विदेश सचिव मिस्रीको नेपाल भ्रमणको संकेत

राजनीति समाचार

सरकार परिवर्तनका कारण मुलुक राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ । मुलुकमा जति अस्थिरता हुन्छ, त्यति नै वैदेशिक शक्तिले हस्तक्षेप गर्ने गरेको र प्रभाव पनि पार्ने गरेको पाइन्छ । यसको पुष्टि सरकार परिवर्तन भएसँगै विदेशी राष्ट्रका पदीय व्यक्तिहरुको नेपाल भ्रमणले देखाउँछ । नेपालमा सरकार परिवर्तनमा छिमेकी मुलुक भारतको प्रत्यक्ष भूमिका रहने गरेको तर्क पनि आउने गरेको छ ।

विचार र सिद्धान्त फरक मानिने वामशक्ति र नेपाली कांग्रेस गठबन्धनको सरकार गठन भएर सरकारको नेतृत्व गरिरहेको अवस्थामा छिमेकी मुलुक भारतका विदेश सचिवले नेपालका राजनीतिक दलका प्रमुख नेताहरुसँग भेटघाट गरेका छन् । पदीय तवरले सचिव सरहको व्यक्ति नेपालका ठुला दलका नेताहरुसँग भेटघाट गर्नु स्वभाविक नमानिए पनि सचिव मिस्रीको भ्रमणले राजनीतिक दलहरुमा विभिन्न आशंका र बहस गर्न थालिएको छ ।

भारतका विदेश सचिव विक्रम मिस्रीले छोटो अन्तरालको भ्रमणमा मुलुकका प्रमुख राजनीतिक दलका नेता, राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुसमेतलाई भेट्न भ्याएका छन् । कुटनीतिक मर्यादालाई हेर्ने हो भने यसरी विदेश सचिवले नेपालका ठूला नेतालाई सहजै भेट्नु उपयुक्त मानिँदैन । तर नेपाल मामिलामा छिमेकी मुलुक भारतको नेपालप्रति सदैव भूमिका रहँदै आएको छ ।

नेपाली राजनीतिज्ञको भारत भ्रमण र भारतीय कुटनीतिज्ञ तथा नेताको नेपाल भ्रमण भएसँगै राजनीतिमा परिवर्तन आउन सक्ने आशंका सँधै रहने गरेको पनि छ । भारतीय शक्तिले नेपालको राजनीतिक परिवर्तन र गठबन्धन निर्माणमा भूमिका पनि राख्ने गरेको छ । भारतविरुद्ध टिकाटिप्पणी गरेपनि सत्ता निर्माणमा भारतको भूमिका हुने भएकाले ठुला दलका नेताहरु पनि मैचुपको अवस्थामा बस्ने गरेका छन् । परराष्ट्र मन्त्री आरजु राणा देउवाले विदेश सचिवसँगको भेटमा नेपाल–भारतबिचका विभिन्न सम्झौताहरु कार्यान्वयनमा ल्याउनुपर्ने विचार पनि व्यक्त गरेको बताइन्छ । विदेश सचिवकै भ्रमण भएपनि नेपालको राजनीतिमा उनको भ्रमणले महत्व राख्ने गरेको परराष्ट्रविद्हरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *