काठमाडौं महानगरका प्रदीप परियार कार्यसम्पादनमा कमजोर

राजनीति समाचार

काठमाडौं । पढाईमा मात्र अब्बल भएर के गर्नु,कार्यसम्पादन खत्तम भएपछि ! अहिले यस्तै प्रन उठाउन थालिएको छ,काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा कान्छो सहसचिवका रुपमा आफूलाई चिनाउन चाहने प्रदीप परियारप्रति । अधिकृतबाट उपसचिवमा कामै नगरी ३२ वर्षमै सहसचिव बनेका प्रदीप परियारलाई योजना आयोगबाट टपक्क टिपेर मेयर वालेन साहले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइँदा त्यहाँ भद्रगोल देखिएको कर्मचारीहरुले बताउने गरेका छन् ।

स्थानीय तहका अनुभवी कर्मचारी बसन्त अधिकारीलाई लखेटेर त्यहाँ प्रदीप परियारलाई हाकिम बनाएर लगिएको छ । न त मेयर बालेन साह र उपमेयर सुनिता डङ्गोल नै अनुभवी हुन न त प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार नै अनुभवले खारिएका हुन । अहिले उनै सहसचिव परियारको अपरिपक्वताका कारण देशकै ६ वटा महानगरपालिकामध्ये सबैभन्दा दयनीय पूँजीगत खर्च देखिन्छ काठमाडौं महानगरपालिकाको । ६ महानगरपालिकामध्ये सबैभन्दा दयनीय स्थिती देखिन्छ,काठमाडौं महानगरपालिकाको । गत आर्थिक बर्षमा २५ अर्ब ४१ करोड ९५ लाख ९६ हजारको बजेट ल्याएको थियो काठमाडौं महानगरपालिकाले । महानगरपालिकाले ४ अर्ब ५२ करोड रुपैयाँ अर्थात् लक्ष्यको २९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । जबकी अघिल्ला आर्थिक बर्षमा महानगरपालिकाको पूँजीगत खर्च ६० प्रतिशतभन्दा बढी हुन्थ्यो ।

यसरी पूँजीगत खर्च गर्न नसक्नुमा त्यहाँका आलाकाँचा टिम मुख्य कमजोरी रहेको वडा अध्यक्षहरुको आरोप छ । प्रदीप तिनै कर्मचारी हुन,जो लामो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसे जागिर खाए । लोकसेवा भिडेर एकै पटक अधिकृतबाट सहसचिवमा फड्को मारे । आफूलाई कान्छो सहसचिवको रुपमा उभ्याए तर तत्कालीन पूर्व मुख्य सचिव शंकरदास वैरागीको गाउँले भएकै कारण प्रदीपले सहसचिव भए यता प्रदेशतिर झर्नुपरेन । सिधै शहरी मन्त्रालयमा जिम्मेवारी भेट्टाए । त्यहाँ रहँदा अनेकन बदमासीहरु छरपष्ट भएपछि लखेटिए योजना आयोगतिर र बालेन साहको रोजाईमा परे युवा सहसचिव तर उनको कार्यसम्पादन झुर देखिएको वडा अध्यक्ष तथा अरु जनप्रतिनिधिहरुको आरोप छ ।

महालेखाले समेत उनको समयमा भएका बदमासीहरुलाई बेरुजुको रुपमा औल्याएको छ । प्रतिवेदन केलाउँदा काठमाडौं महानगरपालिकाले कर्मचारीलाई खुवाएको,तलब,भत्ता लगायतका बिषयमा प्रश्नै प्रश्न उठाएको छ । महानगरपालिकामा स्थायी सेवाका १७३५ र करार सेवाका १२८ कर्मचारीको दरबन्दी रहेको छ । कूल १८६३ दरबन्दी रहेकोमा महानगरपालिकाले स्थानीइ सरकार गठन तथा सञ्चालन ऐन २०७९ को दफा ६९ (५) अनुसार,प्रदेश किताबखाना तथा प्रदेश लेखा नियन्त्रक कार्यालय वा इकाई कार्यालयबाट तलबी प्रतिवेदन पारित नगरी १७३५ जना कर्मचारीलाई ८९ करोड २२ लाख ४ हजार तलब भुक्तानी गरिएको बिषयलाई महालेखाले प्रश्न उठाएको छ । यस्तै पालिकाले ऐन विपरित कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाएको बिषयलाई समेत महालेखाले प्रश्न उठाएको छ । बाग्मती प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन ऐन, २०७९ को दफा ६९(४) अनुासर कर्मचारीलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन भत्ता प्रदान गर्नुपर्ने भए पनि कार्यसम्पादन सूचक,कार्य प्रगति र कार्यक्षमताको मूल्यांकन बेगर २३ करोड १४ लाख ४८ हजार भुक्तानी गरिएकोलाई महालेखाले प्रश्न उठाएको छ ।

यस्तै महानगरपालिकाका कर्मचारीलाई महानगर भत्तावापत ६ करोड ८ लाख १९ हजार ७०६ र सञ्चार सुविधावापत २७ लाख ४६ हजार ५ सय गरी ६ करोड ३५ लाख ६६ हजार भुक्तान भएको बिषयलाई पनि महालेखाले प्रश्न उठाएको छ ।यस्तै पालिकाका १५२ करार सेवाका कर्मचारीलाई ३६ लाख ४८ हजार भुक्तानी मंहगी भत्ता दिएको बिषयलाई समेत महालेखाले प्रश्न गरेको छ । ऐन अनुसार,करार सेवाका कर्मचारीलाई खाइपाई आएको तलबको १ महिना वराबरको पर्व खर्च र १० हजार पोशाक खर्च दिन पाइने व्यवस्था भए गरेको भए पनि पालिकाले करारका कर्मचारीलाई समेत साढे ३६ लाख महगी भत्ता दिइएको बिषयलाई महालेखाले प्रश्न उठाएको हो ।

यस्तै करारका कर्मचारीलाई समाजिक सुरक्षा कोष कट्टीमा १५२ करारका कर्मचारीलाई १ करोड ७ लाख ८० हजार ८ सय ३ छुट्टाइएकोमा महालेखाले नियमविपरित भनेको छ । वैदेशिक भ्रमण शीर्षकमा महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले २० लाखभन्दा बढी खर्च भएको बिषयलाई महालेखाले नियमविपरित लेखेको छ । काठमाडौ महानगरपालिकाको गत बर्षको बेरुजुमात्र १ अर्ब १८ करोड ७१ लाख ६२ हजार बेरुजु देखिएको छ ।

जसमा ९३ करोड १ लाख २९ हजार को प्रतिक्रिया प्राप्त भएकोमा असुल उपर गर्नुपर्ने ५ करोड ६१ लाख ३ हजार,प्रमाण कागजात पेश गर्नुपर्ने ८१ लाख ७१ हजार,नियमित गर्नुपर्ने १ करोड ५३ लाख ६९ हजार, पेश्की बाँकी १७ करोड ७३ लाख ९१ हजार समेत गरी २५ करोड ७० लाख ३४ हजार रहेको महालेखाले औल्याएको छ ।

उसो त पढाईमा अब्बल भएर मात्र राम्रो काम गर्न सक्दैनन् भन्ने यस अघि नै पर्यटन मन्त्रालयका गोल्ड मेडलिष्ट उपसचिव प्रमोद नेपालले गाडीमा २१ लाख घुससहित र भन्सारका अर्का गोल्ड मेडलिष्ट सुब्बा रेवन्त खड्काले एयरपोर्टमा सुनकाण्डमा परेर पृष्टी गरिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *