पहुँच र पैसावालालाई चैन, सर्वसाधारणलाई ऐन

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरु भ्रष्टाचार गरी अकुत कमाएपछि त्यसबाट सफाइ पाउन न्यायालयदेखि अख्तियारहुँदै सम्पत्ति सुद्धिकरण र सम्बन्धित निकायहरुमा राजनीतिक भर्तीकेन्द्र बनाइ सेटिङ मिलाउने काम गर्दछन् । हुँदाहुँदा आफू भ्रष्टाचार काण्डमा फस्ने भएपछि सरकार नै परिवर्तन गर्न पछि पर्दैनन् । त्यसको उदाहरण लिन सकिन्छ तत्कालीन भुटानी शरणार्थी काण्डको छानविनमा खटिएका प्रहरी उत्तम कार्की र दानबहादुर केसीलाई । कार्की र केसी दुवै भुटनी शरणार्थी काण्डको छानविनमा खटिएका थिए ।

सो छानबिनमा शीर्ष नेताहरु दोषी देखिने भएपछि आफ्ना मान्छे बचाउन ती प्रहरीलाई तत्कालीन सरकारले अन्यत्र सरुवा गरेको थियो । छानविन गर्ने प्रहरीलाई नै सरुवा गरेपछि सो छानविन ओझेलमा परेको थियो । त्यस्तै राजश्व अनुसन्धानले त्रिभुवन विमानस्थल आसपासबाट ६१ केजी सुन पक्राउ गरेको थियो । सो सुनकाण्डको छानविन समितिमा किरण बज्राचार्यलाई राखिएको थियो । उक्त छानविनबाट सुन काण्डमा नेता र तिनका परिवार मुछिने भएपछि छानविनमा रहेकी किरण बज्राचार्यलाई अन्यत्र सरुवा गरिएको थियो ।

त्यसको साथसाथै भुटानी शरणार्थी काण्डमा मुछिएका बेचन झा र रामबहादुर थापाका छोरा प्रतिक थापालाई डिआईजी मनोज केसीले पक्राउ गरेपछि सरकार नै परिवर्तन हुन पुग्यो । सरकार मात्रै परिवर्तन भएन डिआईजी मनोज केसी नै सरुवामा परे । त्यस्तै अब ‘गिरीबन्दू टी स्टेष्ट’ को जग्गा, टिकापुरमा आरजु राणाले लिएको जग्गा र उनका पुत्र जयवीर देउवाको नाममा रहेको ७५ रोपनी जग्गाको छानविन हुने डरले नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ गठबन्धन सरकार बनाएका छन् । यो सरकार बनेपछि सबै छानविन काण्डहरु ओझेलमा पर्ने देखिन्छ ।

त्यसैगरी टिकापुर जग्गा खरिद काण्डमा २४९ जनालाई अख्तियारले विपक्षी बनाइ मुद्दा दायर गरेको छ । त्यो मुद्दामा आरजु राणा र रेशम चौधरीलाई जोगाइएको छ । त्योसँगै शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवा बेलायमा अध्ययन गरेर फर्किने बित्तिकै कसरी उनको नाममा यति धेरै जग्गा आयो ? भन्ने आशंका त्यत्तिकै छ । उता, जयवीर देउवा कहिले स्यानीटेरी प्याड खरिद त कहिले इम्बोस नम्बर प्लेट खरिद काण्डमा मुछिँदै आएका थिए । यस्तै काण्डबाट शीर्ष नेता र तिनका परिवार जोगाउनको लागि कांग्रेस र एमालेको नयाँ गठबन्धन सरकार बनेको बताइन्छ ।

उता, एमाले नेता रामबहादुर थापाका छोरा प्रतिक थापालाई भुटानी शरणार्थी काण्डमा पक्राउ गरिएको छ । त्यसैगरी बेचन झालाई पक्राउ गरिएको छ । तर, प्रतिक थापा र बेचन झा पक्राउ परे तापनि दुवै व्यक्तिलाई न्यायालयले सफाइ नदेला भन्न सकिँदैन । यसलाई हेर्दा हाम्रो देशमा राजनीतिक पहुँच र पैसाको आडमा ‘ठूलालाई चैन र सानालाई ऐन’ भन्ने भनाइ चरितार्थ भएको छ । किन कि नक्कली भुटानी शरणार्थी काण्ड, सुन काण्ड र जग्गा काण्डमा मुछिएका कतिपय पहुँच नभएकाहरु जेलमा परेका छन् भने पैसा र पहुँच हुनेहरु खुलमुला हिँडिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *