भक्तपुर र डिल्लीबजार मालपोतमा कर्मचारीको चाँदी कटाई

राजनीति समाचार

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले एकै पटक २२ सचिवको सरुवा गर्दा सचिव गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाउने पक्कापक्की थियो । काँग्रेसका खास मानिएका सचिव दुवाडीको नाम अन्तिममा टिपेक्स लागेको थाहा भएको छ । गृहमन्त्री रमेश लेखकले दुवाडीलाई गृहमा ल्याउन लागेको थाहा पाएपछि लेखकका आफन्तले विगतमा दुवाडीले दिएको सास्ती र दुखको बेलिबिस्तार लगाएसँगै रमेश लेखक रोकिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
तुलनात्मक रुपमा अब्बल र राम्रा प्रशासकमा चिनिन्थें दुवाडी र उनी भूमि सचिव हुँदा भूमि प्रशासन सबैभन्दा बढी बदनाम हुन पुगेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । भाञ्जालाई अगाडि सारेर कर्मचारी सरुवाबाटै चलखेल गरेका कारण उनी बदनाम थिए,भूमिमा ।

यता भूमि व्यवस्था विभागले गोकर्ण सरुवा हुनु र अर्जुन पोखरेल भूमिमा नभित्रदै एकै पटक ७० जना कर्मचारीको सरुवा गरेर बोलकबोलमा रकम उठाएको भेटिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटालाई दोष देखाएर एकै पटक ठूलो संख्यामा खरिदार, नायब सुब्बा र अधिकृतहरुको गुपचुप सरुवा गरेको छ । १७ साउनको मितिमा एकै पटक ७० भन्दा बढी खरिदार, नासु र अधिकृतहरुको सरुवा भएको र उक्त सूची आजसम्म गुपचुप राखिएको छ । स्रोतका अनुसार भूमि मन्त्रालयका एक विचौलिया र मन्त्रीका सचिवालयको सेटिङ्गमा यो सरुवाको काम तमाम पारिएको हो । उक्त स्रोतले खरिदारबाट ५ लाख,सुब्बा तहका कर्मचारीसँग ७ लाख र अधिकृत तहका कर्मचारी सरुवा गरिँदा १० लाखको दरले बोलकबोल गरिएको र एकै लटमा १ करोड भन्दा बढी रकम उठाइएको चर्चा मन्त्रालयमा समेत चल्ने गरेको छ ।

उक्त सरुवाको केही विवरण अनुसार काठमाडौं,ललितपुर,भक्तपुरका कार्यालयका रहेका छन् । एउटा कमाऊ कार्यालयबाट अर्को कमाऊ कार्यालयमा कर्मचारीहरुको सरुवा गरिएको छ । जस्तो अधिकृत भक्तबहादुर विष्ट ललितपुरबाट डिल्लीबजार मालपोतमा ल्याइएको छ भने दुर्गाबहादुर दाप डिल्लीबजार मालपोतबाट ललितपुर मालपोतमा खटाइएको छ । यी दुबै अधिकृत तहका कर्मचारी हुन । विभागले नासु कृष्णकुमार नेपाललाई डिल्लीबजारबाट भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा खटाएको छ भने शिक्षा मन्त्रालय अन्तर्गत कार्यरत रमेश भट्टराईलाई भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरेको छ । यस्तै विभागमा कार्यरत नासु पवन भट्टराई भक्तपुर मालपोतमा खटाएको छ । भक्तपुर मालपोतबाट विजयराम बनमालालाई मालपोत कार्यालय बर्दिबासमा खटाएको छ । यस्तै कलकी मालपोतबाट खरिदार रुद्र उप्रेती भक्तपुर मालपोतमा पुगेका छन् ।

मालपोत कार्यालय मोरङका कम्युटर अपरेटर गुणानन्द झा भक्तपुर मालपोतमा पुगेका छन् । यस्तै विभागमा कार्यरत खरदार अमर पुन भक्तपुर मालपोतमा भित्रिएका छन् । ऐन अनुसार असोजमा खरिदार र नासुहरुको सरुवा गर्ने व्यवस्था भए पनि दुई महिना अगाडि नै ठूलो संख्यामा खरिदार र नासु तहका कर्मचारीहरु चलाइनुको पछाडि रकमको चलखेल नै हो भन्छन्,भूमिसुधारका कर्मचारीहरु ।

नियम अनुसार,साउन १५ सम्म निवेदन लिने, भदौं १५ अन्तरमन्त्रालय र विभागले भदौं पछि सरुवा गर्ने गरिदैं आएको भए पनि साउनको दोश्रो सातामै ठूलो संख्यामा खरिदार र नासु तहका कर्मचारीहरुको सरुवा गरिएको हो । सचिव गोकर्णमणि दुवाडी सरुवा भएर हिड्नु र अर्जुन पोखरेल भूमिमा हाजिर हुनु अगाडि केही जग्गा विचौलिया,मन्त्रीका सचिवालयका केही कर्मचारी र भूमि व्यवस्था विभागका कर्मचारीको मिलेमतोमा सरुवा गरिएको हो । भक्तपुर मालपोतमा कुमार आचार्यको चाँदी कटाई रहेको छ । आचार्यले भैरहवा विमानस्थलको सरकारी जग्गा व्यक्तिका नाममा गरिदिएवापत करोडौं हात पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *