काठमाडौंं । पाँचदलीय गठबन्धन सरकार पाँच महिना पुरा नहुँदै भत्किएर पुनः कांग्रेस–एमाले मिलेर नयाँ सरकार बनेको छ । त्यसको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । प्रधानमन्त्री ओलीले दुई तिहाई बहुमतसहित विश्वासको मत लिएका छन् । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रतिपक्षी दल कांग्रेसले समेत विश्वासको मत दिएर झन्डै दुई तिहाई हाराहारी बहुमतको विश्वास पाएका थिए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसले राष्ट्रपति पद हात पार्न सफल भएको थियो । हालका प्रधानमन्त्री केपी ओलीले दुई तिहाई बहुमतको विश्वासको मत पाए तापनि त्यो त्यति सजिलो छैन । किन कि तत्कालीन प्रधानमन्त्री प्रचण्डले दुई तिहाई हाराहारी विश्वासको मत पाउँदा अन्तिममा आएर पदबाट हात धुनुपरेको छ ।
अहिलेका प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभन्दा अगाडि प्रतिनिधिसभाको सम्बोधनमा यस्तो भनेका छन्, ‘विकास निर्माणका काम लथालिङ्ग छन्, ६० लाखभन्दा बढी जनता गरिवीको भुंग्रोमा पिल्सिरहेका छन् । भ्रष्टाचारले सीमा नाघेको छ, त्रिभुवन अर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवायुवतीको लामबद्ध भीड छ । युवा पुस्ता विदेशिँदा उच्च शिक्षा अध्ययन गराउने शिक्षण संस्थाहरुले अभूतपूर्व संकटको सामना गर्नुपरेको छ । अझ सबैभन्दा डरलाग्दो कुरा त के छ भने देशप्रति आम जनताको भरोसा टुटेको छ । तिनको मनोबल नराम्रोरी खस्किएको छ । देशमा व्याप्त निराशा हटाउन, जनतामा आशा सञ्चार गर्न, देशलाई तीब्र आर्थिक बृद्धिको दिशातिर उन्मुख गराउनु अहिलेको आवश्यकता हो ।’
तर, तत्कालीन अवस्थामा नेकपाको दुई तिहाई हाराहारी बहुमतको सरकारमा ओली आफै प्रधानमन्त्री थिए । त्यतिबेला ओलीले ४१ महिना सरकारको नेतृत्व गर्दा माथि उल्लेखित जल्दाबल्दा समस्यामा किन ध्यान दिन सकेनन् ? त्यसपछि नेकपा एमाले ठूलो दलको हैसियतले प्रतिपक्षमा बस्दा यस्ता विषयमा कुरा उठाउन सकेन । अहिले कांग्रेस र एमाले ठूला दुई दल मिलेर बनेको सरकारमा आफू प्रधानमन्त्री भएपछि यस्ता विषय उठाउनु भनेको सस्तो लोकपियता कमाउनु सिवाय केही होइन । सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले ‘यतिबेला देशमा आर्थिक संकट भएको छ ।
बैंकहरुमा पैसा त्यसै थुप्रिएर बसेको छ, ब्याजदर न्यून छ । व्यवसायीहरु लगानी गर्न उत्साहित छैनन् । अझै हाम्रा दाजुभाइ दिदीबहिनीहरु गरिवी, अभाव र भोकमरीको जिन्दगीमा बाँचिरहेका छन् । यति उर्बर धर्तीमा मेहनती जनताको हालत यस्तो हुनुजस्तो दुःखदायी अरु केही हुन सक्दैन’ भनेर अर्को नाटक गरेका छन् । प्रधानमन्त्री ओलीले बेलाबखत गर्ने यस्ता नाटक मञ्चनले कत्तिको सार्थकता पाउने हो त्यो प्रतिक्षाको विषय बनेको छ ।