नेपाल राष्ट्रिय कर्मचारी संगठनलाई कोमामा पु-याउँदै अध्यक्ष भट्ट

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले निकट कर्मचारी संघ, संगठनको निर्वाचन नजिकिँदै गर्दा आ–आफ्नो संगठनबाट अध्यक्ष बन्नको लागि दौडधूप सुरु हुन थालेको छ । दौडधूप मात्रै सुरु भएको छैन, प्रतिस्पर्धीहरु आफू अध्यक्ष बन्नको लागि पैसा र पावर भिडाउन थालेका छन् । नेतासँग लभिङ गर्नुका साथै खर्च जुटाउन उठ्तीपुठ्ती धन्दा सुरु गरेका छन् । तर, दुवै संगठनभित्र को अध्यक्ष बन्ने एकिन छैन । कर्मचारी तन्त्रभित्र एमाले निकट कर्मचारी धेरै छन् । त्यसपछि कांग्रेस निकट कर्मचारीहरु छन् । तेस्रोमा माओवादी केन्द्र पर्दछ ।

यतिबेला सत्तासिन दल कांग्रेस र एमाले कर्मचारी संगठनहरु चलायमान छन् भने माओवादी केन्द्र निकट कर्मचारी संगठन ओझेलमा परेको छ । माओवादी निकट कर्मचारी संगठनका अध्यक्ष अमरदत्त भट्टले नेपाल राष्ट्रिय कर्मचारी संगठनलाई कमजोर बनाउँदै लगेका छन् । भट्टले कर्मचारी संगठनलाई कमजोर मात्रै बनाएका छैनन् अध्यक्षकै कारण राष्ट्रिय कर्मचारी संगठनभित्रका कर्मचारीहरु तितरबितर हुँदै गएका छन् । अध्यक्ष भट्टको काम चाहीं नापी कार्यालयका सर्वेक्षक र अमिनहरुको सरुवा गर्ने, तिनीहरुबाट पैसा असुल्ने, कार्यालयको काममा ध्यान नदिने हुने गरेको छ ।

यतिबेला कांग्रेस र एमाले निकट कर्मचारीहरु हावी हुँदा माओवादी निकट कर्मचारी गुमनाम जस्तै भएका छन् । आफ्नो दल निकट कर्मचारी संगठन गुमनामहुँदा अध्यक्ष भट्टले ध्यान दिएका छैनन् । उल्टै कर्मचारी संगठनको नाममा बनेको घर माओवादी केन्द्रका विभिन्न जनवर्गीय संगठनलाई भाडामा लगाएर खाइरहेका छन् । राष्ट्रिय कर्मचारी कर्मचारी संगठनको नाममा बनेको घरको भुईँतलामा रेष्टुरेन्ट चलाइएको छ । त्यसैगरी एमाले निकट कर्मचारी संगठनको भव्य महलमा कार्यालय सञ्चालन गरिएको छ भने केही भाग भाडामा लगाइएको छ । तर, कांग्रेस निकट कर्मचारी संगठनको भवन चाहीं वनविभागभित्र रहेको कारणले भाडामा लागेको छैन । कर्मचारी संगठनका नेताहरुलाई जस्तो मजा अन्यलाई छैन ।

कर्मचारी संगठनका नेताहरु राज्यको ढुकुटीबाट तलब र सुविधा खाने, राज्यको सवारी साधन र इन्धन दुरुपयोग गर्ने, कार्यालयको काम नगर्ने, संगठनभित्रका अन्य कर्मचारीबाट सहयोग लिने, चिठ्ठा कार्यक्रम चलाउनेदेखि वनभोज गर्ने र देशदौडामा घुमघाम गर्ने, सहकारी र फाइनान्स कम्पनी चलाउने, शेयर कारोबार गर्ने, घरजग्गा कारोबार गर्ने, राज्यको पैसामा विदेश घुम्ने, म्यानपावर कम्पनी र कन्सल्टेन्सीहरुसँग मिलेमतो छोराछोरीहरु विदेश पठाउने जस्ता काम गर्दै आएका छन् । पैसा र पावरको भरमा आफ्नो पार्टी निकट कर्मचारीहरुलाई मालदार ठाउँमा पठाउने र कमिसन खाने, सोर्सफोर्स नभएका र कर्मचारी संगठनमा नलागेका इमानदार कर्मचारीहरुलाई सधैं ओझेलमा पार्ने काम कर्मचारी नेताले गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *