प्रधानमन्त्रीज्यू, जनतामा भ्रम छर्ने मात्र कि काम पनि गर्ने ?

राजनीति समाचार

रामचन्द्र बस्नेत
काठमाडौं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि संसदमा दरिलो प्रतिपक्ष नदेखिने भएको छ । ठूला दल मिलेर स्थिर सरकार बन्ने र त्यसले राष्ट्रिय सरकारको झल्को दिने भनेपछि आमसर्वसाधारणमा केही आशा पलाएको छ । दुई तिहाई बहुमतको समर्थनमा बनेको सरकारले जनताका जल्दाबल्दा समस्यादेखि दीर्घकालीन विकास निर्माणका ढोका खुल्ने आशा पनि लिइएको छ । दुवैदलका शीर्ष नेताहरुको भनाइले पनि यसै विषयलाई इंकित गर्दछ । तर, नेपालका नेताहरुमा भनाइ र गराइमा सधैं फरक हुने गरेका थुप्रै उदाहरणहरु छन् ।

सरकार बाहिर बस्दा मिठामिठा कुरा र ठूलाठूला आश्वासन दिने सरकारमा पुगेपछि आफू र आफ्ना कार्यकर्ताको दुनो सोझ्याउन लाग्ने नेपालका नेताहरुको प्रवृत्ति सर्वसाधारणको विश्वास गुम्दै गएको छ । यसपटक दुई ठूला दल मिलेर बनेको सरकारले जनताको मन जित्ने गरी के कस्तो काम गर्ने हो त्यो भने हेर्न बाँकी छ । अहिले बनेको सरकार पनि तत्कालीन नेकपाको दुई तिहाई हाराहारीको सरकार जस्तै ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै हुने हो कि भन्ने आशंका विश्लेषकहरुले गरिरहेका छन् । यतिबेला देश महंगी, भ्रष्टाचार, कुशासन, अनियमितता र बाढीपहिरोले तहसनहस भइरहेको छ । तर, दलहरु राजनीतिक खिचातानीमा डुबेर सरकार ढाल्ने बनाउने खेलमा व्यस्त भएकाले त्यतातिर ध्यान दिएका छैनन् ।

अब दुई ठूला तल मिलेर बनेको सरकारले यस्ता जल्दाबल्दा समस्या समाधान गर्न तत्काल तदारुकता देखाउँछ कि पहिलाको जस्तै नातागोता, आसेपासे र कार्यकर्ता पोस्ने काम गर्छ त्यो हेर्न बाँकी छ । त्योसँगै देश आर्थिक मन्दीले थिलथिलो भइरहेको अवस्था छ त्यसलाई कसरी सम्बोधन गर्ने हो ? वर्षयाम सुरु भएसँगै बाढीपहिरोले ठूलो धनजनको क्षति भइसकेको छ । अझै मध्ये वर्षायाम बाँकी नै छ । देशभरका अधिकांश सडकहरु जोखिमपूर्ण र कतिपय ठप्प अवस्थामा छन् । त्यो समस्या समाधानको लागि नयाँ बनेको सरकारले कस्तो कार्यक्रम लागु गर्ने हो त्यो पनि चासोको विषय बनेको छ । दलको मात्रै नभएर नेतैपिच्छेका मन्त्री बन्ने भएपछि ती मन्त्रीहरुले कस्तो काम गर्छन् त्यो पनि संकाको विषय बनेको छ । कांग्रेसभित्र संस्थापन पक्ष र इतर पक्ष भन्दा पनि गुटउपगुटभित्र नेतैपिच्छको मन्त्री बनाइएको छ । एमालेभित्र पनि अध्यक्ष ओलीसँग अन्य गुटउपगुट त्यत्तिकै छन् ।

चौथो पटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले योसहित दुई पटक दुई तिहाई बहमुतको सरकार हाक्ने अवसर पाएका छन् । पहिला दुई तिहाई बहुमतको प्रधानमन्त्री बन्दा ओलीले नेपालीको घरघरमा खाना पकाउने ग्याँसको पाइप जडान गर्ने, नेपालका पानी जहाज समुन्द्रमा कुदाउने, नेपालीले खानकै लागि काम गरिरहनु नपर्ने, भारतले मिचेको कालापानी र लिम्पियाधुरालाई नेपालमा फर्काउने जस्ता भाषण दिएर नेपाली जनतालाई भ्रमित पार्ने काम गरेका थिए । अहिले पनि यस्तै अनावश्यक विषय उठाएर समय बिताउँछन् कि देश र जनताका जल्दाबल्दा समस्याहरु समाधान गरेर मुलुकलाई सही दिशातिर अगाडि बढाउँछन् त्यो हेर्न नेपाली जनताले प्रतिक्षा गरिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *