ananta gurung

सहकारी पीडितका पीडाहरु

राजनीति लेख

सोभियत बस्नेत सञ्चालक रहेको ओरिण्टल सहकारीले पहिलो पटक धेरैलाई पीडित तुल्याएको थियो । सहकारीमा जम्मा भएको निक्षेपलाई सञ्चालक सोभियत बस्नेतले घर जग्गा खरिद गर्न र हाउसिङ अपार्टमेण्ट बनाउनमा लगानी गरेका थिए । साना ठुला सबै प्रकारको लगानी कर्ताहरुलाई बैंकहरु र वित्तिय संस्थाहरुले भन्दा धेरै व्याज दिने लोभमा पारी ओरिण्टल सहकारीमा निक्षेम जम्मा पारेका थिए । सुरु सुरुमा धेरै लगानी कर्ताहरुले सर्त अनुसारको व्याज पनि पाएका थिए तर बिस्तारै घरजग्गा र अपार्टमेण्ट बनाउने व्यवसाय संकटमा पर्दै गएपछि ओरिण्टल सहकारीले सर्त अनुसारको साँवा व्याज वा अपार्टमेण्ट उपलव्ध गराउन सकेन ।

फलस्वरुप सहकारी सञ्चालक सोभियत बस्नेत र निक्षेप लगानी कर्ताहरुका बिच टकराव र बिबाद बढेर आखिरमा सहकारी सञ्चालक सोभियत बस्नेत जेल जान बाध्य भए । कानुन अनुसार २ बर्ष लामो जेल सजाय पुरा गरी सञ्चालक सोभियत बस्नेत जेल बाहिर निस्केको भएता पनि लगानी कर्ताहरुको निक्षेपको साँवा व्याज फिर्ता दिन सक्ने हालतमा नभएकाले स्थिति झन गम्भिर बन्यो र आजका मिति सम्म पनि कसैले निक्षेप लगानीको साँवा व्याज फिर्ता पाउन सकेको छैन । तत्कालिन एमालेले नेतृत्व गरेको नेपाल सरकारले जाँचबुझ समिति बनाएर ओरिण्टल सहकारीको नाममा भएको जायजेथाहरु बिक्री गिरी पीडितलाई राहत दिने व्यवस्था गरिएको भएता पनि अझ सम्म पनि ठोश समाधान निकाल्न सकिएको छैन । ओरिण्टल सहकारीबाट ठगिएका नेपाली जनताहरु निसाफको लागि सडकमा भौतारी रहेका नै छन ।

ओरिण्टल सहकारी ठगी काण्ड पछाडिको अर्को ठुलो सहकारी ठगी काण्ड भनेको सिभिल सहकारी ठगी काण्ड नै हो । यसमा एमाले कै पूर्व साँसद ईच्छाराज तामाङको प्रत्येक्ष संलग्नता रहेको देखिन्छ । पेशाले सिभिल इन्जिनियर भएका ईच्छाराज तामाङ नै सञ्चालक रहेको सिभिल सहकारीले लगभग ८ अर्बको निक्षेप अपचलन गरेकाछन । उहाँले पनि ओरिण्टल सहकारीले जस्तै सिभिल हाउसिङ र अपार्टमेण्ट नामको संस्था खोली निर्माण व्यवसाय चलाएका थिए । साथै उहाँले सिभिल बैंक समेत खोलेर चलाएका छन जसले गर्दा उहाँको सहकारी ठगी धन्दालाई झनै सहुलियत पुग्यो । नेपालमा सहकारीको काम भनेको बैंकहरुबाट सहुलियत व्याज दरमा ऋण लिएर त्यसलाई महंगो व्याजदरमा ऋण दिने नै थियो ।

तर कोरना कालको मन्दीमा बैंकहरुले पनि आफ्नो ब्याज दर बढाउँदा नाफा कमाउनको लागि बैंक व्याजदरमा मार्जिन समाप्त हुँदा धेरै सहकारीहरुको उच्च व्याजदरमा लगानी गर्ने धन्दा ट्याप्पै सुक्यो । आपसमा अन्तर सम्बन्ध गाँसेर गैरकानुनी धन्दा चलाईरहेको ईच्छाराजको सिभिल समूह पनि समस्या ग्रस्त हुन पुग्यो । अहिले नेपाली जनताको निक्षेपको साँवा व्याज वापस गर्न नसक्दा एमालेका पूर्व साँसद ईच्छाराज तामाङ आफै जेलमा परेका छन भने उहाँको सिभिल सहकारीमा निक्षेप राखेकाहरुले अझै निसाफ पाउन सकीरहेको छैन । सभिल बैंकलाई राष्ट्र बैंकले हस्तक्षेप गरी जोगाएका छन भने सिभिल सहकारी भने डुबेको छ । त्यो ठगी काण्डमा संलग्न ईच्छाराजका परिवारजन र नातेदारहरुले पनि जेल सजाय पाएर भुक्तान गरीरहेका छन ।

एमालेको नेतृत्वमा नेपाल सरकार हुँदा ल्याएको तीन खम्बे अर्थनीति कै कारण मुलुकमा यस्ता ठगी काण्डहरु बढेकाछन । साथै यस्ता ठगी काण्डहरु मुलुकको नाजुक अर्थतन्त्रले धान्नै नसक्ने गरी दिनमा गुणा रातमा चौगुणाको हिसाबले बढीरहेकाछन । वर्तमान ओली सरकार सत्तामा आएपछि सहकारी काण्डहरुको समाधान निकाल्ने भन्दा पनि त्यसलाई प्रयोग गरी राजनीतिक प्रतिसोध साँध्ने कार्यबाहीहरु अगाडि बढाएका छन । ग्यालेक्सी टिभीको संस्थापक सञ्चालक जिबी राई बिभिन्न सहकारीहरुको निक्षेपहरु ठुलो मात्रामा ग्यालेक्सी टिभीको नाममा ऋण लिएर डुबाएर टाप कसेपछि त्यसमा सिईओ भएर साँढे ५ महिना जागिर खाएका पूर्व गृह्यमंत्री रबि लामिछानेलाई पक्राउ गरी कार्यबाही चलाएका छन ।

उहाँ माथि संगठित सहकारी भ्रष्टाचार गरेको आरोप ओली सरकारले लगाएको छ । यहि कारणले गर्दा अहिले नेपाल भरी तनावै तनाव फैलिएको छ भने खासगरी पूर्व गृह्यमंत्री राबि लामिछानेलाई पक्राउ गरी कानुनी कार्यबाही चलाउनको लागि पुर्याएको सहर पोखरामा फैलिएको तनाव थेगीनसक्नु भएकोछ । कास्की जिल्ला प्रशासन कार्यलयलाई राजनीतिक बिरोध जुलुशहरुको व्यवस्थापन गर्न गराउनको लागि निःषेध आज्ञा नै जारी गर्नु परेकोछ । यहि बेलामा सत्तामा कुण्डली मारी बसेको एमालेहरुले खासगरी एमाले शीर्ष नेता ओलीले भ्रष्ट अपराधी व्यापारी भाटभटेनीका साहु मीन बहादुर गुरुङ्ग सित ११ रोपनी किर्तीपुरको जग्गा दानमा लिएर तहल्का मचाएकाछन । ललितानिवास बालुवाटारको सरकारी जग्गा अपचलन गरी भ्रष्टाचार गरेको आरोपमा बिशेष अदालतबाट सजाय पाईसकेका र किर्ते गरी सरकारी जग्गा अपचलन गरेको मुद्दा अदालतमा बिचाराधिन रहेको व्यक्ती भाटभटेनीको साहु मीन बहादुर गुरुङ्ग सित अर्बको दान लिने एमाले शीर्ष नेता ओलीलाई नेपाली जनताले महाभ्रष्टचारीको पगरी गुथाईदिएकाछन ।

यो भन्दा पहिले नै उहाँलाई नेपाली जनताले दिएको भष्मासुरको मान सम्मान पदवी उहाँ सित नै सुरक्षित रहेको छ । नेपाली जनताले शीर्ष नेता ओलीको एक भ्रष्ट व्यापारी सित दान लिने कामलाई घोर आलोचना गरिरहेका छन तैपनि उहाँले आफु सच्चिने भन्दा पनि बिरोध गर्नेहरुलाई सवक सिकाउने हिसाबले आफ्नो बाँगो चोर औंला ठड्याएर तर्साउन खोजेकाछन । अहिले चलेको संघियता र गणतन्त्रबाटै मुलुकको दुरावश्था सुधार्छौ बदल्छौ भनी नेपालको राजनीतिक मुलधारमा समाहित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका ठेट्नाहरुलाई नै भ्रष्टाचारको आरोपमा जेल हाल्ने कसरत ओली सरकारले थाले पछि ठेट्नाहरु आँत्तिएर आन्दोलन सुरु गरेकाछन । सरकारमा जान हतारो गरेको हुनाले पनि नेपाली जनताको नजरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु केही हद सम्म तल गिरिसकेका छन ।

अब पनि उहाँहरुले आफुलाई सम्हाल्न सकेन र धर्यता देखाउन सकेन भने एमाले शीर्ष नेता ओलीको कोपभोजनमा सजिलै सित पर्नेछन । उहाँले आफ्नै समकालिन एमाले नेताहरुको नै बिजोग तुल्याएका छन भने रास्वपाका नेताहरु प्रति उहाँको किञ्चित पनि सहानुभूति देखाउने छैनन् । उहाँलाई नेपाली जनताले त्यसै भष्मासुरको पदवी चढाएको छैन । वास्तवमा नै उहाँ सोपदको लागि अन्य दलका शीर्ष नेताहरु भन्दा धेरै धेरै गुणाले योग्य छन । महाभ्रष्टाचारी र भष्मासुर दुबै पदवी उहाँ सित सुरक्षित छन र दुरदुर सम्म पनि उहाँलाई चुनौती दिन सक्ने कोही माईकालाल नेपालमा पैदा अहिले सम्म भएको देखिन्न । यतिबेला रास्वपा ठेट्नाहरु आफ्ना नेता रबि लामिछानेलाई जेलबाट निकाल्नको लागि व्यस्त छन भने एमाले शीर्ष नेता ओली आफ्नो राजनीतिक अलराउण्डरको भूमिकामा राबि लामिछानेलाई जसरी पनि नउम्काउने पक्षमा छन । यो काण्डले ओली सरकारको जग भने नराम्रो सित हल्लिएको छ ।

शीर्ष नेता ओलीको गुमीसकेको राजनीतिक बिरासत दिलाउने राजनीतिक शक्ति भनेको नेपाली काँग्रेस नै हो । यदि नेपाली काँग्रेसको नेतृत्वले फुगर्यो भने एमाले शीर्ष नेता ओलीको राजनीतिक बिरासत क्षणमा नै समाप्त हुन्छ । सहकारीका भ्रष्टाचारीहरु सत्तामा भएका राजनीतिक दलहरु एमाले र नेपाली काँग्रेस भित्रै छन । त्यस्ता सहकारीका भ्रष्टाचारीहरुलाई अन्य राजनीतिक दलहरु भित्र खोजेर कहिले पनि पाईन्न । माओवादी र रास्वपा दलहरुको लागि भ्रष्टाचारीको गुरु भने को एमाले र नेपाली काँग्रेस दलहरु नै हुन । उक्त दलहरुको नेताहरुबाटै माओवादी, रास्वपा र अन्य दलका नेताहरुले भ्रष्टाचार लगायतको अपराधहरु गर्न दिक्षा लिएका हुन । “ संगते जायते फलम “ भनिन्छ त्यसैले नेपाल सरकारमा बस्दा कहिले एमाले र कहिले नेपाली काँग्रेस दलका नेताहरुको संगतले माओवादी, रास्वपा र अन्य दलका नेताहरुले आआफ्नो पार्टीको शिद्धान्तहरु नै भुलेको हुँदा भ्रष्टाचारमा रमाउन थालेको हो जस्तो महसुस हुन्छ । दलहरुले नेपालमा यति धेरै बिसंगतिहरु ल्याएका छन कि जोकोहीलाई पनि त्यसको समाधान खोज्न वा निकाल्न त्यति सहज र सरल छैन । नेपालमा दलहरुले कानुनी राजलाई स्वतन्त्र रुपले चल्न चलाउन दिएको छैन ।

उदारवादी स्वतन्त्र बजार अर्थतन्त्रलाई दलहरुले स्वतन्त्र हुनै दिएको छैन । बिचबिचमा हस्तक्षेपकारी नियम र नियमावलीहरु ल्याएर बजारको स्वतन्त्रा खतम पारी व्यापारीहरु र व्यवसायीहरुलाई फाईदै फाईदा पुर्याउने काम गर्दछन । नेपाल राष्ट्र र नेपाली जनताको हित नहेरी व्यापारीहरु र व्यवसायीहरुले दिएको लोभ वा दबाबमा परी नियमावलीहरु क्षणक्षण संसोधन गरी हाल्छन । दलहरुको यस्तो वेढंगी कारनामाले गर्दा नै आधुनिक नेपाल बिसंगति बिकृतिको चपेटमा पर्दै गएको हो । दलको राजनीतिक नेतृत्व र व्यापारी व्यावसयीहरुको बिचको साँठगाँठले गर्दा नेपाल बिकासको चक्रमा होइन बिनासको चक्रमा प्रवेश गरेको छ । एमाले शीर्ष नेता ओली र भाटभटेनीका साहु व्यापारी मीन बहादुर गुरङ्गका बिचमा भएको ११ रोपनी जग्गा दान भनिएको लेनदेन पनि नेपालमा दलहरुले फैलाएको बिसंगति कै नराम्रो परिणाम हो । हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको जस्तो एमाले शीर्ष नेता ओली नाङ्गेझार भएर पनि लाज पचाएर बसेकाछन ।

उल्टै सत्यकुरा बोल्ने एमाले कै अन्य कमजोर नेताहरुलाई अनुशासनको कार्यबाही गर्ने त्रास देखाएका छन । यस्तो माहोलमा सहकारीका पीडितहरुले उचित न्याय निसाफ पाउने संभावना छैन । सहकारी पीडितहरुले सडक तताएर सडकको धुलो खानु मात्रै हो वास्तविक फल खानेहरु अन्तिम दलकै नेताहरु मात्रै हुनेछन । आफ्ना सत्ता गठबन्धन दलहरु भित्र सहकारीका पीडकहरुलाई संरक्षण गरी राखेर बहिर पीडकहरु खोज्नु नौटंकी मात्रै हो । यो राजनीतिक व्यवस्था कायम रहेसम्म नेपाली जनताले यसरी नै पीडा भोग्दै सहेर नै बस्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *