काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले उपत्यकाभित्र खानेपानी उपलब्ध गराए तापनि आमउपभोक्ताले निजी रुपमा सञ्चालित कम्पनीबाट विक्रवितरण गरिने जारको पानी किनेर खान छाडेका छैनन् । जुनसुकै पार्टीका नेता खानेपानी तथा सरसफाइमन्त्री बने तापनि मेलम्चीको पानी जारकोभन्दा खान योग्य छ भनेर सर्वसाधारणमाझ जनचेतना जगाउन सकेका छैनन् ।
विभिन्न नाममा खोलिएका पानी कम्पनीहरुले सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरुलाई कमिसन दिई प्रभावमा पारेर आमउपभोक्तालाई जारको पानी किनेर खान वाध्य बनाइएका छन् । ती पानी कम्पनीले बिक्रीवितरण गर्ने जारको पानीभन्दा मेलम्चीबाट ल्याइएको पानी सुद्ध र खानयोग्य देखिन्छ ।
त्यसप्रति खानेपानी मन्त्रालयले जनचेतना जगाउनुपर्नेमा त्यो गरिएको पाइँदैन । पानी कम्पनीहरुले जारमा बिक्रीवितरण गर्ने पानी कहाँबाट ल्याउँछन् र कुन प्रविधिबाट प्रशोधन गर्दछन् भन्नेबारे खानेपानी मन्त्रालय र सम्बन्धित निकायले छानविन र अनुगमन गरेको पाइँदैन । बरु उल्टै तिनै निजी रुपमा सञ्चालित पानी कम्पनीहरुसँग मिलेमतो गरेर कमिसन खाने काम गर्दछन्।
यदि मेलम्चीबाट ल्याइएको पानी आमउपभोक्ताले पिउने हुन् भने महिनामा करोडौं कमाउने पानी कम्पनी र सरकारी कार्यालय, संघसंस्था एवं अफिसहरुमा पिउने पानीमा हुने गरेको करोडौंको भ्रष्टाचार बन्द हुने थियो । पानी कम्पनी सञ्चालक र सम्बन्धित मन्त्रालयका मन्त्री एवं कर्मचारीको मिलेमतोमा जारको पानी विक्रीवितरण फस्टाउने गरेको छ । तर, जारको पानी मेलम्चीको धारामा आउने पानीभन्दा निकम्मा छ । मेलम्चीबाट ल्याइएको पानी पनि खानयोग्य छ कि छैन भनेर सम्बन्धित निकायले परीक्षण गरेको पाइँदैन ।
मेलम्चीको पानी पिउन योग्य छ भनेर सर्वसाधारणमा विश्वास दिलाउन नसक्दा उपभोक्ता जारको पानी खान वाध्य छन् । जारको पानीमा पनि विभिन्न फोहोर मिसावट, लेदो, गेगर, लेउ, कपाल र किराहरुसमेत हुने गरेको पाइन्छ । उता, पानी विक्रीवितरणको लागि बजारमा पठाइने जार र साना बोतल पनि राम्रोसँग सरसफाइ गरेको पाइँदैन । पानी प्रशोधन गर्ने ठाउँ पनि फोहोर, दूर्गन्धित र लामखुट्टेका लार्भा उत्पादन हुने थलो बनेको छ ।
उपत्यकाभित्र सञ्चालित पानी कम्पनीहरु आसपासमा पानी जम्ने, खाल्डाखुल्डीमा पानी जम्मा हुने, प्रशोधन स्थलमा अत्याधिक फोहोर हुने कारणले गर्दा अहिले महामारीको रुपमा डेंगी रोग फैलिएको छ । त्यसको रोकथाम र सरसफाइप्रति खानेपानीमन्त्री प्रदीप यादवले चासो देखाएका छैनन् । मन्त्री यादव भने कर्मचारी सरुवा, बढुवा गर्ने, करारमा कर्मचारी भर्ना गर्ने र विभिन्न विभागहरुमा महानिर्देशक परिवर्तन गरी कमिसन खान व्यस्त छन् ।
पानी कम्पनीहरुले जार र बोतलमा विक्रीवितरण गर्ने पानीको मूल्य पनि सञ्चालकहरुले आफूखुसी मनोमानी ढंगले राखेर उपभोक्ता ठगिरहेका छन् । मानिसको जीवनसँग जोडिएको पिउने पानीजस्तो सम्बेदनशील विषयमा खानेपानी तथा सरसफाइमन्त्री, सम्बन्धित विभागका कर्मचारी, खाद्य तथा गुणनियन्त्रण विभाग, उद्योग मन्त्रालय, उपभोक्ता मञ्च जस्ता निकायहरु मुकदर्शक बनेर बसेका छन् ।