काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा आइपर्ने जोखिम न्यूनिकरण गर्ने उद्देश्यले २०३१ असोजमा तत्कालीन दुई वाणिज्य बैंकहरु नेपाल बैंक लि. र राष्ट्रिय वाणिज्य बैंकको शेयर स्वामित्व रहने गरी नेपालमा कर्जा सुरक्षण गर्ने संस्थाको स्थापना भएको थियो । कम्पनी ऐन, २०२१ बमोजिम दर्ता भएको सो संस्थाको नाम कर्जा सुरक्षण निगम प्रा.लि. राखिएको थियो । सो संस्थालाई हाल निक्षेप तथा कर्जा सुरक्षण कोष भनिने गरिन्छ । उक्त कोषले जुनसुकै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा आइपर्ने जोखिम न्यूनिकरण गर्ने काम गर्दै आएको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले गत असोज ४ देखि ८ गतेसम्म होटल सोल्टीमा अन्तर्राष्ट्रिय सम्मेलन गरी एशियाभरिका १४८ जना सहभागीहरुलाई उपस्थित गराएको थियो । सो सम्मेलनमा एशियाभरिका १४८ जना सहभागीहरुले नवप्रवेसी व्यावसायीहरुलाई विजनेशमा कसरी सहभागी गराउने, त्यसको लागि कर्जा प्रवाह गर्दा कसरी सुरक्षा गर्ने भन्ने विषयमा व्यापक छलफल गरिएको थियो । नवप्रवेशी लगाकर्ताहरुको लागि राज्यले नयाँ सोच, पोलिसी र प्रविधियुक्त व्यावसायीहरुलाई सर्वसुलभ रुपमा कर्जा प्रवाह गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । त्यस्तै नवप्रवेशी व्यावसायिक क्षेत्रमा लगानी गर्दा धेरै जोखिमपूर्ण हुन्छ । त्यसमा निक्षेप तथा कर्जा सुरक्षणको ठूलो भूमिका रहन्छ ।
सेवाप्रदायक संस्थाहरुले सिर्जनशील उपाय, दीगो उत्पादन एवं उपायहरुको खोजी गरी कार्यान्वयनमा ल्याउनुपर्ने सम्मेलनले निष्कर्ष निकालेको थियो । अहिले निक्षेप तथा कर्जा सुरक्षण कोषले देशैभरका बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी गर्न सहयोग गर्ने बताएको छ । त्यसैगरी जीवन विकास लघुवित्तको प्रतिव्यक्ति २० लाख रुपैयाँसम्मको कोषमा सुरक्षण हुने भएको छ ।
यसको लागि निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सो सम्झौतापछि नेपालभर लगानी गर्न इच्छुकहरुले राहत पाउने भएका छन् । त्यसले गर्दा निक्षेप तथा कर्जा सुरक्षण कोष यतिबेला चर्चामा आउन थालेको छ । नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष जस्ता संस्थाहरुले ऋण प्रवाह गरेर नवप्रवेसी लगानीकर्ताहरुलाई उत्साहित बनाउन नसकिरहेको बेलामा निक्षेप तथा कर्जा सुरक्षण कोषले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन गरेर सर्वसाधारण नवप्रवेसी व्यावसायीहरुलाई ढोका खुल्ला गरिदिएको छ ।