धेरै समयको अन्तरालमा लामो समयकोलागि तराई तिर घुम्ने मिल्यो । विगतमा पनि यस्तो मौका नमिलेको हैन तर एक वा दुई इभेन्ट र केही दिनकालागि जाने गर्दथ्यें । तर यस पटक झण्डै एक महिनाकोलागि तराई तिर जाने मौका मिल्यो । यस बेलामा नेपालीको चाडवाडहरु तिज र पञ्चमी लगायत पनि परे । तराईको रहनसहन र चाडवाडका गतिविधिलाई नजिकबाट हेर्ने मौका मिल्यो । यस अवधीमा वन क्षेत्र नैं नएको स्थानीय तहमा पनि पुग्ने र त्यहाँका समुदायसँग अन्तरक्रिया गर्ने मौका मिल्यो । त्यसै गरी नेपालको चर्चित स्थान रहेको पालिका सुस्तामा घुम्ने अवलोकन गर्ने अवसर पाइयो । अमेरिकी जनता र सरकारको सहयोगमा सञ्चालित जलजंगल कार्यक्रम र उपयुक्त प्रविधि केन्द्र नेपालले प्रदान गरेको थियो ।
कमजोरको सशक्तिकरण
अर्थतन्त्रको हिसावले अमेरिका सवै भन्दा शक्तिशालि मानिन्छ । सन् २०२३ को एक आंकडाले अमेरिकाको अर्थतन्त्र २६ ट्रिलिएन डलर भन्दा वढि छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुकको भन्दा अमेरिकाको ७ ट्रिलिएन वढि अर्थतन्त्र देखिन्छ । धनी देश अमेरिकाले कमजोर आर्थिक अवस्था भएका देशहरुलाई सहयोग गर्न विभिन्न कोष तथा कार्यक्रमहरु तर्जुमा गर्ने गरेको छ । त्यस मध्येको एक युएसएआइडी हो । यस मार्फत नेपाल जस्ता कमजोर अर्थतन्त्र भएका मुलुकहरु विभिन्न परियोजनाहरु मार्फत सहयोग गरिरहेको छ । यसै सिलसिलामा केही वर्ष अघि देखि जल जङ्गल भन्ने एक परियोजना नेपालमा संचालन भैरहेको छ । नेपालमा पनि ७७ जिल्ला मध्ये सवैको एकै अवस्था छैन । त्यसमा पनि कमजोर अवस्थामा रहेका जिल्लाहरु छनौट भए होलान् । ती जिल्लाहरुमा पनि सवै पालिका उस्तै अवस्था पक्कै छैनन् । विशेष प्राथमिकता दिनु पर्ने पालिकाहरु छनौट भए ।
जल जङ्गल कार्यक्रम अन्तरगत पनि विभिन्न कामहरु भैरहेका छन् । समाजमा रहेका लिंग, जात, भुगोल, शारिरीक अवस्था, शिक्षा, सम्पन्नताको आधारले कमजोर भएकाहरुको क्षमता विकासकालागि लैङ्गिक समानता, सामाजिक समावेशीकरण र नेतृत्व कार्यक्रम अन्तरगत तालिमहरु सञ्चालनको सिलसिलामा म जोडिन पुगेको थिएँ । यी तालिमहरु सञ्चालनकालागि नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्ला कार्यक्रम क्षेत्र छनौट भएको रहेछ । त्यस जिल्लाको पनि वन क्षेत्र नैं नभएको प्रतापपुर र चर्चित ठाउँ सुस्ता छनौट भएको थियो । ति दुई पालिकामा ४,४ वटा २,२ दिनको तालिम सञ्चालन गर्ने कार्यक्रम तर्जुमा भएको थियो ।
वन नभएको पालिकाको जनजिवन
ग्रामिण क्षेत्रमा उर्जाको प्रमुख स्रोत नैं दाउरा हो । त्यो वनमा पाइन्छ । पशुपालन व्यवसाय पनि वनसँग जोडिन्छ । पहाडी ग्रामिण क्षेत्र सामुदायिक वन नभएको ठाउँ छैन । तर वन नभएका स्थानीय तह पनि छन् भन्ने सुनेको थिएँ । नवलपरासी जिल्लामा रहेको प्रतापपुर गाउँपालिकामा कुनै वन क्षेत्र नैं पर्दो रहेनछ । वन विना मानिसको जीवन नैं कसरी चलेको होला । त्यसको उत्तर खोज्न थालें । स्थानीय वासिन्दासँग भेट भयो । गाउँपालिकामा जननिर्वाचत व्यक्तिहरुसँग कुराकानी भयो । सबैसँग मेरो पहिलो प्रश्न हुने गर्दथ्यो ‘तपाइहरुकोमा वन नैं छैन ?’ मेरो मनमनैं थप जिज्ञासा हुन्थ्यो जीवन कसरी चल्दो हो । मानिस हो जीउने कला भैहाल्दो रहेछ । भुस्सा हालेर गोवरको गुइठा पारी हिउँदमा प्रयोग गर्ने चलन पनि रहेछ । यस्ता गुईठालाई दाउराको जस्तो आकार दिएर भण्डार गरी राखिने चलन रहेछ । तर पछिल्लो अवधीमा खेतवारी जोत्ने काम ट्याक्टरबाट गर्न थाले पछि गोरु पाल्न छाडिएछ । गुइठा पनि हरायो । अहिले पेट्रोलियम ग्याँसलाई खाना पकाउने इन्धनको रुपमा प्रयोग गरिंदोरहेछ ।
प्रतापपुर गाउँपालिकामा राष्ट्रिय वन नभएको हो तर रुखै नभएको चाँही होइन रहेछ । आधा भन्दा वढि घर परिवारको निजि जग्गामा केही न केहीको रुख रोपेका छन् । हुर्काएका छन् । आवश्यक पर्दा त्यही प्रयोग गर्दछन् । गाउँपालिकाले पनि सार्वजनिक जग्गा खोजी गरी वृक्षारोपण गराउने काम पनि गरिरहेको छ ।
यस गाउँपालिका हुँदै ठुलो नहर भारत तिर गएको छ । गण्डक नहर भनिने तर भारतीय नहरवाट परिचित यो नहर हेर्दा नारायणी नदीनैं त्यता फर्काएको जस्तो लाग्दछ । नेपाली नहर पनि छ तर त्यो चाँही सानो कुलो जस्तो देखिन्छ तर भारतीय नहर नाम दिइएको चाँही विशाल छ । त्यो नहरले धेरैवटा सवारी साधननैं निलि सकेको छ रे । अनुमान गरौं कति गहिरो होला त्यो नहर । त्यो विशाल नहर वनाई पानी लैजाँदा नेपाली भुमी धेरै प्रयोग गरेको थाहा पाउन कुनै अनुसन्धान नैं गर्नु पर्दैन । नेपाली नहरमा हिउँदमा पानी आउँदैन रे । अहिले चाँही नेपाली नहरमा पनि पानी देखिएको छ । यी नहरको आसपासमा केही वृक्षारोपण गरिएको छ । त्यसमा सामुदायिक वन वनाउने कोशिस पनि भएको रहेछ तर त्यसको वन पैदावार प्रयोग गर्न मुस्किल रहेछ । क्षेत्र थोरै अनी प्रकृया पनि झन्झट भएकोले खासै कसैले चासो देखाएको पाइएन ।
समुन्द्री सतह देखि ३०० मीटरसम्म उचाइ रहेको भारतको सिमामा जोडिएको यो प्रतापपुर गाउँपालिकामा ९ वटा वडाहरु रहेका छन् । प्राय सवै गाउँ तिर नैं कालोपत्रै सडक भेटिन्थ्यो । अरु पालिका जस्तै यस पालिकाले वार्षिक नीति कार्यक्रम र बजेट ल्याउने गर्दछनैं । वनको सन्दर्भमा गाउँपालिकाको वार्षिक कार्यक्रमहरु के तर्जुमा गर्ने गरेको होला भन्नेमा मेरो चासो थियो । गाउँपालिकाको पछिल्लो नीति तथा कार्यक्रम पल्टाएर हेरें । नदी उकास, गण्डक नहर आसपास र सार्वजनिक जग्गामा स्थानीय समुदायको जनसहभागीतमा वृक्षारोपण गर्ने भनी लेखिएको रहेछ । सडक दायाँ वायाँ र घर नजिक समेत वृक्षारोपण गरी सुन्दर र हरियाली गाउँपालिका बनाउने भन्ने उल्लेख गरेको छ । प्रत्येक घर निर्माण सम्पन्न भए पछि घर क्षेत्रमा कम्तीमा एक रुख रोप्ने अभियान सञ्चालन गर्ने जस्ता गाउँपालिकाका कार्यक्रमहरु तर्जुमा गरिएका छन् ।
प्रतापपुर गाउँपालिकामा पहाडबाट झरेकाहरु असाध्यै कम छन् । यहिँका पुराना समुदायहरुको नैं वाहुल्यता छ । दैनिक उपयोगका सामान किन्न भारत तर्फ जान्छन् । यहाँका अधिकांशको वुहारीहरु भारतीय चेली हुँदा रहेछन् । त्यसै गरी यता चेली पनि उता पक्कै गएका होलान् । हाम्रो तालिममा आएकाहरु धेरै जना भोजपुरी र हिन्दी बोल्ने थिए । यहाँको स्थानीय भाषा भोजपुरी हो भने वुहारीहरु भारतीय चेली भएकोले उनीहरुलाई हिन्दी भाषा सहज भएको देखिन्थ्यो । प्रतापपुर ७ नंं. सुर्यपुरामा हामीले तालिम सञ्चालन गरेका थियौं । त्यहाँबाट केही किलोमिटर यात्रामा भारत तर्फ पुगिन्छ । सिमानामा दुवै तिर पसल छन् रे । तर नेपाल तर्फ चाँही रक्सीको पसल धेरै छन् । स्थानीय वासिन्दाको प्रमुख पेशा कृषि नैं हो । कृषि उपज भारत तिर होइन नेपाल तिर नैं विक्रि गरिन्छ । उताबाट त किन्ने मात्र हो । नेपालबाट भारत तिर वेच्ने चाहि रक्सी मात्र हो ।
वन विना पनि जीवन चल्दो रहेछ । अन्तिम संस्कार गर्न चाँही के गर्नु हुन्छ नी ? मेरो प्रश्न थियो । सवै घरबाट केही न केही दाउरा लिएर घाट जाने गरिन्छ रे । त्यसैले राष्ट्रिय वन नभएको मात्र हो । रुखै नभएको चाँही होइन रहेछ हैं । प्रतापपुर गाउँपालिकाको प्रमुख उपप्रमुखसँग कुराकानी भए । हुलाकी सडक नबनेको अनशन चलिरहेको रहेछ । हरेक वडाका ५ जना जनप्रतिनिधिहरु मध्ये २ जना महिला अनिवार्य व्यवस्था छ । प्रायः सवै वडामा २ जना मात्रै महिला प्रतिनिधिहरु हुने गर्दछन् । तर यस गाउँपालिकाको वडा नं. ३ मा ३ जना महिलाहरुको प्रतिनिधित्व रहेको पाइयो ।
जल जंगल कार्यक्रमकोलागि जंगल नैं नभएको पालिका पहिलो पटक पुग्ने मौका मिल्यो । त्यहाँका साधान स्रोतको वारेमा समुदायसँग परामर्श गरियो । ती साधान स्रोतहरु मानव उपयोगी बनाउने बारेमा चर्चा भयो । यो खाल्को अन्तरक्रियात्मक छलफलले मेरो मानसिकतामा समेत केही फरक गरायो । खास गरी प्रत्यक्ष रुपमा वन नभए पनि ग्रामिण क्षेत्र चलाएमान हुन सक्छ भन्ने सुनेको थिएँ । आफ्नै आँखाले देख्नं पाइयो ।