काठमाडौं । मकवानपुरको भीमफेदीमा एक सय ९९ जना श्रमिकलाई गाउँपालिकाले सामाजिक सुरक्षा कोषमा आबद्व गराएको छ ।
गत आर्थिक वर्षदेखि आरम्भ भएको अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म एक सय ९९ जना श्रमिकलाई कोषमा आबद्ध गराइएको हो ।
अभियानअन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार आठ सय २० रुपैयाँ पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् एक हजार एक सय ८० र गाउँपालिकाले एक हजार १४ गरी रु दुई हजार दुई सय चार सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाइएको पालिकाले जनाएको छ । कोषमा श्रमिकलाई आबद्ध गराउन चालु आवमा २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

