खोटाङ्गे तीन कर्मचारीको कब्जामा भक्तपुर मालपोत, मन्त्री रमिते

राजनीति समाचार

काठमाडौं । सरकारले भनेजस्तो डेलीभरी दिन नसक्दा सर्वसाधारण जनतालाई बिहान, बेलुका हातमुख जोर्न समस्या परिरहेको बेलामा नेता, मन्त्री र कर्मचारीहरु भने भ्रष्टाचारमा लिप्त हुँदै गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफू प्रधानमन्त्री भएपछि कसैलाई भ्रष्टाचार गर्न नदिने र आफू पनि नगर्ने प्रतिवद्दता जनाएका थिए । तर, ओली नेतृत्वकै पार्टी एमालेबाट मन्त्री भएकाहरुको उठ्तीपुठ्ती र कर्मचारी सरुवा, बढुवामा खेलोफड्को हेर्दा एमालेबाट मन्त्री बनेकाहरु नै बढी भ्रष्टाचारमा मुछिने गरेका छन् । त्यसको उदाहरण बनेका छन्, भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी । अधिकारी मन्त्री बनिरहँदा मालपोत कार्यालय भक्तपुरमा खोटाङ्गे तीनभाइको रजगज चलिरहेको छ ।

भक्तपुर मालपोत प्रमुखमा कुमार आचार्य रहेका छन् । नासुमा यदु आचार्य र पर्वत भट्टराई हेका छन् । भक्तपुर मालपोत प्रमुख कुमार आचार्यले लुम्बिनी मालपोतमा कार्यरत हुँदा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल वरिपरिको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको थियो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का पर्वतराज कान्तको ४ बिघा, १६ कठ्ठा ७ धुर जग्गा भूमाफिया र विचौलियासँग मिलेर हिनामिना गरेको उजुरी अख्तियारहुँदै अदालतसम्म पुगेको थियो । सो मुद्दा झिसमिस बनाउनको लागि पैसा र पावरको प्रयोग गरिरहेका छन् । उनै आचार्य अहिले भक्तपुर मालपोत कार्यालयको प्रमुख बन्न पुगेका छन् । अर्का नासु छन् यदु आचार्य । यदु आचार्यले सूर्यबिनाएक नगरपालिका वडा नम्बर १५ मा रहेको हनुमन्ते खोलाको जग्गा भूमाफियासँग मिलेमतो गरी व्यक्तिको नाममा ल्याएको आरोप छ ।

यदु आचार्य विगत दुई वर्ष अगाडिदेखि मुद्दा फाँटको ‘क’ शाखामा कार्यरत छन् । उनी अन्यत्र सरुवा भए तापनि थमौतीमा पर्ने गर्दछन् । यदुले छालिङ, दधिकोट, बालकोट, ताथली, बागेश्वरी, नगरकोट, चागुँनारायण र सिपाटोडोल लगायतका क्षेत्रमा रहेको विवादित जग्गाको मुद्दा हेर्ने काम गर्दछन् । ती विवादित जग्गाको मुद्दा हेरेबापत यदु आचार्यले करोडौं कमाउँदै आएको स्रोतको दावी छ । आचार्यले कानुनबिपरीत सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी करोडौं उठाउने गरेको समाचार विभिन्न सञ्चारमाध्यममा आउने गरेका छन् । यदु आचार्यले २०५४ सालदेखि जागिरमा प्रवेश गरेका थिए । केही समय खोटाङ जिल्ला विकास समितिमा जागिर खाएपछि मालपोत कार्यालयतिर प्रवेश गरेका थिए ।

मालपोतमा प्रवेश गरेदेखि उनी अन्त्र सरुवा हुन चाहँदैनन् । दुई पटक मालपोत कार्यालय संखुवासभा, त्यसपछि सुनसरी मालपोतबाट सरुवा भएर भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, त्यहाँबाट जिल्ला विकास कार्यालय ललितपुर, त्यसपछि सप्तरी मालपोत कार्यालय हुँदै काठमाडौंको चाबहिल मालपोतमा आएका थिए । चाबहिल मालपोतमा कार्यरत रहँदा यदु आचार्यले करिव १५ करोड आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो । अहिले आचार्य सो मुद्दाको सामना गरिराखेका छन् । राष्ट्रिय सतर्कता केन्द्र र रामेछाप मालपोत कार्यालय हुँदै भक्तपुर मालपोत कार्यालय ३ वर्ष हाराहारी पुग्न लागेको छ । नासु आचार्यले जागिर खाएको २७ वर्षे अवधिमा बानेश्वरमा १८ आना जग्गामा आलिसान महल खडा गरेको स्रोतको भनाइ छ । अर्का खोटाङ्गे नासु छन् पर्वत भट्टराई ।

उनी ललितपुर मालपोतबाट केही महिना अगाडि मात्रै भक्तपुर मालपोत कार्यालयमा जान सफल भएका छन् । यस अघि भट्टराई यातायात कार्यालय, चाबहिल मालपोत कार्यालयमा र ललितपुर मालपोत कार्यलयमा कार्यरत थिए । भट्टराईमाथि मालपोत र यातायात कार्यालयमा बसेर ६ करोड माथि रकम असुलेको आरोप छ । पर्वत भट्टराई मीन भट्टराईका भाइ हुन् । मीन भट्टराईमाथि पनि यातायात हुँदै देशैभरिका मालपोत कार्यालयमा बसेर अकुत कमाएको आरोपमा अख्तियारमा मुद्दा परेका थियो । सो मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए । अख्तियारदेखि न्यायालयसम्म सेटिङ गरेपछि भट्टराई मुद्दा जित्न सफल भएका छन् । यस्ता भ्रष्ट चरित्रका कर्मचारीहरुलाई खोजीखोजी कारबाही गर्नुमा उल्टै उनीहरुबाटै मोटो रकम असुलेर मालदार ठाउँमा पठाइन्छ भने त्यस्ता कर्मचारीबाट जनताले के आशा गर्ने ? भक्तपुरमा खेतीयोग्य खाली जग्गा प्रशस्त हुने भएकाले भूमाफिया र विचौलियाले प्लटिङ गरी बेच्ने गरेका छन् ।

भूमाफियाहरुले व्यक्तिको जग्गा थोरै लिने अनि त्यस आसपासका सार्वजनिक जग्गा मिचेर क्षेत्रफल बढाई प्लटिङ गरेर मालपोतका कर्मचारीसँग मिलेमतो गरी घडेरीको रुपमा विक्रीवितरण गर्ने गरेका छन् । त्योसँगै कतिपय किसानहरुले खेती गरेका जग्गामा मोही र तलसिनबीचको झगडाले मालपोतका कर्मचारीहरु मालामाल हुने गरेका छन् । भक्तपुृरमा मोही र तलसिनबीच जग्गामा किचलो भइरहने भएकाले पनि मालपोतका कर्मचारीहरु भक्तपुर पुगेपछि अन्यत्र सरुवा हुन चाहँदैनन् । त्यसैको उदाहरण बनेका कुमार आचार्य, यदु आचार्य र पर्वत भट्टराई । चारैतिरबाट बद्नाम कर्मचारी प्रमुखदेखि नासुसम्मका कर्मचारीलाई मन्त्री अधिकारीले संरक्षण दिँदा सर्वसाधारण मारमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *