भ्रष्टहरुलाई नै सरकारी संस्थानहरुको जिम्मा

राजनीति समाचार

काठमाडौं । के यो मुलुकमा इमान्दार कर्मचारीको खडेरी लागेको हो ? होइन भने विवादमा परेका उही कर्मचारीलाई पटक पटक किन त्यही ठाउँमा नेतृत्व दिएर पठाइन्छ ? जस्तो चिनीको चास्नीमा डुबेर बदनाम खेपेकी मतिना वैद्य अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हाकिरहेकी छिन् । यस अघि नै आयल निगममा हुँदा बदनामी कमाएका चण्डीप्रसाद भट्ट बूढानिलकण्ठ दरबारको कृपाले पुन आयल निगम हाक्दैछन् । जनक शिक्षा सामाग्री केन्द्र डुबाउने पात्र अनिल झा नेपाल टेलिकमको हाकिम (कार्यकारी निर्देशक) ताक्दैछन् ।

उनैलाई नेपाल टेलिकमको महानिर्देशक बनाउने गरी ऐन संशोधन गर्ने काम फत्ये भइसकेको छ । हाल सार्वजनिक रहेको संस्थानहरुको संख्या ४६ वटा छ । ती संस्थानमा यस्तै भ्रष्ट र विवादित पात्रलाई नियुक्ति गर्दा संस्था रसातालमा पुग्दैछ । सीमित व्यक्ति जुकाझैं ढाडिदैछन् । सेलिब्रेटी बनेका कुलमान घिसिङका अनियमितता, बेथिति र भ्रष्टाचारका बिषयमा तामाकोसी सन्देशले दर्जनौं समाचार प्रकाशन गरिसकेको छ । यस्ता बदनामै बदनामहरुको राज रहेकै समय कृषि मन्त्रालयले अर्काे बदनाम र भ्रष्टाचारमा डामिएका कर्मचारीलाई दुग्ध विकास संस्थान (डीडीसी)को जिएम बनाउने प्रक्रिया करिब करिब टुंग्याएको कृषि मन्त्रालय स्रोतले जनाएको छ । उनी त्यहाँ हाकिम हुँदा ८२ करोड बेरुजु रहेको महालेखाले आफ्नो प्रतिवेदनमा लेखेको छ ।

बेदुराम भुसाल कृषिमन्त्री हुँदा झालाई दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको भेटिएपछि उनको जिम्मेवारी खोसिएको थियो । यस अघि गत १४ चैत ०७८ मा नियुक्त भएका झा सुरुवातदेखि नै आर्थिक अपचलनमा क्रियाशील भएका कारण संस्थानले उनको कार्यकालको दुवै वर्ष नोक्सानी खेपेकोसमेत आरोप लाग्दै आएको थियो ।

संस्थाको वित्तिय विवरण केलाउने हो भने उनी बहालरत हुँदा डिडिसी ०७८÷७९ मा ३७ करोड र ०७९÷८० मा ६० करोड रुपैयाँ नोक्सानीमा गएको देखिन्छ । यस्तै मेसिन खरिदका लागि भन्दै १५ करोड रकम गोलमाल गरिएको बिषय पनि अनुसन्धानकै क्रममा छ । अहिले यस्तै विवादित र भ्रष्ट छविका कर्मचारीलाई टिपेर फेरि उक्त संस्थाको हाकिम बनाउने खेल तमाम भएको छ । एकातिर झाको शैक्षिक योग्यतामाथि नै प्रश्न उठिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उनका बदमासीविरुद्ध उजुरी परेको छ ।

उनीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा ठगी, विश्वासघात तथा आपराधिक लाभ (एक्सटन)सम्बन्धी कसुर समेत दर्ता भएको छ । तिनै व्यक्तिलाई फेरि दुग्ध विकास संस्थान हाक्ने जिम्मेवारी सुम्पन लागिएको हो । झा डीडीसीमा आठौं तहका कर्मचारी हुन । यसरी एक पछाडि अर्काे भ्रष्टाचार र अनियमिततामा मुछिएका झालाई कृषि मन्त्री ज्वालाकुमारी साहले नियुक्ति गर्ने तयारी थालेकी छिन् ।

डीडीसीको हाकिम नियुक्ति गर्ने गठित सिफारिस समितिले अमर बहादुर थिङ, राजेन्द्र प्रसाद अधिकारी, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल, राम प्रसाद पौडेल, राम सोभित यादव, डा. रुपेन्द्र चौलागाई, डा. शितलकाजी श्रेष्ठ र श्रीराम न्यौपानेको नाम सिफारिस गरेकोमा झासँगै ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको छ । यीमध्ये उनै झाले बाजी मारे अनौठो नमाने हुन्छ, कृषि मन्त्रालयका एक अधिकारी भन्छन् । यस्तै नेपाल टेलिकममा पनि अनिल झाले नियुक्ति पाए अनौठो नमाने हुन्छ भन्छन् । पछिल्ला समय हुने राजनीतिक नियुक्ति योग्यता,विज्ञता कम र बोलकबोलमा रकम बुझाउन सक्नेले पाउँदै गएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *