काठमाडौं । कांग्रेस र एमाले गठबन्धन सरकार बनेको चारमहिना पुरा भइसकेको छ । चारमहिनाको अवधिमा सरकारले राम्रालाईभन्दा हाम्रालाई प्राथमिकता दिएर दिन बिताइरहेको छ । मुख्यसचिव बनाउनेदेखि नेपाल प्रहरीको कपडा खरिद । सेनाको हतियार खदिरजस्ता काममा अलमलिएर कमिसनको चक्करमा फसिरहेको छ । मुख्यसचिव नियुक्ति गर्दा जेष्ठता र क्षमतावानहरुलाई पछि पारेर कनिष्ठलाई अगाडि सार्दा कर्मचारीतन्त्रभित्र असन्तुष्टि बढिरहेको छ । त्योसँगै तत्कालीन मुख्य सचिव बैकुण्ठ अर्यालविरुद्धको भ्रष्टाचारको मुद्दा विशेष अदालतले सफाइ दिएपछि उनी स्वतहः मुख्यसचिव बन्नुपर्नेमा त्यो नगरी उनलाई उल्टै नयाँ दरबन्दी खडा गरेर राष्ट्रिय योजना आयोगमा थन्क्याउने काम गरिएको थियो ।
अर्याललाई सरकारले गरेको हर्कत चित्त नबुझेपछि उनले सो पदबाट राजीनामा दिएका छन् । उता, पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएपछि दिनुपर्ने सार्वजनिक विदाको समेत समयमा निर्णय गर्न नसकेर सरकार अनिर्णयको बन्दी बन्न पुगेको छ । किन कि समयमा विदा तोक्न नसक्दा कर्मचारी र विद्यार्थीहरु अफिस र विद्यालयबाट फर्किएर फिल्म हलमा भिड लागेका थिए । कुबेलामा सरकारले सार्वजनिक बिदा घोषणा गरेर कर्मचारी र विद्यार्थीहरु अफिस र विद्यालयबाट फर्किँदा सडकमा भीडभाड बढ्नुका साथै अनावश्यक इन्धन खर्च भएको थियो । त्योसँगै सर्वसाधारणहरु सेवाग्राही विभिन्न कार्यालयमा लाइन बसेर बिनाकाम फर्किनुपरेको थियो ।
कतिपय सर्वसाधारण बैंक, विद्युत प्राधिकरण, मालपोत, दूरसञ्चारको करलगायत विभिन्न अफिसमा शुल्क बुझाउन लाइन बसेकाहरु आफ्नो पालो आइपुग्ने बेलामा सार्वजनिक विदाको सूचना आएपछि त्यसै फर्किन वाध्य भएका थिए । एक्कासी सार्वजनिक विदा भएको सूचना आएपछि अधिकांश कर्मचारी र विद्यार्थीहरु कार्यालय र विद्यालय पोशाकमै फिल्म हलतिर भरिभराउ भएका देखिन्थे । सरकारले पूर्वसभामुख ढुंगानाको शोक विदाको समयमा निर्णय गर्न नसक्दा कर्मचारी, विद्यार्थी र सर्वसाधारणले सास्ती खेप्न वाध्य भएका थिए । एउटा सार्वजनिक विदाको निर्णय गर्न त ढिलासुस्ती गर्छ भने यो सरकारले अन्य ठूलाठूला विकास निर्माणको काम गर्न सक्छ भन्ने कुनै आधार देखिँदैन ।