नेता र कर्मचारी दशैं मनाउन व्यस्त, बाढीपीडित अलपत्र

राजनीति समाचार

रामचन्द्र बस्नेत
तत्कालीन सरकारदेखि हालको सरकारले जोखिम व्यवस्थापनलाई ध्यान दिन सकेको छैन । देशमा बाढीपहिरो, सरुवा रोग, भूकम्प, आगलागी जस्ता भैपरी आउने विपदमा सरकार सम्बेदनशील नहुँदा सधैं ठूलो धनजनको क्षति हुने गरेको छ । तर, राजनीतिक दलहरु र त्यसबाट बनेका मन्त्रीहरुले त्यस्ता गम्भीर विषयमा ध्यान नदिँदा जनता सधैं आपविपदको सामना गर्न वाध्य भएका छन् । यस्ता समस्याहरु विगत लामो समयदेखि हुँदै आए तापनि राजनीतिक दलहरुले त्यसको उपाय र समाधान खोज्न सकेका छैनन् । खाली सत्तालिप्सा र कमाउधन्दामा लिप्त हुने गरेका छन् ।

तत्कालीन सरकारले भूकम्पदेखि कोरोनाको बेला सतर्कता नअपनाउँदा नेपालले धनजनको ठूलो क्षति बेहोर्नुपरेको थियो । २०७२ सालको भूम्पले क्षति पु¥याएको घर निर्माण गर्न खडा गरिएको पुननिर्माण प्राधिकरण निर्माण सम्पन्न नहुँदै बन्द भएको छ । सर्वसाधारणको घर निर्माण गर्नुभन्दा पनि पुननिर्माण प्राधिकरणमा कुन नेताको आफन्तलाई सिईओ बनाउने र कमाउने ध्याउन्नमा प्राधिकरण समाप्त भएको छ । गत बिहीवारदेखि परेको अविरल वर्षाले पु-याएको जनधनको क्षतिको अहिलेसम्म एकिन भइसकेको छैन । उक्त बाढीपहिरोमा कतिले ज्यान गुमाए, कतिको धन क्षति भयो भन्ने एकिन विवरण अहिलेसम्म आएको छैन । कतिपय गाउँनै पहिरोले बगाएका समाचारहरु आइरहेका छन् ।

पहिरो एकै घरको आठ जनाले ज्यान गुमाएका छन् । तर, सरकारमा बस्ने मन्त्री, मुख्यसचिव, सचिव र प्रहरी प्रशासनले अहिलेसम्म राहत र उद्दार दिनसकेको छैन । दशैंको मुखमा घरसम्पत्ति बाढीले बगाएपछि अलपत्र परेका सर्वसाधारण बिचल्लीमा परेका छन् । कतिपय परिवार गुमाएकाहरु शोकमा डुबिरहेका छन् । कतिपयले बाटोका कारण औषधि उपचार नपाएर छटपटाइरहेका छन् । टेलिफोन र बिजुलीका खम्बा ढलेर सूचना र उज्यालोबाट अधिकांश सर्वसाधारण बिखुम भइराखेका छन् ।

वर्षाले क्षति पुृ-याएका टेलिफोनका टावर र बिजुलीका खम्बहरु तुरुन्त मर्मत गर्नुपर्नेमा सम्बन्धित क्षेत्रका कर्मचारीहरु दशैं मनाउन व्यस्त हुन थालेका छन् । सरकारले ती निकायका कर्मचारीहरुलाई छिटो मर्मत सम्भार गर्न निर्देशन दिन सकेको छैन । कतिपय घरबारबिहीन भएकाहरुलाई गाँस, बास र कपासको समस्या त्यत्तिकै छ । तर, सरकारका मन्त्री र सम्बन्धित निकायका कर्मचारी बेखबर जस्तै बनेर दशैं मनाउनतिर व्यस्त हुन थालेका छन् । विभिन्न कार्यालय प्रमुखहरु नेता र मन्त्रीलाई खसी र मदिराको जोहो गर्न लागेका छन् । राजनीतिक दलका कार्यकर्ताहरु दशैं खर्च माग्न आ–आफ्ना पार्टी कार्यालय र नेताको घरदैलो चहार्न व्यस्त छन् । अनि कसरी हुन्छ बाढीपीडितको राहत र उद्दार !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *