अर्याल मुख्यसचिव बन्दा कर्मचारी निराश !

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि कर्मचारीभित्र असन्तुष्टि बढेको छ । असन्तुष्टि बढेसँगै पहिलो वरियतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली र तेस्रो वरियतामा रहेका महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले राजीनामा दिएका थिए ।

तर, भट्टराई झापा निवासी र एमालेका खाँटी कार्यकर्ता भएको कारण प्रधानमन्त्री ओलीले ‘राजीनामा किन दिएको, तिमीलाई गृहसचिव अथवा जागिरे अवधि सकिएपछि कुनै संवैधानिक निकायको जिम्मेवारी दिन्छु,’ भनेपछि सचिव भट्टराईले आफ्नो फेसबुकमा ‘मैले राजीनामा दिएको छैन, मिडियाले हल्ला गरेका मात्र हुन्,’ भनेका छन् । यस विषयमा तामाकोशी सन्देशका सम्पादकले ‘तपाईंले राजीनामा दिएको मिडियामा आयो के हो ? भनि प्रश्न गर्दा ‘मिडियाले त्यसै लेखेहोलान् मैले राजीनामा दिएको छैन’ भन्ने उत्तर दिए । अब बाँकी हरेका छन्, दोस्रो वरियतामा रहेका सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी । उनले राजीनामा दिने नदिनेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । अर्यालले पटक–पटक अवसर पाइरहेपछि अन्य कर्मचारीहरुमा वितृष्णा छाएको छ ।

पहिला मुख्यसचिव बनाउँदा जेष्ठता र अनुभवीलाई प्राथमिकता दिइन्थ्यो भने पछिल्ला सरकारहरुले त्यो नियम तोड्दै कनिष्ठलाई अगाडि बढाउने परम्परा बसालेका छन् । ओली सरकारले त झन् महिलालाई प्राथमिकता दिएको नाममा कनिष्ठ लिलादेवीलाई ३७ दिने मुख्यसचिव बनाएर कनिष्ठको बाटो खुला गरेका थिए । सोही बाटो प्रयोग गरेर तीन सिनियर सचिवलाई पाखा लगाएर चौथो वरियताका अर्याललाई मुख्य सचिव बनाएपछि कर्मचारीभित्र भाडभैलो भएको छ । अर्यालले मुख्यसचिव बन्नको लागि उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालदेखि एमाले नेतृत्व पद्मा अर्याल, कांग्रेसका केही नेता, एमाले कर्मचारी संगठनका नेता र केही विचौलिया पत्रकारहरु प्रयोग गरेका थिए । त्योसँगै एमाले पार्टीलाई चन्दा स्वरुप ठूलो धनराशी खर्च गरेको बताइन्छ । उता, एमालेका नेता विष्णु पौडेल र शंकर पोखरेलले जेष्ठतालाई प्राथमिकता दिनुपर्ने आवाज उठाइरहेका थिए ।

तर, सरकारले त्यसलाई सुनेकोनसुनेझैं गरेर चौथो वरियताका अर्यालयलाई मुख्यसचिव बनाएको छ । अर्यालले पनि आफू मुख्यसचिव बन्नको लागि ठूलो पावर र पैसा खर्च गरेको बताइन्छ । त्यति ठूलो पावर र पैसा खर्च गरेर मुख्यसचिव बनेका अर्यालले कसरी देश र जनताको हितमा काम गर्न सक्छन् भनेर कर्मचारीवृत्तमा चर्चा चल्ने गरेको छ । अर्याल मुख्यसचिव बनिरहँदा एमाले निकट व्यक्तिहरुले लगेका फाइल सदर हुने अन्य व्यक्तिहरुले लगेका नियमसंगत फाइलहरु अलपत्र पर्ने बताइन्छ । अर्याल यसअघि सचिव हुँदा कमिसन नआउने नियमसंगतका फाइलहरु सही नगरी फर्काउने र कमिसन आउने फाइलहरु खोजीखोजी सही गर्ने गरेको आरोप उनीमाथि छ । उनै अर्याल मुख्यसचिव बनेका छन् । चौथो वरियताका अर्याल मुख्यसचिव बनिरहँदा अन्य दक्ष कर्मचारीहरु निराश भएका छन् । वरियता क्रमलाई मिचेर चौथो वरियताका अर्याललाई मुख्यसचिव बनाएपछि सार्वजनिक स्थालमा समेत सरकारको टिकाटिप्पणी हुनथालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *