यस पालाको दशैं यस्तै भयो

राजनीति लेख

नेपालीहरु अधिकांशले असाध्यै धेरै महत्व दिने चाड हरेक बर्ष झै यसपाला पनि आयो । गयो । यस चाडलाई दशैं मात्र भनिन्न बडा दशैं भन्ने चलन छ । घटस्थापनाको औंसी देखि कोजाग्रत पुर्णिमासम्मको १५ दिनको प्याकेजलाई दशैं भनिन्छ । कसै कसैले दशैं भनेको बिजया दशमी मात्र भन्ने गरेको सुनिन्छ । तर दशमीको दिनलाई मात्र दशैं मान्न सकिन्न । १५ दिनको अवधी नैं दशैंको प्याकेज भएता पनि फुलपाती देखि टिकाको दिनलाई विशेष मानिन्छ । त्यसैले अष्टमी, नवमी तिथीको अगाडी ‘महा’ भन्ने गरिन्छ । नेपालीहरुले यस चाडलाई असाध्यै धेरै महत्व दिएको पाइन्छ ।

सवैको चाड दशैं
दशैं मनाउने तौरतरिका फरक फरक होला तर सबै नेपालीले मनाउने चाडको पहिचान पाएको पाएको छ । यो पर्वलाई राज्यले निकै महत्व दिएको छ । राज्यले फूलपाती दिन देखि टिका लगाउने दिनको पर्सी पल्टसम्म विदा दिने गर्दछ । यती लामो सरकारी विदा अरु कुनै बेला हुने गर्दैन । अदालत अन्तरगतका संरचनाहरु त घटस्थापना देखि नैं विदा हुने चलन चलेको छ । अधिकांश विद्यालयहरु त दशैंको घटस्थापना देखि तिहार अनी छठ पछि मात्र खुल्ने गर्दछन् । दशैंको अवसर पारेर जागिरेहरुलाइ चाडवाड खर्च थप एक महिनाको तलब समेत उपलव्ध गराउने चलन छ । यी सवै कारणले दशैलाई सवै तिरबाट महत्वको साथ हेरिएको छ । यसैले यो चाड सवैको साझा रुपमा हेर्ने र मान्ने गरेको पाइन्छ ।

सकसपूर्ण यात्रा
हरेक वर्ष दशैंमा सकसपूर्ण नैं यात्रा हुने गर्दछ । यात्रुको तुलनामा सार्वजनिक यातायात कम हुने गर्दछन् । यस बर्षको दशैंको अवसरमा ३१ हजार भन्दा वढि सार्वजनिक सवारी साधानले काठमाडौं वाहिर मानिसहरु पु¥याए । दशैंको मुखमा १५ लाखको हाराहारीका मानिसहरु सङ्घीय राजधानीवाट वाहिर निस्के भन्ने अनुमान छ । तथापी विगतको तुलनामा काठमाडौं पनि सुनसान भएन । अशोज ११, १२ को भारी वर्षाले तहसनहस पारेको थियो । त्यस कारण पनि केही मानिसहरु काठमाडौंमा अडिए । काठमाडौं वाहिर जाने मूख्य सडक विपि हाइवे ठप्प नैं थियो । हेटौडा निस्कने केही सडकहरु पनि सुचारु हुन सकेनन् । अरनीको राजमार्ग पनि मुस्किलले चलेको थियो ।

काठमाडौंबाट चरिकोट जाँदा ससाना गाडीहरु धुलिखेल तर्फवाट चलेको थिएनन् । भक्तपुरको सल्लाघारी हुँदै नगरकोट तिर लाग्ने गर्दथ्ये । अनी काभ्रेको कुन्तावेशी हुँदै जिरो किलोमा पुगेर नियमित सडक हुँदै दोलालघाट तिर लाग्ने गर्दथ्ये । ठुला सवारी साधानहरु भने धुलिखेल हुँदै जाने गर्दथ्ये । काठमाडौंबाट चरिकोटसम्म जाँदा सवै भन्दा विग्रेको सडक खण्ड भने जिरो किलो देखि दोलालघाटसम्म देखिन्थ्यो । यहाँ सडकको भित्तो नखसेको कुनै ठाउँ थिएन । धन्न नदीले सडक तानेको थिएन । त्यही भएर सडकमा झरेको माटो डोजरले पन्छाउँदै सवारी साधानहरु चलेका । पानी परेको खण्डमा माटो बग्ने संभावना अधिक हुन्थ्यो । डराउँदै डराउँदै यात्रा गर्नुको विकल्प थिएन ।

गाडीको लर्को
विगतको तुलनामा यस पटकको दशैमा अरनीको र पुष्पलाल राजमार्गले इतिहासमैं नभोगिएको सवारी साधानको भार थेग्नु प¥यो । दैनिक २ सय हाराहारीमा सवारी साधान चल्ने खाडिचौर देखि मुडे चरिकोटको सडकमा दैनिक १ हजार वटा भन्दा वढि गाडीहरु दौडिए । सवारी साधानहरुको लर्को थियो । पैदल यात्रीलाई सडक पार गर्न केही मिनेट पर्खनु पर्ने नैं अवस्था आयो । दशैंको अवधीमा दैनिक जसो सवारी साधान दुर्घटना समेत हुन पुग्यो । केहीको ज्यान समेत गुम्यो कतिपयको अङ्गभङ्ग समेत भयो । चरिकोट हुँदै रामेछाप, ओखलढुँगा, सोलुखुम्वु र खोटाङ्ग गन्तव्य भएका गाडीहरु यहि सडक हुँदै गएका थिए । चरिकोट बजारमा सवारी साधानको घुईचो देखिन्थ्यो । वजार आसपासमा खाना खाने होटलहरुको चल्तीफिर्ति थियो ।

व्यबसायमा चल्तीफिर्ति
अरनीको र पुष्पलाल राजमार्गका आसपास रहेका गाडीका चार्जिङ्ग स्टेशनहरुमा रातभर पनि चलिरहे । पेट्रोलपम्पहरुमा तेल पाउन नसकिने अवस्था समेत आयो । अरु बेलामा २,४ हजार बल्लतल्ल व्यापार गर्ने साना होटल व्यवसायीहरुले दैनिक व्यापार लाख नघाए । खुर्कोट तिरका व्यवसायी चरिकोट आसपास आई अल्पकालिन रुपमा खाना होटलहरु समेत सञ्चालन गरेको पाइयो । यसले यहाँको स्थानीय अर्थतन्त्र केही चलाएमान पक्कै भयो तर विपी राजमार्गको व्यवसाय चौपट भयो नैं । त्यताको सडक पहिलाको जस्तै अवस्था हुन अझै धेरै समय लाग्ने देखिन्छ ।

प्रकृती विपत्ले जती पिडा दिए पनि बर्ष दिन आउने चाडवाड मनाउनु पर्ने नैं थियो । दशैं पारिवारीक मिलनको समारोह हो । शहर बजारमा जन्मेका हुर्केकाहरुले ग्रामिण वातावरणमा रम्ने शिक्षा लिने अवसर पनि थियो । प्रायः सवै तिर लिङ्गे पिङ्ग हालिएको थियो तर लोटे पिङ्ग भने नामोनिसाना देखिएन । लोटेपिङ्ग वनाउने सिप अब हराएर जाने भयो । लिङ्गे पिङ्गको पनि वावियो काट्ने वा घर घरबाट उठाउने, लठारो बाट्ने चलन पनि हरायो । लठारो त वजारको पसलमा पाइने भयो । धन्न अहिलेसम्म लिङ्गोकोलागि वाँस काट्ने चलन चाँही वाँचेको छ ।

दशैंको दशमीको दिनमा मान्यजनबाट टिका लगाउने आर्शिवाद लिने दिने चलन छ । त्यो अहिलेसम्म कायम छ । यो दशैंको सबै भन्दा सुन्दर पक्ष हो । हरेकको निधारमा टिका हुने जमरा लगाउने गरी सामुहिक तस्वीर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन्यो । यी सवै हेर्दा दशैं पर्व हिन्दु मात्रैको चाड भएन । सवै धर्म मान्नेहरुको साझा रुपमा मनाए ।

नेपालीको मौलिक चाड बडा दशैंमा केही विकृत रुपहरु पनि देखिँदैछन् । खास गरी दशैको वाहानमा काम पछि सार्ने चलनले संस्थागत पाएको छ । दशैंलाई अति महत्व दिँदा कमजोर आर्थिक अवस्था भएकालाई असर परेको पनि हुनसक्छ । कतिपयलाई बर्ष दिन भरीको कमाइ दशैंमा खर्च गर्नु पर्ने वाध्यता पनि हुनसक्छ । अझ ऋण गरेर दशैं मान्नु पर्ने अबस्था पनि देखिएको छ । त्यसैले नेपालीहरुको उच्चतम् मौलिक संस्कृती बडादशैंलाई सहज रुपमा लिनु र मनाउनु आवश्यक छ । दशैं आउँछ जान्छ । हाम्रा अग्रजहरुले भन्ने गर्दथ्ये ‘दशैं आयो ढोल बजाइ दशैं गयो ऋण बोकाई’ त्यसतो चाँही हुनु हुन्न दशैं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *