काठमाडौं । भारतले नेपालको सीमाना मिच्दै गइरहँदा राजनीतिक दलहरु मुकदर्शक भएर बस्ने गरेका छन् । भारत र नेपाल दुवै देशको सीमा सुरक्षासम्बन्धी बारम्बार सीमा सम्झौता गरिएको थियो । सम्झौता भए तापनि त्यो कार्यान्वयनमा आएको थिएन । नेपाल र भारतबिचका सीमा एक हजार आठ सय भन्दा बढि लम्बाइ रहेको छ । त्यसमा पनि कर्णाली प्रदेशबाहेक अन्य ६ वटा प्रदेशका २७ जिल्ला भारतसँग सीमा जोडिएको छ । भारत र नेपालको सुरक्षा सीमा दुई सय चवालिस बोर्डर सीमा रहेका छन् ।
यस्ता नाकाबाट तस्कर, माफियाहरु आवतजावत गर्दै आएका थिए । खासगरी सो सीमाबाट चोरीनिकासीदेखि लागुऔषधसम्म ओसारपसार हुने गरेको थियो । दुवै देशका सुरक्षा निकायले त्यतातिर ध्यान दिएको पाइँदैन थियो । सन् २०१२ देखि नेपाल भारत सीमा बैठक बस्दै आए तापनि त्यसले कार्यान्वयन गरेको पाइँदैन । राजनीतिक दलहरुले सुरक्षा निकायलाई खबरदारी गर्न सकेका छैनन् ।
गत शनिबारदेखि आइतबारसम्म भारत र नेपालबीचको सुरक्षा सम्बन्धी बैठक सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा भए तापनि सो बेठकले ठोस निष्कर्ष निकाल्ने देखिँदैन । किनभने नेपालका राजनीतिक दलहरु सीमा सुरक्षाभन्दा पनि कसरी सत्तामा पुग्ने होडबाजी गरिरहेका छन् । भारतका सुरक्षा प्रमुख र नेपाल सशस्त्र प्रहरी बलका सुरक्षा प्रमुखबिच भारत र नेपाल सीमा सुरक्षाबिच छलफल भएको छ । तत्कालीन अवस्थामा भएको सीमा सुरक्षाको छलफल र हाल भएको छलफलमा केहि राम्रो कामको सुरक्षासम्बन्धि छलफल भएको बताइन्छ । तर त्यो छलफलले कसरी कार्यान्वयन गर्छ हेर्न बाँकी छ । यदि भारत र नेपाल सीमा सुरक्षा छलफलले राम्रो काम गरेको खण्डमा भारत र नेपालबाट हुने चोरी तस्करीदेखि हातहतियार खरिद, लागुऔषध ओसारपसारको धन्दा बन्द हुने आँकलन गर्न सकिन्छ ।
विगत लामोसमयदेखि भारत र नेपाल सीमाबिच खुलमखुल्ला भएकै कारण भारतीय सुरक्षा कर्मीहरुले नेपालको सीमानामा रहेका पिल्लरहरु भारतीय सुरक्षाकर्मीहरुले सार्ने र हटाउने काम गरेको समाचारहरु सञ्चारमाध्यममा नआएका होइनन् । हाल भएको २ देशको सुरक्षासम्बन्धि बैठकले यस्ता विषय उठाएको पाइँदैन । त्यस कारणले पनि नेपाल र भारतबीच भएको सीमा सुरक्षा बैठक ‘हात्ती आयो हात्ती आयो फुस्स’ जस्तै हुने देखिन्छ ।