सत्तामा च्याँखे र खाले

राजनीति लेख

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने सम्वन्धमा रेकर्ड राख्न सफल हुनु भयो । पहिलो पटक विश्वास मत लिँदा दुई मत वाहेक सबै पाउन सफल हुनु भएको थियो । २ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको जम्मा ३२ सिट छ । नेकपा माओवादी केन्द्रका अध्यक्षले २०७९ को आम निर्वाचन पछि सत्ता सञ्चालन गरिरहे । नेकपा एमाले र नेपाली कांग्रेसको काँध फेर्दै विश्वासको मत लिंदै प्रधानमन्त्री भैरहे । सुरुमा एमालेको साथ रहँदा जती धेरै मत पाएका थिए । त्यस पछि घट्दै गएर एमालेले साथ छाड्दा ६३ मतमा खुम्चनु प¥यो । मुलुकमा दुईवटा ठुला दल मिले पछि सानामसिना दलको चुरीफुरी सकिएको अनुमान गरिँदै छ ।

हामी भन्दा अघिल्लो पुस्ताले विशेष चाडवाडमा खुल्लमखुल्ला खेल्ने गरेको तर अहिले गैरकानूनी मानिएको एक खेलको नाम हो ‘जुवा’ । त्यस खेलमा ४ जना मूख्य खेलाडी हुन्छन् । ती खेलाडीलाई ‘खाले’ भन्ने गरिन्छ । यी खालेहरु नियमित खेलाडीहरु हुन्छन् । उनीहरु सितिमिति परिवर्तन हुँदैनन् । ४ जना खाले वाहेक अरु छेउमा वसेर हेर्ने पनि हुन्छन् । ति हेर्ने पनि २ किसिमका हुन्छन् । एक हेर्ने जल्ले जिते पनि मार्रा भन्ने चिच्याउने र जितौरी माख्ने । अर्का हुन्छन्, केही पैसा आफुलाई मन परेको दाउमा राख्ने मा¥यो भने जती राखेको हुन्ट त्यो बरावर जितेर लैजाने । यस्लाई ‘च्याँखे’ भनिन्छ । च्याँखे भनेका खेलाडी हैनन् । दाउ ढुकेर वा मौका हेरेर कुनै दाउमा पैसा राख्ने मात्रै हुन् । यीनीहरु सधै खेल्दैनन् । मौका हेरेर बस्छन् । खालेले ४ पटक लगातार दाउ लगायो भने च्याँखे टाढ् पल्टिन्छन् भन्ने चलन छ । केही पैसा जित्यो भने सवै भन्दा वढि कराउने च्याँखे हुन्छन् । खाले खासै कराउँदैनन् । नियमित खेल खेलिरहन्छन् । उनीहरु कसरी टिक्ने भन्नेमा चिन्तन् गर्दछन् ।

हो, अहिले सत्ता सञ्चालनमा खाले र च्याँखे जस्तै देखिएका छन् । नेपाली राजनीतिमा पछिल्लो निर्वाचनको नतिजाले खाले भनेका नेपाली कांग्रेस र नेकपा एमाले बनाएका छन् । अरु पार्टीहरु भनेका च्याँखे मात्रै हुन् । च्याँखेहरुले धेरै होहल्ला गरे । मानौं खालेलाई ओझेलमा परेको जस्तो भान पर्न गैरहेको थियो । भरखरै खालेहरु खेल खेल्न बसेका छन् ।

अहिले भरखरै मुलुकका प्रमुख २ ठुला दल मिलेर सरकार बनाए । केपी ओलीको नेतृत्वमा नेपाल सरकार गठन भएको छ । अहिलेको सरकारमा कम्तीमा तेस्रो, चौथो दल सरकार वाहिर गए । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा ३२ सांसद भएको दलले प्रमुख २ दललाई पालैपालो हाता लिई राज्य सत्ता सञ्चालन गरिरहेको थियो । अब त्यो तोडिएको छ । प्रमुख ठुला २ दल मिलि सरकार चलाएको नौलो अभ्यासको अनुभुती गर्ने मौका मिलेको छ । हुनत, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा एक कोशिस भएको थियो तर त्यो बेलामा आमनिर्वाचनवाट आएका थिएनन् । पुर्नस्थापित संसद थियो ।

नेपालको विडम्वना नैं भन्नु पर्दछ । जतीपटक निर्वाचन भए पनि स्थायी सरकार बन्न सकेको छैन । दलिय पद्धतीमा भएका हालसम्मका निर्वाचनहरु केलाउने हो भने ३ वटा निर्वाचनमा मात्र कुनै एक दलले सरकार वनाउन पुग्ने गरी वहुमत नतिजा हासिल गर्न सफल भएको छ । त्यो भाग्यमानी दल नेपाली कांग्रेस नैं हो । वि.सं. २०१५, २०४८ र २०५६ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसले एकलौटी वहुमत प्राप्त गरेको थियो । तर उस्ले ५ वर्ष सरकार कहिल्यैं चलाउन सकेन ।
एमाले र कांग्रेस नमिल्दा २०५१ साल पछिको अवस्था अहिले दोहोरिएको छ । २०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकार वन्यो । लोकप्रिय काम ग¥यो तर ९ महिना भन्दा वढि सरकारमा वस्न पाएन । त्यसपछि सुरु भयो अस्थीरताको श्रृखला । कहिले एमालेले त कहिले कांगे्रसले २० सांसद भएको त्यो बेलाको राप्रपालाई मुलुकको कार्यकारी पद ‘प्रधानमन्त्री’ सुम्पी रहे । अस्थीरताको पराकाष्ठा भयो । अहिले पनि एमाले र कांग्रेसले पालैपालो ३२ सिटेलाई पटक पटक प्रधानमन्त्री सुम्पि रहेका थिए । २१ सिटे पनि प्रधानमन्त्री खान पाउने आशा राखेको पो देखियो । यो अति भयो भनेर नैं होला । नेपाली कांग्रेस र नेकपा एमाले मिले । नयाँ सरकार बनाए ।

बल्ल मुलुकका दुई ठुला दलहरु लाइनमा आएका छन् । अब च्याँखेका चुरीफुरी सकिने संभावना वढेको छ । नेपाली कांग्रेसले सधै भन्ने गर्दछ सशक्त प्रतिपक्ष चाहिन्छ भनेर । मुलुक ठुलो कि प्रतिपक्ष ? लोकतन्त्र भनेको सहमती पनि हो । मुलुकका ठुला दुई दल मिलेर सहमती गर्दा राम्रो हुन्छ । राज्यलाई स्थीरता दिउँ । यसो गर्दा अर्को पटक निर्वाचनमा यी दुई दल मध्ये एकले वहुमत ल्याउन सक्दछन् । निर्वाचनका बेलामा चाँही यी दुई दल मिलेर वाँडफाँट कदापी गर्नु हुन्न । मतदातालाई छनौटको अधिकार दिनु पर्दछ । तर मुलुक चलाउन सहकार्य चाहिन्छ ।

कम्तीमा दुई दलको सहकार्य मुलुक र मुलुकवासीले खोजेका छन् । यो खोज्नु भनेको दलको मायाका लागि होइन । ‘भाग शान्ती जय नेपाल’ कालागि हुनु भएन । मुलुक र मुलुकवासीको समृद्धिको लागि हुनु पर्दछ । केही संवैधानीक थितीहरु विग्रिएका छन् । निर्वाचन प्रणाली नैं अस्थीरता सिर्जना गर्ने खाल्कोछ । प्रदेश र संघका सांसद संख्या वढि भयो । त्यसलाई मिलाउनु पर्दछ ।

विगतमा भएका तिता अनुभवहरु छाड्नु पर्दछ । यी ठुला दललाई यो अन्तिम मौका हो । नत्र विकल्पको वाछिटा देखिइसकेका छन् । यी वाछिटाहरु राम्रो काम गरेर देखिएका होइनन् । ठुला दलले नागरिकको चाहाना अनुसारको काम नगरेर मात्र हो । अझै पनि यीनै ठुला दलले नैं गर्न सक्छन् भन्ने जनमत देखिन्छ ।
त्यसैले आपसी लुछाचुडी नलागी मुलुक र मुलुकवासीको समृद्धिको लागि एक पटक सहकार्य, समन्वय भएको धेरै नेपालीले देख्न चाहेका छन् । त्यसो गरेमा च्याँखे राख्ने खुत्रुकेहरुको गुन्जाइस रहँदैन । दुई दल नमिल्दा वा झगडा गर्दा च्याँखेहरु मौलाउने हुन् ।

च्याँखेवाट समृद्धि आउँदैन । निर्वाचनबाट च्याँखेहरु खालेमा परिणत हुन सक्नु प¥यो । अहिले भएका खालेहरु जुटेर एक मौका सिर्जना गरेका छन् । यो मौका गुम्यो भने अहिलेका च्याँखेहरु खालमा वस्न सक्दछन् । ती च्याँखेवाट मुलुकले गतिलिन सक्दैन । च्याँखेको यात्रा लामो हुन सक्दैन तर खाले सुध्रिन आवश्यक छ । खालेहरुले अहिले खेल खेल्न थालेका छन् । केही साना च्याँखेहरु सरकारमा आए पनि खाले परिवर्तन गर्ने तागत उनीहरुसँग छैन । तर पनि २ ठुला दल सुध्रिनु भने आवश्यक छ । कम्तीमा यो संसदको अवधी भर यसरी सरकार चलाउनु पर्दछ तर निर्वाचन खुल्ला प्रतिष्पर्धा गर्नु पर्दछ । मतदाता नागरिहरुले खाले र च्याँखे छान्ने मौका पाउनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *