ananta gurung

दलहरु भित्र मौलाएको भ्रष्ट र अपराध प्रवृत्ति

राजनीति लेख

दलका शीर्ष नेताहरुको सोचमा सुनीति होइन सुरुची हाबी भएकोछ । एमालेको शीर्ष नेता ओली फेरि नेपालको प्रधानमंत्री बन्न सफल भएकाछन । तर जतिपटक प्रधानमंत्री भएपनि त्यसको कुनै महत्व छैन जब सम्म उहाँले नेपाली जनताको माया पाउन सक्दैन । राजनीतिक अंकगणित मिलाएर उहाँ पटक पटक नेपालको प्रधानमंत्री बन्ने सफलता पाएपनि नेपाली जनताको माया पाउन सफल भएका छैनन् । उहाँले प्रधानमंत्रीको रुपमा बिगतमा नेपाल राष्ट्र र नेपाली जनताको लागि गरेको कामहरुलाई हेरी बहुसख्यक नेपाली जनताले रुचाएको छैन । उहाँ मात्र होइन दलका सबै शीर्ष नेताहरुलाई नेपाली जनताले घृणा गर्न थालेका छन् । टिभी र अखबारमा नेताहरुको फोटो आउँदा हेर्न नसकी उल्टी गर्न थाल्दछन । उहिले राजतंत्र कालमा पनि नेपाली जनताले टिभी हेर्न, रेडियो सुन्न र अखबार पढ्न छाडेका थिए किनकि नेपाली जनतालाई एकोहोर राजपरिवार र पञ्चहरुको समचार देखि एलर्जी भइसकेको थियो ।

दलका नेताहरु सुनीति अनुसार नचलेर सुरुची अनुसार चल्दै आएकाले नेपाली जनताको भरोषा गुमाईरहेका छन । नेपाल राष्ट्रको ऐन कानुन अनुसार चल्ने शासक प्रशासक नेपाली जनताले खोजेकोमा त्यस्तो हुन सकीरहेको छैन । उल्टै दलका नेताहरुले आपसमा मिलेर ऐन कानुनलाई संसोधन गरीगरी नेपालमा भ्रष्टाचार र अपराध फैलाएका छन । कानुनी राजको निव नै खलबलिने गरी न्यायापालिका भित्र दलमा आबद्ध व्यक्तीहरुलाई न्यायाधिश नियुक्त गरी नेपाली जनताको नजरबाट पतित हुने काम दलका शीर्ष नेताहरुले नेपालमा गरीरहेकाछन ।

दलहरुले न्यायापलिका माथि गरेका यस्तो नाङ्गो हस्तक्षेपले गर्दा नेपालको न्यायापालिका राजनीतिबाट प्रभावित छ र स्वतंत्र छैन भन्ने मानसिकता नेपाली जनमानसमा पैदा भएको छ । प्रधानमंत्री ओली सुशासनको कुरा मात्रै गर्दछन तर कार्य व्यवहारले उहाँ उल्टोपाल्टो गरी अगाडि बढ्ने दलका शीर्ष नेतामा गनिन्छन । उहाँ कती स्वार्थी नेता हुन भन्ने कुरा यहाँ सबै दोहर्याएर सुनाउन सम्भव छैन तर त्यसको बारेमा तमाम नेपाली जनतालाई अवश्य केही न केही ज्ञान भएको नै छ । उहाँले आफ्नो आफन्तलाई लाभ दिलाउन कै निमिक्त खरिद नियमवाली एकै महिनामा १० पटक सम्म पनि संसोधन गर्नु भएको थियो ।

यस्ता सुरुची भएका उहाँले सुशासनको कुरा गर्नु पनि आफैमा ठुलो विडम्वना मान्नु पर्दछ । यसपटक सत्तामा आउने बित्तकै उहाँले धेरै नाफामा चलीरहेको संस्था नेपाल बिद्युतप्राधिकरणलाई ढाल्ने प्रयास थाल्नु भएको छ । तर ऋणमा डुबेको संस्था नेपाली डेरी डेभलोपमेन्ट कर्पोरेशनलाई कसरी पुनः जगाउने भन्ने बारे कुनै चासो देखाएको छैन । त्यसै गरी वाईड वडी भ्रष्टाचार काण्डको सिकार भएको नेपाल वायुसेवा निगमलाई पनि कसरी उत्थान गर्ने भन्ने बारेमा चुपचाप बसेकाछन । ओली सरकारले हतार हतार बिद्युतप्राधिकरणको बोर्ड सदस्य द्वयलाई हटाउने कार्यबाही गरेकोमा सर्वोच्च अदालतवाट स्टेअर्डर आएकाले घाँटीमा अड्किएको हाड बराबर भएकोछ । यस्ता गैरकानुनी काम गर्ने सकरकारले सुशासनको कुरा गर्नु भनेको संसारलाई हँसाउँने काम मात्रै हो । संविधान संसोधन गरी नेपाली जनतालाई राहत दिन्छौ भनी सत्तामा आएको ओली सरकारको ध्यान त्यतापटि पटक्कै छैन ।

सत्यनिरुपन तथा मेलमिलाप विधेयकलाई समितिबाट पास गराएकोमा ओली सरकार त्यसको जस लिन खोज्दै छन तर यो बिषयलाई पार लगाउनमा प्रचण्ड सरकारको धेरै ठुलो योगदान रहेको कुरा सर्वबिदित नै छन । ओली सरकार सत्तामा आउनुको पछाडिको मुख्य कारण भ्रष्टाचारको संभावित कार्यबाहीबाट आआफ्नो बचाव गर्नु नै हो । काले काले मिलेर भाले खाने कुरा दलहरु सबैको साझा कार्यक्रम नै भएको हुँदा त्यसलाई यहाँ फेरि दोहर्याई रहन जरुरी छैन । ओली सरकारको अवको ध्यान संसदमा रुकी बसेको भ्रष्टाचार संबन्धी विधेयक पास गर्नु नै हो । यो विधेयक पास भएपछि ५ बर्ष भन्दा पुराना भ्रष्टाचार र अपराधका मुद्दाहरुबाट दलका नेताहरु सुरक्षित हुने मानिएको छ ।

भ्रष्टाचार र अपराधको बिषयमा यस्तो समय सिमा राख्नु हुँदैन भन्ने आम नेपाली जनताको धारणा रहेकोछ । दलहरु नाम मात्रको लोकतंत्रवादी भएकाले नेपाली जनताको आम धारणामा भन्दा पनि आफ्नो घाटा फाईदा हेरी मत राख्ने गर्दै आएकाछन । बंगलादेशमा हालै घटेको ताजा राजनीतिक घटनाबाट नेपालका राजनीतिक दलहरुले पनि पाठ सिक्नु पर्ने हो तर त्यस्तो हुने संभावना कमै देखिन्छ । किनकि दलका नेताहरुले नेपाली जनता यतिबेला जनआन्दोलन गरी वलीदान दिने मुडमा छैन भन्ने कुरा राम्रै सित बुझेकाछन । नेपालको अहिलेको राजनीतिक अवस्थामा सर्वमान्य नेता कोही छैनन् । दलका शीर्ष नेताहरु भ्रष्ट र अपराधी भएको हुँदा उहाँहरु पतित भईसकेका छन् । नेपाली जनतालाई उहाँहरुले विश्वासिलो ठोश काम गरी देखाउन सकेको छैन ।

नेपाल राष्ट्रको वर्तमान बर्बाद हालतको लागि नेपाली जनताले दलहरुलाई नै जिम्मेवार मानेकाछन । करोड भन्दा बढी युवाहरुले देश छाडेर विदेशमा शिक्षा र रोजगारी खोज्दै पलायन भएकाछन । नेपालमा अब यस्तो आर्थिक हालत उत्पन्न भईसकेको छ कि वैदेशिक रोजगारी बिना नेपाली जनताले पेटभरी खान पनि नपाउने अवस्था श्रृजना भईसकेको छ । प्रधानमंत्री ओली स्वयमले नै संसारलाई चकित पार्ने बिकास गरेको दाबी गर्दै आएको भएपनि राष्ट्रको वास्तविक अवस्था बेग्लै निर्माण भईसकेको छ । दलका नेताहरुले कमिसन खाने उद्देश्यले गरेका बिकासहरुले राष्ट्रको आम्दानी नबढाएर खर्च मात्रै बढाईरहेका छन । त्यस्तो बिकासको के काम जसबाट नेपाली जनताले रोजगारी पाउँदैन अनि नेपाल राष्ट्रलाई आम्दानी पनि हुँदैन । नेपाली जनता त्यहि भएको हुनाले हुलका हुल गरी नेपाल राष्ट्रबाट संसारका बिभिन्न मुलुकहरुमा पलायन भईरहेकाछन । नेपालको गरिबका छोराछोरीहरुले बिदेशमा रोजगारी गरी कमाएको पैसा नेपालमा घरपरिवार चलाउनको लागि पठाउने गरेकाछन । त्यहि पैसाको सञ्चिती हुँदा नेपालको आर्थिक संकट हाललाई टरेको महसुस हुँदैछ । यसको ठिक उल्टो धनीका छोराछोरीहरुले गरीरहेकाछन । उहाँहरुले कमाएको पैसा नेपाल नपठाएर उतै लगानी गर्दछन अनि नेपालमा भएका आफ्ना पुर्खौली जायजेथा पनि बेचेर गैरकानुनी मार्गबाट बिदेश लगीरहेका छन् ।

दलका नेताहरुले नेपाली जनताको मनमा राम्रो काम गरी उत्साह जगाउन नसक्दा नेपाली जनता चिन्तित भएकाछन त्यसैले बिदेशमा लगानी गरी आफ्नो घरपरिवार र सन्तानको भविष्यालाई सुरक्षित तुल्याउन खोज्दैछन । नेपाल राष्ट्र र नेपाली जनताको भविष्य दलहरुको वेढंगी र सुरुचीको बिकासले गर्दा संकटमा परीसकेको अवस्था छ । दलहरुको मनमौजी र तजबिजी बिकासले राष्ट्रको आम्दानी घटाएर खर्च मात्रै बढाईरहेकोछ । राष्ट्रिय ऋणको भारी अब नेपाली जनताले बोक्नै नसक्ने गरी दलहरुले बढाएको हुँदा नेपाल राष्ट्रको भविष्य जोखिममा परेकोछ । बिदेशी ऋणको साँवा व्याज पनि भविष्यमा नेपाल राष्ट्रले चुकाउन नसक्ने अवस्था अहिले नेपालमा कायम रहेकोछ । एक डेढ बर्ष किनेर खानसक्ने बिदेशी मुद्राको सञ्चिती नेपाल सित भएपनि संधै किनेर खान सक्ने गरी बिदेशी मुद्राको सञ्चिती नेपालमा भएको अवस्था छैन । त्यसको लागि नेपाल राष्ट्रलाई स्वावलम्बी बनाउन जरुरी हुन्छ ।

आफ्नो खेतबारीबाट उत्पादन बढाएर बिदेशबाट गरिने खाद्यन्नको आयतलाई कम पार्दै लगेर कालन्तरमा खाद्यन्नको निर्यात गर्न सक्ने अवस्था श्रृजना गरी नेपाल राष्ट्रलाई स्वावलम्वी मुलुक बनाएर नेपाली जनताको सुन्दर भविष्य सुनिश्चित पार्न सकिन्छ । नेपालको वर्तमान दलिय राजनीतिक नेतृत्वबाट यस्तो महान काम पुरा हुँदैन किनकि ४३ महिना शासन गरी मुलुकलाई १० खर्व ऋण बढाउने नै फेरि नेपालको प्रधानमंत्री भएकाछन । उहाँ त बिदेशीको दलाल मात्र नभएर स्वादेशी दलाल व्यापारीहरु र व्यवसायीहरुको पनि दलाल निस्केका छन ।

नेपलामा कानुनी राज स्थापना हुने सक्ने गरी दलहरुबाट नेपालको न्यायपालिकालाई बलियो बनाउने प्रयास भएको छैन । उल्टै नेपालको न्यायापालिका भित्र लगातार हस्तक्षेप गरी कमजोर र भ्रष्टबनाउने कामहरु निरन्तर भईरहेको अवस्था छ । खासगरी दलहरुले आफ्ना झोलेहरुलाई न्यायाधिश बनाएर नेपालको न्यायापालिकलाई कमजोर बनाएर दलमैत्री बनाउने अभ्यासमा जोडदिएर लागेकाछन । दलका शीर्ष नेताहरुले अगाडि पछाडि केही सोचीरहेको वा हेरीरहेको छैनन् । आफ्नो पकडमा सत्ता भएको बेला त्यसबाट सक्दो फाईदा लिनको लागि निजामती कर्मचारीहरुको सरुवा बढुवा गरी स्थायी सरकारको रुप मानिएको नेपालको निजामती शासन प्रणालीलाई प्रभावित तुल्याएर सत्तसिन दल मैत्री बनाउने कोसिस गर्दै आएकाछन । सत्तामा भएका दलहरुको सबै प्रयास निजामती प्रशासकिय स्वरुपलाई प्रभावित तुल्याएर राष्ट्रमा लुटपाट मचाउनको लागि वातावरण बनाउने तिर मात्रै केन्द्रित हुँदै आएको देखिन्छ ।

ओली सरकार त्यसै सत्तामा आचानक आएको होइन । यो सरकारको निर्मानमा नेफाखोर दलाल तस्कर व्यापारीहरु र व्यवसायीहरुको ठुलो हात रहेकोछ । ओली सरकार सत्तामा आउन साथै पुँजी बजारमा उछाल आउनुको मुल कारण यहि नै हो । पुँजी बजार विज्ञहरुको अनुसार पुँजी बजारमा इन्टरनल ट्रेडिङ भईरहेको छ जसले गर्दा अर्थनीतिमा कुनै ठोश सुधार वा संसोधन बिना नै उछाल आएको हो । कुनै आर्थशास्त्रको विज्ञ नभएर २ कक्ष मात्रै पढेका माननीय बिष्णु पौडेल नेपाल सरकारको अर्थमंत्री तेस्रो पटक भएकाछन । ललितानिवास बालुवाटारको सरकार जग्गा अपचलन गरेको आरोप समेत उहाँलाई लागेकोमा शक्तिसाली नेताभएको हुँदा जग्गा मात्रै फिर्ता गरी कार्यबाही हुनबाट आफुलाई जोगाएका छन ।

यस्ता चतुर तर भ्रष्ट र अपारधिक मनोवृत्ति भएकै कारण उहाँले माडवाडी व्यापारीहरु र व्यवसायीहरुलाइ परिचालन गरी पुँजी बजारमा कृतिम उछाल ल्याउने सफलता पाएका छन । तरो यस्तो पारा नेपाल राष्ट्र र नेपाली जनताको लागि भने घातक शिद्ध हुने भएको देखिन्छ । तिनै व्यापारिहरु र व्यवसायीहरुले पुँजीबजारमा ल्याएको उछालको छाँयामा ठुलो मात्रामा नेपालको पैसालाई सिंहापुर पलायन गराईसकेको खबर छ । ओली सरकारको भ्रष्ट र अपराधिक प्रवृत्तिले गर्दा नेपालको राष्ट्रियताको खिल्ली यसरी उडाउन नेपालका भ्रष्ट र अपराधिक मनोवृत्ति भएका व्यापारीहरु र व्यवसायीहरुले ठुलो सफलता पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *