काठमाडौं । तामाकोशी सन्देश साप्ताहिक र तामाकोशी अनलाइन पोर्टलले विभिन्न सरकारी कार्यालय, गैरसरकारी संघसंस्था र कर्मचारीहरुबाट हुने गरेका भ्रष्टाचार, विकृति र विसंगती विरुद्धको खोजी समाचार लामो समयदेखि प्रकाशित गर्दै आएको छ ।
तामाकोशी सन्देशले भ्रष्टाचारविरुद्ध खोजी समाचार प्रकाशित गर्दा सरकारी कर्मचारी र विभिन्न व्यक्तिहरुले पत्रकारहरुको नियमक निकाय प्रेस काउन्सिल नेपालका अध्यक्ष र कर्मचारीहरुलाई फोन गर्न लगाउने, प्रकाशित गरिएको समाचार अनलाइन पोर्टलबाट हटाउन दबाब दिने र विभिन्न निकायका व्यक्तिले सम्पादकलाई फोन गर्ने, धम्क्याउने काम गर्दै आएका थिए । प्रेस काउन्सिलका अध्यक्ष र कर्मचारीहरुले पनि प्रकाशित समाचारको विषयलाई लिएर सम्पादकलाई फोन नगरेका होइनन् । त्यसको गतिलो उदाहरण बनेको छ, तामाकोशी सन्देशले २०८१ कात्तिक १४ गते ‘भूमिमा मनोज अधिकारी, दीपक मलहोत्रा र कालु गुरुङको सेटिङ, विचौलिया खड्काको डिजाइनमा मन्त्री अधिकारी’ शीर्षकको समाचार प्रकाशित गरेको थियो ।
तामाकोशी सन्देशले भूमिमा भएको अनियमितताको समाचार प्रकाशित गरेपछि अन्य साप्ताहिक पत्रपत्रिका र अनलाइन पोर्टलहरुले समाचार सम्प्रेषण गरेका थिए । तामाकोशी सन्देशसँगै अन्य सञ्चारमाध्यमहरुले पनि समाचार सम्प्रेषण गरेपछि भूमिको समाचार कहाँबाट कसरी बाहिरियो भनेर मन्त्रालयमा हल्लीखल्ली मच्चिएको थियो । हल्लीखल्लीसँगै सो प्रकाशित समाचार कसरी बाहिर गयो भनेर पत्तालगाउन मन्त्रालयले जासुसी पनि ग¥यो । मन्त्रालयले नै जासुसी गर्दा पनि समाचार बाहिर ल्याउने स्रोत पत्ता लगाउन नसकेर रन्थनिएका व्यक्तिहरुले गत कात्तिक २७ गते ५ बजेर ४६ मिनेट जाँदा प्रवन्ध सम्पादकलाई फोन नम्बर ९८४९२१८८३१ बाट फोन आयो । फोन उठाउँदा महिलाको स्वर सुनियो ।
उहाँले प्रवन्ध सम्पादकलाई यो तामाकोशी मिडिया प्रा.लि. हो ? भनेर प्रश्न तेस्र्याउनुभयो । यता प्रवन्ध सम्पादकले हो हजुर ! भन्नुभयो । त्यसपछि उहाँबाट उत्तर आयो, ‘हाम्रोमन्त्रीको समाचार लेख्ने तँ को होस् ? । यताबाट प्रधान सम्पादकले ‘हजुर को बोल्नुभएको’ भनेर प्रश्न गर्नुभयो । अनि फेरि उताबाट उत्तर आयो, ‘म जोसुकै बोलुँ, तैंले हाम्रोमन्त्रीविरुद्ध कति पैसा खाएर समाचार लेखिस् ? भनेर । फेरि उहाँ अगाडि बढ्नुभयो, ‘त्यो समाचारको तँसँग प्रमाण छ ?’ । प्रबन्ध सम्पादकले त्यसै समाचार लेखिँदैन नि हजुर भन्दा उहाँले ‘भोलि तेरो कार्यालयमा प्रहरी लिएर आउँछौं’ भनेर फोन काटिदिनुभयो । भोलिपल्ट उहाँबाट त्यस्तो धम्कीपूर्ण फोन पनि आएन र प्रहरी पनि पठाउनुभएन । तर, समाचार लेखेकै आधारमा प्रवन्ध सम्पादकलाई गालीगलौज र धम्कीपूर्ण फोन आए तापनि भ्रष्टाचार, विकृति, विसंगतिबिरुद्धको समाचार सम्प्रेषण गर्न तामाकोशी सन्देश डगमगाउने छैन ।