खुल्ला सीमानाको फाइदा उठाउँदै भन्सार र राजश्वका कर्मचारी

राजनीति समाचार

काठमाडौं । चाडपर्व नजिकिएसँगै नेपाल–भारतको सीमाक्षेत्रमा चोरीतस्करी गर्नेको धन्दा फस्टाउँदै आएको छ । सीमा क्षेत्रबाट व्यापारीहरुले लत्ताकपडादेखि विभिन्न खाद्य सामग्रीहरु भन्सार छली गरेर नेपाल भित्र्याउने गर्दछन् । राजश्व र भन्सार कार्यालयका कर्मचारी र प्रहरी प्रशासन तिनै व्यापारीहरुसँग मिलेमतो गरी असुलीधन्दा चलाइराखेका छन् । नेपाल–भारतबीचको खुला सिमानाका कारण पनि यस्तो धन्दा फस्टाउँदै आएको छ । सीमा सुरक्षाको व्यवस्थापनका लागि नेपाल प्रहरीले २०६४ भदौ ३१ गते सीमा सम्वेदनशीलतालाई तीन भागमा विभाजन गरेको थियो ।

सम्वेदनशील सीमाक्षेत्र भनेर पर्सादेखि सप्तरीसम्म ८ जिल्ला, कञ्चनपुरदेखि झापासम्म १२ जिल्ला र ताप्लेजुङदेखि दार्चुुलासम्म ६ जिल्ला रहेका छन् । नेपाल–भारतबीच सीमा वारपार गर्ने व्यक्तिले परिचयपत्र देखाउने, सीमानामा काँडेतार लगाउने त्यो पनि गर्न नसके सशस्त्र प्रहरी बलद्वारा सीमा सुरक्षा बलियो बनाउने भने तापनि अहिलेसम्म त्यो काम सकेको छैन । त्योसँगै चीनसँग सीमा जोडिएका जिल्लाहरुमा वैकल्पिक उपाय खोज्ने भनिएको थियो । तर, नेपालको राजनीतिक र आर्थिक अवस्थाका कारण नेपाल, भारत र चीनसँग जोडिएको सीमा व्यवस्थान गर्न सकेको अवस्था छैन । त्यस्तै नेपाल–भारतबीचमा सिसीटिभी राख्ने र यात्रुहरु कहाँ जान लागेको, कहाँसम्म जान्छन् भनेर गुप्तचर प्रहरीले यात्रुको हाउभाउ अवलोकन गर्ने भनिए तापनि त्यो सिमीत मात्रै भएको पाइन्छ । यस्ता कामहरु हुन नसकेपछि व्यापारी र विचौलियाहरुले सुरक्षा निकाय र कर्मचारीहरुको मिलेमतोमा नेपाल–भारत सीमाबाट राजश्व छली गरी अवैध सामान भित्र्याउने धन्दा फस्टाउँदै आएको छ ।

सीमा क्षेत्रबाट कमिसन खुवाएर भित्र्याइएका मालबहाक गाडीहरु दर्जनौं नाकाबाट काठमाडौं आइपुगेपछि राजश्व अनुसन्धान विभागले दिनदिनै पक्राउ गर्ने गरेको छ । विभिन्न भन्सार नाकाबाट छिरेका बालबहाक गाडीहरु काठमाडौं आइपुगेपछि मात्रै राजश्व अनुसन्धान विभागले पक्राउ गर्नुको कारण के ? यदि ती गाडीहरुले अवैध सामान चोरीतस्करी गरेर ल्याएका हुन् भने बीचबाटामा भएका राजश्व र भन्सार कार्यालयहरुले किन पक्राउ गर्न सक्दैनन् ? यदि काठमाडौं छिरेपछि मात्र राजश्व अनुसन्धान विभागले राजश्व छली भएको नभएको चेक जाँच गर्नुपर्ने हो भने सीमा नाकादेखि काठमाडौंसम्म विभिन्न ठाउँमा राजश्व र भन्सार कार्यालय राख्नुको अर्थ के ? ती कार्यालयमा कार्यरत कर्मचारी र सुरक्षा निकायले कस्तो अनुगमन गर्दछन् ।

देशैभरि रहेका भन्सार र राजश्व कार्यालहरुले राजश्व छली गर्ने व्यापारीहरुबाट कमिसन खाएर असुली धन्दामा चलाउने कि कडा चेकजाँच गरेर राजश्व असुली गर्ने ? सीमा नाकादेखि माथिको संरक्षणमा राजश्व छली गर्ने मालबहाक गाडीहरु बीचबीचमा कमिसन खाँदै काठमाडौं छिराइन्छ । काठमाडौं छिराएपछि भनेजति कमिसन नदिएको खण्डमा राजश्व अनुसन्धान विभागले हचुवाको भरमा समाउने र उनीहरुले दावी गरेअनुसारको कमिसन नदिएमा जरिवाना गरेर छाड्ने गरेको पीडित व्यापारीहरुको गुनासो छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *