कांग्रेस र एमाले सरकारले संविधान संशोधन गर्न सक्ला ?

राजनीति समाचार

रामचन्द्र बस्नेत
तत्कालीन अवस्थामा जनयुद्धको नाममा हत्या, हिंसा र सार्वजनिक सम्पत्ति नष्ट गर्दै आएको ओवादीले शान्तिवार्तामा आएपछि २०६४ सालको संविधानसभा निर्वाचनमा भाग लिएको थियो । सो संविधानसभा निर्वाचनमा माओवादीको गतिविधिले वाक्क, दिक्क भएका जनताले माओवादीलाई नै भोट दिएर सबैभन्दा ठूलो दल बनाइदिएका थिए । उक्त निर्वाचनलाई अन्य देशले शान्तिपूर्ण ढंगले सम्पन्न भएको भनेर स्वागत गरेका थिए । त्यही माओवादी अहिले तेस्रो शक्तिको रुपमा ढुलमुले नीति लिएर सत्ताको वरिपरि घुमिरहेको छ ।

२०४६ सालमा प्रजातन्त्र आएदेखि २०५८ सालसम्म एकछत्र सत्ताको बागडोर सम्हाल्दै आएको नेपाली कांग्रेस र नेकपा एमाले त्यही माओवादीलाई गोटी बनाएर सत्तामा जाने दाउपेच गरिरहेका थिए । त्यसको सिकार माओवादी पार्टी बन्दै गयो । अहिले आएर सत्ताको ढलीमली कांग्रेस र एमालेले गरिरहेका छन् । कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरेर थ्रेसहोल्ड लगाउने र अन्य साना दलहरुलाई फुटाएर तहसनहस बनाउने काम गरिरहेका छन् तर त्यो सम्भव देखिँदैन ।

नेपालको संविधान २०७२ मा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमानलाई अक्षुण राखी जनताको अधिकार, स्वायत्ताता, स्वशासनको अधिकारलाई आत्मसात गर्दै लोकतन्त्र र नेपाली जनताले पटक–पटक ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं सहिद, बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्ने भनेर जारी गरिएको थियो ।

त्योसँगै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक अवस्था, विविधतायुक्त विशेषतालाई आत्मसात गरी सामाजिक, सांस्कृतिक ऐकेवद्धता, सदभाव संरक्षण, वर्गी, क्षेत्रीय र भाषिक, धार्मिक, लैङ्गिक भेदभाव छुवाछुतको अन्त्य, आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नको लागि नेपालको संविधान २०७२ जारी भएको थियो ।

यी र यस्ता विषयलाई हेर्दा कांग्रेस र एमाले मिलेर बनेको सरकारले संविधान संशोधन गर्न सक्ने अवस्था देखिँदैन । अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको जति रटान दिएपनि अन्य दलहरुले साथ नदिएको खण्डमा संशोधन हुने सम्भावना छैन । संविधान संशोधन गर्दा कुन धारा र कुन ऐनलाई टेकेर गर्ने हो भन्ने एकिन खाका पनि छैन । संविधान संशोधन गर्न जुनसुकै धारा र ऐनलाई टेक्दा त्यो संविधान धरापमा पर्ने अवस्था छ । तर, कांग्रेस र एमालेले संविधान संशोधनको नाममा बखेडा झिकेर देशै अनिर्णयको बन्दी बनाउने हुन् कि भन्ने संशय पनि त्यत्तिकै उठ्न थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *