प्रधानमन्त्री मातहतका विभागहरु सधैं विवादमा

राजनीति समाचार

काठमाडौं । राजश्व अनुसन्धान विभाग दिनप्रतिदिन विवादित बन्दै गएको छ । त्योसँगै सम्पत्ति सुद्धिकरण विभाग र राष्ट्रिय अनुसन्धान विभाग पनि पंगु बन्दै गएका छन् । पहिला राजश्व अनुसन्धान विभाग अर्थमन्त्रालय मातहतमा रहने गरेको थियो । तर, तत्कालीन अवस्थामा नेकपाका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि राजश्व अनुसन्धान विभाग, सम्पत्ति सुद्धिकरण विभाग र राष्ट्रिय अनुसन्धन विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा राख्ने निर्णय गरेका थिए । यतिबेला आएर प्रधानमन्त्री ओलीले तिनै विभागका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । यी महत्वपूर्ण विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा रहेपछि त्यहाँका कर्मचारीहरुले समयअनुसार काम नभएको गुनासो गर्न थालेका छन् ।

कतिपय व्यापारीहरुले कर्मचारीलाई दोष देखाएर राजश्व छली गर्ने गरेका कारण प्रधानमन्त्री ओली असन्तुष्ट हुँदै आएका छन् । राजनीतिक पृष्ठभूमिका व्यापारीहरुले प्रधानमन्त्रीलाई प्रभावमा पारेर कर्मचारीलाई दोष देखाउँदै राजश्व छल्ने काम गरिराखेका छन् । कसैले राजश्व छली गरेको अथवा छली गर्दा लिखित वा मौखिक सूचना दिएमा त्यसको छानविन गर्न सक्ने व्यवस्था राजश्व अनुसन्धान चुहावट, नियन्त्रण ऐन २०५२ मा उल्लेख छ । तर, उद्योगी, व्यापारीहरुले कर्मचारी र राजनीतिक दलका नेताहरुको आडमा राजश्व छली गरिरहँदा सरकारले कारबाही गर्न सकेको छैन । उल्टै कर छली गर्ने व्यापारीहरुले आफ्नो फेबरको महानिर्देशक बनाउन चलखेल गर्ने गरेका छन् । राजश्व छली गर्ने उद्योगी, व्यापारीहरुलाई कारबाहीको दायरामा ल्याउने कर्मचारीलाई सरुवा गर्ने गरिन्छ ।

त्यसको उदाहरण लिन सकिन्छ तत्कालीन महानिर्देशक नवराज ढुंगानाले ६१ केजी सुन बरामद गरेको र अमेरिकाको को–टिभीले राजश्व छली गरेको पाएर उनीहरुलाई कारबाही गर्दा ढुंगानाको सरुवा हुन पुगेको थियो । ढुृंगानालाई सरुवा गरेपछि तत्कालीन प्रचण्ड सरकारले चक्रबहादुर बुढालाई महानिर्देशक बनाएको थियो । महानिर्देशक बुढाले सयभन्दा माथि फर्मको अनुसन्धान गरी कारबाहीको तयारी गरिरहँदा सरकार परिवर्तन भयो । सरकार परिवर्तन भएपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने ।

ओली प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री कार्यालय मातहतमा रहेका विभागका महानिर्देशकहरु परिवर्तन गरेका छन् । प्रधानमन्त्री ओलीले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरेलाई नियुक्ति गरेका छन् । घिमिरे अघिल्लो वर्ष मात्रै सहसचिवमा बढुवा भएका व्यक्ति हुन् । घिमिरे लामो समयदेखि राजश्व कार्यालयमा बसेर काम गरेका व्यक्ति हुन् । उनै घिमिरेले राजश्व छली गर्ने व्यापारी, उद्योगीहरुसँग कसरी राजश्व असुली गर्छन् त्यो हेर्न बाँकी छ । उता, सम्पत्ति शुद्धीकरण विभागले सुमन दाहाललाई सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक बनाएका छन् ।

दाहाल पनि राजश्व कार्यालयदेखि भन्सार विभाग, अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गरिसकेका व्यक्ति हुन् । अब सम्पत्ति शुद्धीकरण विभागलाई कसरी चलायमान बनाउँछन् त्यो पनि प्रतिक्षाको विषय बनेको छ । राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग जोखिमपूर्ण विभाग हुन् । अब घिमिरे र दालाहले कस्तो काम गरेर देखाउँछन् त्यो प्रतिक्षाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *