भ्रष्ट सहसचिव बोक्दै गृहसचिव एकनारायण अर्याल

राजनीति समाचार

काठमाडौं । बदमासीमा मुछिएका सहसचिवहरु थन्काउने ठाउँ बनेको छ गृह मन्त्रालय । इम्ब्रोष्ट नँबर प्लेटमा बदमासी गरेका खेलाडी सहसचिवहरु थुप्रिएका छन्,अहिले गृहमा । दुई महिना अर्थ मन्त्रालयको बरण्डामा थन्किएका डा. टोकराज पाण्डे प्रमुख जिल्ला अधिकारी खान गृहमा पुगेका छन् । त्यही रहँदा बदमासीमा मुछिएका गोगनबहादुर हमाल अहिले गृहको हर्ताकर्ता छन् ।

रवि लामिछानेकै समयदेखि नारायणप्रसाद भट्टराई गृहमै छन् । अहिले प्रवक्ताको जिम्मेवारी समेत उनैलाई दिएको छ । काठमाडौं महानगरपालिकामा हुँदा बदमासीमा मुछिएका बसन्त अधिकारी पनि गृह मन्त्रालयमै पुगेका छन् । पछिल्लो समय नक्कली लाइसेन्स, इम्बोस्ड नम्बर प्लेट जस्ता अनियमितता छानबिन दायरामा तानिएका एक पछि अर्काे विवादित सहसचिवहरू गृहमा थुप्रिएका छन् । अहिले गृह मन्त्रालय यातायात क्लब बन्न पुगेको चर्चा गृहकै कर्मचारीहरुले गर्न थालेका छन् । यस्तो भन्नुको पछाडि त्यहाँ यातायातमा रहँदा भ्रष्टाचारमा मुछिएका सहसचिवहरु थुप्रिनु प्रमुख कारण हो । यातायात व्यवस्था विभागको महानिर्देशक भएर विवादमा तानिएका सहसचिवहरू डा. टोकराज पाण्डे, गोगनबहादुर हमाल, नारायणप्रसाद भट्टराई अहिले गृह मन्त्रालयमा हर्ताकर्ता बनेका छन्।

यसले गर्दा गृह मन्त्रालय ‘यातायात क्लब’ बनन पुगेको हो । गोगनबहादुर हमालले आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् । उनी यातायात पछि एयरपोर्टमा हुँदा समेत काण्ड लागेर मन्त्रालयमा तानिएका हुन । यस्तै बदनाम सहसचिवले बक्सिसमा सिडियो पाउँदैछन् । शालिन र भद्र स्वभावका रमेश लेखक गृहमन्त्री छन् अनि चतुर खेलाडी एकनारायण अर्याल सचिव । अर्याल जहाँ जहाँ जान्छन्,आफू निकटका र भ्रष्ट छवि भएका कर्मचारीहरुको समूह बनाउँछन् । जस्तो संघीय मामिला तथा सामान्य प्रशासन,श्रम हुँदै अहिले गृहमा समेत बदनामी कमाएका सहसचिव र उपसचिवहरुको टिम तयार पारेका छन् र त्यही टिम परिचालन गरेर उठ्ती पुठ्ती चलाइरहेको कर्मचारीहरु आरोप लगाउँछन् ।

गृह मन्त्रालयले एकै पटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवाको तयारी गर्दैछ । जसमा सहसचिव तहका दरबन्दी रहेका काठमाडौं, ललितपुर,भक्तपुर, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, कैलाली, झापा, मोरङ, सुनसरी, बारा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोकका साथै उपसचिव तहका दरबन्दी रहेको रसुवासहितको जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गर्ने गृहकार्य गरिरहेको छ । हालैमात्र सरकारले ५९ सहसचिव सरुवा हुँदा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवामा परे । सिन्धुलीका सिडिओ भरत खनाललाई महावाणिज्यदूत बनाउने तयारी स्वरुप परराष्ट्रमा पठाइएको छ भने सिन्धुपाल्चोकका भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।

त्यस्तै, अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकका बनाइएको छ । अस्तिकै लटको सरुवामा राष्ट्रपति कार्यालयका कृष्ण प्रसाद लम्साल, रक्षाका लीला प्रसाद शर्मा, निर्वाचन आयोगका रमेश ढकाल, गण्डकी प्रदेशक ऋषिराम तिवारी, अर्थ मन्त्रालयका डा टोकराज पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरेर पठाइएको छ तर उनीहरुलाई जिम्मेवारी दिइएको छैन । त्यस्तै, रामचन्द्र तिवारीलाई काठमाडौंको सिडियो बनाएर खटाउने तयारी हुँदैछ । अशक्त कोटाबाट सहसचिव खाएका जितेन्द्र बस्नेत गृह फिर्ता हुँदैछन् ।

गृहले ७ देखि ९ महिना अवधि कटेका प्रमुख जिल्ला अधिकारीहरु यो लटमा हेरफेरमा पर्दैछन् । काठमाडौं महानगरमा हुँदा काण्ड लागेका सहसचिव बसन्त अधिकारी राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा हर्ताकर्ता छन् । गृह सचिव एकनारायण अर्यालले जतिसुकै सदाचारको कुरा गरेता पनि बदनामी कमाएका एक पछाडि अर्काे सहसचिवलाई गृहमा लैजानु,तिनैलाई प्रमुख जिल्ला अधिकारीदेखि महत्वपूर्ण विभागको जिम्मेवारी दिनुले उनको सदाचारीमा हात्तीको देखाउने दाँत जस्तो भएको टिप्पणी गर्दैछन्,कर्मचारीहरु नै ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *