काठमाडौं । लेखेर पत्रकारिता गर्ने र अर्काले लेखेको बोलेर पत्रकारिता गर्ने बिचको झगडाले मंसिर २८ को निर्वाचन अन्यौल छ । कात्तिक भित्र विवादित सदस्यता टुंगोमा पु-याउने भनिए पनि महासंघको नेतृत्व चौतारी र युनियनबाट बन्धक भएको छ । लडाइँ सदस्यतामा विवादमा छ । गैरपत्रकार २४५४ लाई सदस्यता स्वीकृत नगर्दा विपुल पोखरेलले पद त्याग गर्नुप-यो ।
कार्यबाहेक अध्यक्ष बनेका वरिष्ठ उपाध्यक्षको हालत त्यही भयो । अहिले प्रेस युनियन र चौतारीको पदीय लडाइँ छ । सरकार जोसँग गठबन्धन भयो, त्यहीसँग पत्रकार महासंघमा गठबन्धन गर्ने गलत प्रवृत्ति हावी हुँदा यो स्थिति आएको हो । पत्रकारहरुको साझा संगठनमा दलीय प्रभाव भएको कारण एकले अर्काेप्रत विश्वास नगर्ने चलन बढेको छ । पत्रकारिता गर्ने ओझेलमा पर्ने, चरित्र हत्या गर्नेले बाइबाई पाउने संस्कृति नै अहिले बाधक बन्दैछ । साझा संस्थालाई विश्वास नगर्दा दलीय रन्कोले ठाउँ पाउँछ । यसपटक चौतारी र युनियनको लडाइँ नै महासंघ डुबाउने अस्त्र बनेको हो ।
महासंघ सुत्रकाअनुसार कात्तिक भित्र सदस्यता विवाद समाधान गरी निर्वाचत समितिलाई मतदाता नामावली दिनेगरी सहमति गरेका प्रेस युनियन र प्रेस चौतारीले नै चासो दिएका छैनन् । सरकारका सहयात्री दलकै पत्रकार कार्यकर्ताको यो रुपले मंसिर २८ मा पनि चुनाव हुने लक्षण छैन । प्रेस युनियनले एक्लौटी रुपमा २४५४ जना गैरपत्रकारहरुलाई सदस्यता दिलाउन खोज्दा यो लडाइँ चर्केको छ ।