आजबाट तामाकाशी सन्देश साप्ताहिक १४ वर्षमा प्रवेश

राजनीति लेख

प्रकाशकीय
काठमाडौं । नेपालमा प्रजातन्त्रहुँदै लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउनको लागि साप्ताहिक पत्रपत्रिकाहरुले ठूलो योगदान गरेका थिए । एकदलीय पञ्चायती व्यवस्थामा पत्रपत्रिका सञ्चालन गर्न धेरै मुस्किल पर्दथ्यो । त्यसको बाबजुद पनि पत्रकारहरुले लुकीछिपी साप्ताहिक पत्रिकाहरु निकालेर नेपालमा प्रजातन्त्र ल्याउनको लागि जनतालाई सुसूचित गराउने काम गर्दै आएका थिए । त्योसँगै राजनीतिक दलहरुले मुलुकमा प्रजातन्त्र ल्याउनको लागि गरेको आन्दोलनका समाचार लेखेर जनतासमक्ष पुर्याउने काम तिनै साप्ताहिक पत्रपत्रिकाहरुले गरेका थिए ।

प्रजातन्त्र स्थापना हुनु अगाडि सरकारको मुखपत्र गोरखापत्र बाहेक अन्य निजी दैनिक पत्रिकाहरु प्रकाशित भएका थिएनन् । त्यतिबेला तिनै साप्ताहिक पत्रपत्रिकाले देशमा प्रजातन्त्र ल्याउन ठूलो भूमिका निर्वाह गरेका थिए । तर, मुलुकमा प्रजातन्त्र आइसकेपछि ठूलो लगानीमा दैनिक पत्रपत्रिका र टेलिभिजनहरु निजी रुपमा सञ्चालनमा आए । त्योसँगै साप्ताहिक पत्रपत्रिहरुको पनि बाढी नै आयो । त्यो पंत्तिमा तामाकोशी सन्देश साप्ताहिक थपियो । अन्य साप्ताहिक पत्रिकासँगै देशमा गणतन्त्र स्थापनाको लागि तामाकोशी सन्देश साप्ताहिकले पनि हातमा हात मिलाएर अगाडि बढ्यो । गणतन्त्र स्थापनापछि साप्ताहिक पत्रिकाहरु विस्तारै आझेलमा पर्दै गए । दलका नेताहरुले पनि हिजो मुलुकमा प्रजातन्त्र ल्याउनको लागि सहयोग गर्ने साप्ताहिक पत्रपत्रिको गुन बिर्सिँदै गए ।

अहिले साप्ताहिक पत्रिकाको मिसनको जगबाट बनेको लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले तिनै साप्ताहिक पत्रपत्रिकाको घाँटी निमोठ्ने काम गरिरहेको छ । मुलुकमा प्रजातन्त्र आइसकेपछि त्यसको आडमा खुलेका उद्योगी, व्यवसायी र बैंक÷वित्तिय संस्थाहरुले पनि साप्ताहिक पत्रपत्रिको योगदान बिर्सिन थालेका छन् । अझ अनलाइन र विभिन्न सामाजिक सञ्जालको प्रयोगले प्रजातन्त्रका पहरेदार साप्ताहिक पत्रिकाहरु मर्नुनबाँच्नुको दोसाँधमा पुगेका छन् । त्यसको शिकार तामाकोशी सन्देश साप्ताहिक पनि हुँदै गएको छ । यी यावन आरोहअबरोह पार गर्दै आज तामाकोशी सन्देश साप्ताहिक स्थापनाको १३ वर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेको छ । विगत १३ वर्षकोे दौरानमा तामाकोशी सन्देशले मुलुकमा हुने गरेका विकृति, विसंगतिविरुद्ध जेहाद छेड्ने काम गर्दै आएको छ । जस्तो प्रतिकूल अवस्थामा पनि राष्ट्र, राष्ट्रियता र आमजनको पक्षमा खरो रुपमा उत्रन तामाकोशी सन्देश पछि परेको छैन ।

सधैं भ्रष्टाचार, कुशासन, अनियमितताविरुद्ध रत्तिभर नडमगाई समाचार सम्प्रेषण गरेर आमनागरिकको आवाज बुलन्द गर्ने काम गर्दै आएको छ । आगामी दिनमा पनि भ्रष्टाचार, कुशासन, अन्याय, अत्याचार र अनियमितताविरुद्ध समाचार सम्प्रेषण गरेर आमनागरिकलाई सुसूचित गराने काममा पछि नपर्ने प्रण गर्दछ । तामाकोशी सन्देशलाई १३ वर्षसम्म निरन्तरता दिनको लागि सहयोग गर्नुहुने लेखक, विज्ञापनदाता, ग्राहक र शुभचिन्तकप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *