माफिया र बिचौलियाको मतियार बन्दै सरकार

राजनीति समाचार

सर्वसाधारण जनताले दैनिक जीवनयापन गर्न अहिले कठिनाईपूर्ण भएको छ । सामान्य आम्दानीले घर खर्च धान्न पनि मुस्किल परेको अवस्था छ । त्यसैमाथि, विभिन्न प्रकोप, चाडपर्वलगायतका विविधि पक्षहरुले घच्घचाइरहेको हुन्छ । यस्तो अवस्थामा पनि जनताले राज्यको कर्तव्यको अनुभूति गर्न सकेका छैनन् । सरकारकै अक्षमताका कारण जनता महंगी र कालोबजारीको चपेटामा परेका छन् । मुलुकमा आफ्नो उत्पादन छैन । आयातित वस्तुहरुमाथि बिचौलियाहरुले मोलतोल गरेर महंगी सिर्जना गरेका छन् । चाडपर्वको समयमा चामल, तेल, चिनीको कृत्रिम अभाव सिर्जना गरिएको छ । यसरी अभाव सिर्जना गरेर महंगी बढाउने तारतम्य पनि हुँदै आएको छ ।

भर्खरै नेपालीहरुको महान चाड दशैं सकिएको छ । जेनतेन नेपाली जनताले दशैंलाई बिदा गरेका छन् र अर्काे प्रमुख चाड तिहार नजिकिँदै गरेको छ । नेपालीहरुको आस्था मानिएका यी पर्वहरुको समयमा बिचौलियाकरण गरेर उपभोग्य वस्तुमाथि महंगी सिर्जना गरिन्छ । तिहारमा आवश्यक पर्ने बत्ति, भाइमसाला इत्यादीको मूल्य महंगिएको छ । अधिकाशं भाइमसाला म्याद गुज्रेको बिक्री गरिन्छ । कर्मचारीहरुले अनुगमनलाई आफ्नो आम्दानी गर्ने अवसरका रुपमा परिणत गरेका छन् । सरकारसँग अनुगमन गर्नका लागि जनशक्ति पनि अभाव हुने गरेको छ । उपभोक्ता अधिकार व्यापारी÷व्यवसायी वर्गले सँधै मिच्दै आएका पनि छन् ।

जनताको समस्यामा सरकारको प्रत्यक्ष सहभागी हुनुपर्दछ । तर सरकारले उल्टै जनतालाई नै दुख दिने गरेको पाइन्छ । ठूला व्यापारी तथा बिचौलियासँगको साँठगाँठमा बजार ध्वस्त बनाउन काम सरकारले नै गरेको छ । यस्ता व्यापारी तथा बिचौलिया राजनीतिक दल निकट र सरकारमा रहेकाहरुको आफन्तहरु नै हुने गरेका छन् । चाडपर्वको समयमा महंगी गर्ने, कालोबजारी गर्नेजस्ता कामबाट जनतालाई मुक्त बनाउनु सरकारको अहिलेको प्रमुख दायित्व हो । तर सरकार मूकदर्शक बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *