अर्थ मन्त्रालयमा माओवादी निकट कर्मचारीको हालीमुहाली

राजनीति समाचार

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव टोकराज पाण्डे महिनादिनदेखि जिम्मेवारविहिन छन् तर त्यही यस्ता पावरफुल उपसचिव छन्,जो एक दुईवटा होइन आधा दर्जन निकायको जिम्मेवारी सम्हालिरहेका छन् । यस्ता भाग्यमानी उपसचिव हुन कमानसिंह थापामगर । मगर यस्ता कर्मचारी हुन, जो माओवादी मन्त्रीहरुको फेरो समाएर सिंहदरबार,त्यसमा पनि मन्त्रीको सचिवालयमै घुमेर जागिर खाइरहेका छन् । अमनलाल मोदी सामान्य प्रशासनमन्त्री हुँदा सामान्य प्रशासनको कर्मचारी प्रशासनमा बसेर कर्मचारी सरुवाको नाममा कुस्त कमाए ।

अमनलाल हटे पछि गृहमा पुगे,नारायणकाजी श्रेष्ठको दाहिना हात बनेर कर्मचारी प्रशासनमै जिम्मेवारी सम्हालिरहेका थिए । जसै नारायणकाजी परराष्ट्र मन्त्रालयमा पुगे,कमानसिंहको सरुवा गृहबाट अर्थमा भयो । त्यहाँ उनकै नातेदार बर्षमान पुन मन्त्री जो छन् । कमानसिंह यस्ता उदाहरणीय कर्मचारी हुन,जस्को सरुवा,सिहदरबारभित्रै एउटा मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबाट अर्काे मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा मात्र हुँदै आएको छ । अहिले अर्थ मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामै छन् । उनी त्यहाँ पुगेको मौकामा माओवादी निकटका काण्ड लागेका कर्मचारी छानी छानी अर्थमा भित्र्याउने काम समेत भएको छ । भिजिट भिसा प्रकरणमा डामिएर सात लाख धरौटीमा रिहा भएका विकास डङ्गोललाई उनले अर्थमै भित्र्याए । यी हर्ताकर्ता उपसचिवले मन्त्रालयका अन्य उपसचिव र सहसचिवलाई माथ खुवाउने गरी आधा दर्जन निकायको सञ्चालक समिति सदस्यको जिम्मेवारी सम्हालिरहेका छन् । अर्थमन्त्रालयमा सरुवा हुनासाथ उपसचिव कर्मचारी प्रशासन महाशाखा नै पाएका छँदै थिए ।

मन्त्री र सचिवले नै थापालाई जिम्मोवरीको खातमाथि खात लगाइदिएका थिए । अहिले थापा विशाल बजार कम्पनीको कार्यकारी प्रमुख(सीईओ), कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, राष्ट्रिय वीमा कम्पनी जीवन र निर्जीवन दुवै, स्टक एक्सचेन्ज लगायत ६ वटा भन्दा बढी संस्थान र बैंकको पदपूर्ति समितिका सदस्य छन् । अर्थ मन्त्तालयमा तीन दर्जन बढी उप सचिव भए पनि कमानसिंहलाई ६÷६ वटा जिम्मेवारी सम्हालिरहेका छन् । उसो त माओवादी निकटका भनिएका एक पछाडि अर्काै कर्मचारी भ्रष्टाचार र अनियमिततामा डामिने क्रम जारी छ ।

झलक अधिकारी सुन काण्डमा परेर बदनामी खेपिरहेका थिए । हालैमात्र प्रचण्डको आर्शिवाद पाएर राजश्व अनुसन्धान विभागमा पुगेका चक्र बूढा महिना दिन नपुग्दै बार्गेनिङ्ग धन्दा चलाएपछि बदनामी खेप्दैछन् । पर्यटन विभागका महानिर्देशक रुद्र पण्डित समेत यस्तै बदमासीमा मुछिएका छन् भने भन्सारका महानिर्देशक ढुण्डी निरौला कामै गर्न नसकेर आलोचित छन् । उता प्रधानमन्त्री प्रचण्ड घर जाने समय भएसँगै माओवादी निकट कर्मचारीहरुको बिल्लीबाठको दिन नजिक आएको छ । राजश्व अनुसन्धानबाट बदनामी खेपेर सरुवा भएर परराष्ट्रमा पुगेका नवराज ढुङ्गना सिंहदरबारका क्यान्टिन क्यान्टिन चहारेर दिन कटाइरहेका छन् । माओवादी सत्ताबाट बाहिर पुगेसँगै उनको दिल्लीको महावाणिज्यदूत बन्ने सपना पनि तुहिने भएको छ ।

सबैभन्दा बिल्लीबाठ चाहिँ अर्जुन भण्डारीको हुनेछ । यी यस्ता चतुर खेलाडी हुन कि जनार्दन शर्मा शक्तिमा हुँदा उनकै फेरो समाएर लाभ उठाए जब जर्नादन र प्रचण्डबीच दुरी बढ्यो प्रचण्ड निकट भएर लाभ उठाए । माओवादी शासनमा रजाई गर्नेमा ३–४ कर्मचारीमा पर्ने प्रधानमन्त्री प्रचण्डका निजी सचिव अर्जुन भण्डारी पर्दछन् । उनी अहिलेसम्म सात जना मन्त्रीको वरिपरि घुमेर जागिर खाइरहेका छन् । मन्त्री र प्रधानमन्त्रीको सचिवालयमा बसेर कुस्त आर्जन गर्न सफल भएको भण्डारीलाई चिन्नेहरु बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *