाल भने संगठन सुदृढीकरणको साटो अन्य दलको बुई चढेर प्रधानमन्त्री बन्ने सपना देखिरहनुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दश औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाण्डौमा सुरु भएको छ । काठमाडौंक प्रज्ञा भवनमा महाधिवेशन सुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरु सहभागि भएका थिए भने नेकपा एमालेले नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनको निम्तो अस्वीकार गरेको छ । उदघाटन अघि पार्टीले काठमाडौं ¥याली समेत प्रदर्शन गरेको थियो ।

चर्को प्रतिस्पर्धा
अध्यक्ष माधवकुमार नेपाल आफै नेतृत्वमा दोहोरिन चाहेका छन् । तर पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिव घनश्याम भूसालले पनि अध्यक्ष पदमा दावी गरेका छन् । तर, नेपाल नै सर्वसहमत अध्यक्ष बन्नेगरी दौडधुपमा छन् । प्रदेशअनुसार चयन हुने उपाध्यक्ष र सचिव पदबारे भने धेरै छलफल भएको देखिदैन । तर अध्यक्ष पछिको कार्यकारी भूमिका रहने महासचिव पदमा बलियो प्रतिस्पर्धा देखिएको छ । महासचिव बन्नको लागि अहिलेका चारै जना उपमहासचिवहरुको चर्को प्रतिस्पर्धा नै चलेको छ । डा.विजय पौडेल, डा.गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगनाथ खतिवडा उपमहासचिव मध्ये खतिवडा जसरी पनि महासचिव बन्नेगरी सक्रिय भएका छन् । माधव नेपालको साथ पाएरै पार्टी प्रवक्ता र प्रचार विभाग प्रमुख रहेका खतिवडाले माधव नेपालले बनाउने प्यानलमा आफू महासचिव रहेको दावी गरिरहेका छन् । अरुले प्रचार गरेपनि जित्ने र माधव नेपालको महासचिव आफू भएको खतिवडाको दावी छ । खतिवडाको तुलनामा पौडेल, तुलाधर र ज्वालाको दौडधुप कम देखिन्छ । यद्यपि यी तीनै जना नेताहरुको प्रभाव पार्टीभित्र राम्रो छ ।उपमहासचिवहरुसँगै रामकुमारी झाँक्रीलाई पनि महासचिव पदको बलियो दाबेदारका रुपमा हेरिएको छ । सचिवको भूमिकामा भएपनि झाँक्रीको प्रभाव पार्टीभित्र र बाहिर बलियो छ । झाँक्रीसँगै अर्का सचिव राजेन्द्र राईलाई पनि महासचिवको दाबेदारका रुपमा हेरिएको छ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राई युवा पंक्तिमा रुचाइएका नेता हुन् ।

घट्दै केन्द्रीय कार्यसमितिको आकार, कती प्रतिनिधि सहभागी ?
नेकपा एकीकृत समाजवादीले १०औँ राष्ट्रिय महाधिवेशनबाट एक सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने भएको छ । १६–२० असारसम्म काठमाडौंमा हुने महाधिवेशनमा बहुपदीय प्रणालीमा निर्वाचन गरिने कार्यसमितिमा १९ पदाधिकारीसहित एक सय ९९ सदस्यीय कार्यसमिति गठन हुने छ । विद्यमान कमिटीमा तीन सय ५० सदस्यीय कार्यसमिति रहेकामा आकार घटाएर संगठनलाई थप प्रभावकारी बनाउन लागिएको जनाइएको छ । कार्यसमिति सानो हुने भएपछि केन्द्रीय कमिटीमा जान चाहने नेताहरूको प्रतिस्पर्धा बढेको छ । सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माण गर्न र बढीभन्दा बढी सदस्यता विस्तार गरी पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई थप जिम्मेवार बनाउन करिब एक हजार चार सय महाधिवेशन प्रतिनिधि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित गराउने जनाइएको छ ।

महाधिवेशन आयोजक समितिका चार सय ५० केन्द्रीय नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । कुल एक हजार आठ सय ४९ महाधिवेशन प्रतिनिधिको व्यवस्था गरिएकामा त्यसको पाँच प्रतिशत अर्थात् ९५ प्रतिनिधि मनोनयन गरिनेछ । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सदस्य व्यवस्थित र विस्तार, सङ्गठन निर्माण, प्रशिक्षण, प्रकाशनसहितका कार्य सम्पन्न गरेको छ । सम्पर्क कार्यालयलाई व्यवस्थित बनाउन तथा सदस्यहरू विस्तार गर्न सदस्यता शुल्क, लेबीलाई व्यवस्थित गराउने र कार्यालय व्यवस्थापनका लागि सम्पर्क मञ्च र सम्बन्धित कमिटीलाई आवश्यकतानुसार दायित्व तोक्न सक्ने व्यवस्था मिलाएको थियो ।

महाधिवेशनका लागि तयार गरिएको राजनीतिक प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ ।वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिएको उक्त प्रतिवेदनमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्ने विषय प्राथमिकता छ । ‘समाजवादी कार्यक्रम’को प्रतिवेदनमा वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा, त्यसको स्वरुप तथा संरचना, सामाजिक प्रभाव, आर्थिक रुपान्तरणका पक्ष, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषय उल्लेख छन् । देश र जनताको प्रगतिको बाधक तत्वको रूपमा पुँजीवादी व्यवस्थालाई चित्रण गरिएको छ । विधानमा ७० वर्षको उमेरहद हटाइएको छ भने युवा सहभागिता वृद्धि, समावेशी सिद्धान्तलगायतका विषयलाई जोड दिइएको छ ।

इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने
नेकपा एकीकृत समाजवादीको नेतृत्व चयनका लागि हुने मतदानमा इलेक्ट्रोनिक मेसिन प्रयोग गर्ने भएको छ । विद्युतीय मतदान लागि पार्टी केन्द्रीय सचिवालय सदस्यहरुले डेमो प्रस्तुतसमेत गरेका छन् । दशौँ राष्ट्रिय महाधिवेशनका लागि झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । सोही मण्डलले महाधिवेशनको मतदान विद्युतीय माध्यमबाट गर्ने निर्णय गरेको हो । आइतबारदेखि सुरु भएको दशौं महाधिवेशनमा बन्द सत्र चलिरहेको छ । बन्द सत्रपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ ।

महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल
दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो । अध्यक्षमण्डलमा डा वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रमेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुसाल, महबुज आलम र गणेश विक सदस्य रहेका छन् । बन्दसत्रले पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहेका तीन सदस्यीय माइन्युट लेखन कमिटी गठन गरेको छ । समितिका सदस्यमा डा गङ्गालाल तुलाधर र डा विजयकुमार पौडेल रहेका छन् । यसैगरी बन्दसत्रले उपमहासचिव जगन्नाथ खतिवडा संयोजक तथा सदस्य राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, भविश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खाँन, सरिता खड्का र नवराज श्रेष्ठ रहेको बहस नोट कमिटी गठन गरेको छ । त्यस अवसरमा अध्यक्ष नेपालले महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष मण्डलका अध्यक्ष खनाललाई टोपी र झोला प्रदान गरी जिम्मेवारी हस्तान्तरण गरे । अध्यक्ष मण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्तावेज बनाएर पारित गर्ने जिम्मेवारी तोकिएको छ ।

कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान
नेकपा एकीकृत समाजवादीले नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरेको छ । १० औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन एकीकृत समाजवादीले पुराना कम्युनिस्ट नेता सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, शम्भु साह, गोपीरमण उपाध्याय, रामऔतार पासमान, न्हुच्छेनारायण डुकुजु, विजयलाल श्रेष्ठ र शितल झा रहेका छन् । उनीहरूलाई अध्यक्ष माधवकुमार नेपालले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

अविधेशनमा विभिन्न दलका नेताहरु कसले के भने ?
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पनि संसद विघटनको खतरा रहेको टिप्पणी गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै अहिले पनि विघटन गरेर ठीक गरियो भनेर बोल्ने गरेको सुनेको भन्दै प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गरे । ‘सम्माननीय प्रधानमन्त्रीज्यू सुनिन्छ विघटन गरेर ठीक गरियो भनेर कतिपयले बोल्ने गरेका छन्, हिजो विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्नुहोला’, उनले भने । अध्यक्ष नेपालले अहिले संसद विघटनको आवश्यकता नभएको पनि बताए । ‘अहिले विघटन गर्ने आवश्यकता छैन, हामी पनि छौं संख्या कम भयो भनेर आत्तिनुपर्दैन’, उनले भने । नेपालले पार्टी बलियो भएन बलियो बनाउन ध्यान दिने बताए । तर पार्टी बलियो मात्र भएर पनि नहुने, त्यसको साथसाथै सही विचार र दृष्टिकोण पनि हुनुपर्ने उनको भनाइ छ । पार्टीमा नेता कार्यकर्ताको कमी नभएको भन्दै अध्यक्ष नेपालले विचार मिल्नेसँग एकताको आधार बनाउँदै जाने बताए । तर एकताका नाममा हतार गर्ने र एकताका लागि ढिलो गर्ने पक्षमा आफू नभएको नेपालले बताए ।

अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी संविधान र गणतन्त्रको रक्षाका लागि स्थापना भएकाले देशभरका जनतामा विश्वास बढेको बताए । अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यका साथ एमालेसँग विद्रोह गर्नुपरेको दाबी गरेका छन् । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफूहरूको विद्रोह सिद्धान्तनिष्ठ, जायज र अत्यावश्यक विद्रोह भएको प्रस्ट्याएका हुन् । उनले विगतमा पनि कैयन पटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनको रक्षा गरिएको स्मरण गराएका छन् । ‘नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यका साथ गरिएको हाम्रो विद्रोह सिद्धान्तनिष्ठ, जायज र अत्यावश्यक विद्रोह हो । विगतमा पनि कैयन पटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनको रक्षा गरिएको थियो’, एमालेसँग गरेको विद्रोहको औचित्य पुष्टि गर्न पार्टीभित्र माग भइरहेका बेला नेपालले विद्रोहबारे पुष्टि गर्ने प्रयास गरेका हुन् । त्यसबेला आफूहरू पार्टी एकताकै पक्षमा रहेको भन्दै दस्ताबेजमा अध्यक्ष नेपालले भनेका छन्, ‘हामी एकताको पक्षमा थियौँ र नेकपा (एमाले) मै रहन चाहन्थ्यौँ तर अर्को पक्ष नेकपा (एमाले) लाई विभाजन गरिछाड्ने गरी प्रस्तुत भएकाले एकता जोगाउन सकिएन ।

उनले आफूहरूले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गरे पनि अर्को पक्षले एकता जोगाउन चाहँदै नचाहेपछि नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गरी पार्टी र आन्दोलनलाई जोगाएर अगाडि बढाउनु कर्तव्य एवं जिम्मेवारी ठानेको बताएका छन् । एमालेले जनवादी केन्द्रीयताको मान्यता र जनताको बहुदलीय जनवादले अँगालेको विचारको विविधतालाई स्वीकार एवं अङ्गीकार गर्ने मान्यता, कम्युनिस्ट पार्टी विधि पद्धतिमा चल्नुपर्दछ र उसले राज्य सञ्चालन गर्दा पनि विधि पद्धति अनुसार चल्नु र चलाउनुपर्दछ भन्ने मान्यता तथा कम्युनिस्ट पार्टीमा जनसेवी चरित्र एवं जनपक्षीय आचरण र सभ्य संस्कार हुनुपर्दछ भन्ने मान्यता समेत परित्याग गरेको अध्यक्ष नेपालले भनेका छन् ।

‘एमाले नेतृत्व जनताको बहुदलीय जनवादी पनि होइन । एमाले व्यक्तिगत स्वार्थमा केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुन्डमा परिणत भएको छ’, नेपालले दस्ताबेजमा भनेका छन्, ‘उपर्युक्त निष्कर्षका साथ हामीले एमालेभित्र रहेको क्रान्तिकारी पङ्क्तिलाई नयाँ ढङ्गले पुनर्गठित गरेर नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा एवम् विकास गर्दै नेपाली समाजको आमूल परिवर्तनका निम्ति योगदान गर्ने उद्देश्यले विद्रोह गरेका हौँ ।’ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले पनि लोकतन्त्र खतरामा रहेको बताए । अध्यक्ष नेपालले जनताको अधिकार स्थापित गर्न आत्मविश्वासका साथ पार्टीलाई जनतामा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारलाई समाप्त पार्न प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् । पार्टीको महाधिवेशनमा बोल्दै खनालले मुलुकलाई सबै क्षेत्रबाट अगाडि बढाउनको लागि पहिले भ्रष्टाचार निर्मूल पार्न प्रतिस्पर्धा आवश्यक रहेको बताए । उनले भने, ‘हामी यो देशमा कसरी भ्रष्टाचारलाई समाप्त गर्न सकिन्छ भन्ने कुरामा प्रतिस्पर्धा गरौं । देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, राष्ट्रिय स्वतन्त्रतालाई रक्षा गर्ने काममा कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भन्नेबारे सोचौं ।’ खनालले देशको सामाजिक आर्थिक रुपान्तरणका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले देशको शिक्षा र स्वास्थ्यमा धेरै विकृति रहेको धारणा राखे । ‘यो विकृतिको उरुङलाई कसरी बढार्ने । आज ठूलो समस्या छ । यी कुराहरूको लागि तपाईं हामी प्रतिष्पर्धा गरौं,’ खनालले भने । खनालले जनवादी र समाजवादी क्रान्तिबारे जानकारी दिँदै राष्ट्रको विकास तथा सुशासनका लागि सबै दलहरुले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आमजनता र नेतृत्वका बीचमा मत फरक भएपछि समस्या आउने गरेको धारणा राख्दै दलहरु जनताप्रति जवाफदेही हुनुपर्ने विचार व्यक्त गर्नुभयो । रोजगारी वृद्धि गर्न, शिक्षा, सहकारीलगायतका राष्ट्रिय समस्या समाधानमा सबै दल एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकता गर्ने चाहना भएको बताएका छन् । महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय हुने आशा रहेको बताए । ‘नेकपा एकीकृत समाजवादी र माओवादी बीचमा निर्वाचनअघि, निर्वाचनपछि र आजका मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौैं’, उनले भने, ‘मलाई लाग्छ यो महाधिवेशनले यो विषयमा ठोस निर्णय गरोस् ।’ प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले आफ्नो दस्ताबेजमा माओवादीलाई नजिकको मित्र भनेर मूल्यांकन गरेकामा खुशी व्यक्त गरे तर आफूलाई अस्थिर भनेकामा भने चित्त दुखाए । आफूले माक्र्सवादलाई जमेको पोखरी नभई गडगडाउँदो नदीका रुपमा बुझेको भन्दै परिस्थिति हेरेर अघि बढ्ने गरेको बताए । आफूले सरकारको नेतृत्व गरेदेखि भ्रष्टाचारविरुद्ध लगातार पहलकदमी अघि बढाइरहेको र भ्रष्टाचार मुद्दामा धेरै गिरफ्तार भएको प्रचण्डले दाबी गरे । तैपनि अहिले सबै भष्टमात्र छन् भनेर प्रचारबाजी भइरहेको भन्दै उनले असन्तुष्टि जनाए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस पार्टीले लोकतन्त्रको रक्षा तथा मुलुकको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । उनले उक्त पार्टीमा रहेका अनुभवी नेताहरुले आगामी दिनमा राष्ट्रिय राजनीतिमा सही दिशानिर्देश गर्नुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले हजारौँ सहिदको बलिदानबाट प्राप्त अहिलेको व्यवस्थालाई कमजोर हुन नदिनुपर्ने बताउनुभयो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रमाथि स्वेच्छाचारी, कमिसन, भ्रष्टाचार बढ्दै गएकाले त्यसको न्यूनीकरण गर्न संविधान संशोधन गर्नुपर्ने विचार व्यक्त गरे ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले लोकतान्त्रिक आन्दोलनमा एकीकृत समाजवादीका नेताहरुको ठूलो योगदान रहेको बताउँदै समाजवादी आदर्श अवलम्बन गर्ने नेताहरुले सोहीअरूप आचरण सरल बताउनुपर्ने बताए । अध्यक्ष डा. राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने बताएका छन् । उनले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरुले म समाजवादी हुँ भन्न नसुहाउने बताए । उनले भने, ‘हामी समाजवादका कुरा गर्दछौँ । म महिनाको १५ दिन जति पाँच तारे होटलमा गएर खाना खान्छु भने जहाँ ४३ प्रतिशत जनता गरिबीको रेखामुनी बाँचिरहेका छन् भने म आफूलाई समाजवादी भन्ने की नभन्ने ।’ उनले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने बताए । ‘जुन ठाउँमा कर्णालीमा मान्छे बिरामी हुँदा खाने कुरा हुँदैन, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन्, म महंगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउन चाहन्छु, म समाजवादी हो की होइन ।’ उनले भने ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विशेष परिस्थितिमा गठित पार्टीले देश र जनताको सेवामा क्रियाशील रहन सुझाव दिए । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सम्पूर्ण राष्ट्रको विकास तथा जनताको समृद्धिका लागि पार्टीभित्र नयाँ वैचारिक दृष्टिकोण महाधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरिन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल कम्युनिष्ट पार्टीका नेपाल पेचिलो परिस्थितिमा रहेको बताएका छन् ।उनले नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको बताए । उनले भने, ‘नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ । नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा छ भन्नेकुरा यहाँहरु सबैलाई थाहा छ । उनले नेपाल सुन्दर र श्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको बताए । उनले विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताए । उनले नेपालमा रहेको श्रोत साधनलाई कब्जा गर्ने होडबाजी चलिरहेको बताए । ‘हाम्रो देश सुन्दर पनि छ, हाम्रो देश निकै श्रोत सधानले सम्पन्न पनि छ । सुन्दरता र श्रोत साधानले सम्पन्न हुनु भनेको निकै चुनौतीपूर्ण हो । सुन्दरतामा सबैको आँखा पर्छ । आज सम्पूर्ण कुतत्वहरुको आँखा नेपालमा परिरहेको पनि हामी राम्रोसँग देख्न सक्छौँ,’ उनले भने, ‘यसको श्रोत, साधनलाई कब्जा गर्ने होडबाजी निकै तिब्र ढंगले चलिरहेको छ । यो जियोपोलिटिक्समा रातारात हामीलाई युक्रेनको दिशामा घिसार्ने, ठूला ठूला कुसपनाहरु पनि मडारिरहेको हामी देख्छौं।’ महासचिव चन्दले नेपाल युगान्तकारी परिवर्तनबाट अहिलेको अवस्थामा आइपुगेको बताए ।‘नेपालका मजदुर किसानहरु, जाति जनजातिहरु, मधेस, पहाड, महिला, श्रमीक समुदाय, दलितहरु, उत्पीडित जाति, वर्ग, क्षेत्र , लिंग र समुदायहरु छन्, यि सबै नेपालको आजको परिस्थितिमा सन्तुष्ट छैनन् । उनीहरुका अधिकार केही प्राप्त भएका छन्, तर राजनीतिक क्षेत्रमा आएको परिवर्तन आर्थिक जीवनमा बदलिन सकेको छैन ।’ उनले भने ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताएका छन् । राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गएको बताए । उनले लोकतान्त्रिक संस्थाहरु बिस्तारै प्रभावहीन हुँदै गएको बताए । उनले भने, ‘अहिले वास्तवमा भन्ने हो भने मुलुक जटिल अवस्थामा छ। जुन अहिले संघीय, लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगाएका छौँ । यसमा कमरेड माधवजी र यहाँको पार्टी पछि निर्माण हुँदै गएको हो, त्यो बेलामँ ठूलो योगदान छ ।’ उनले लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गर्दै दलको शासन दलतन्त्र र नेताको शासन नेतातन्त्र हुँदै स्वेच्छारी तन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको बताए । ‘संसदलाई असंवैधानिक तरिकाले दुई दुई पटक भंग गरेर मुलुकलाई स्वेच्छारी शासनतर्फ धकेलियो, तब स्वेच्छारी तन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गयो।’ उनले भने । उनले नेपालको शिक्षा प्राणली ध्वस्त भएको प्रमाणित भएको बताए । उनले राजनीति बद्नाम भइरहेको बताए । सरकार जनताका समस्या समाधानका लागि भन्नेकुरा हुन छोडिसकेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *