राष्ट्र बैंकको गभर्नरमा कांग्रेस कि एमाले ?

अर्थ/वाणिज्य राजनीति समाचार

गनर्भरको लागि राष्ट्र बैंकदेखि निजीसम्मको ताँती

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद खतिवडाको कार्यकाल यही चैत २५ गते समाप्त हुँदैछ । कार्यकाल सकिन केही हप्ता बाँकी हुँदै राष्ट्र बैंकको नियम अनुसार अधिकारी बिदामा बसिसकेका छन् । गभर्नर अधिकारी बिदामा बसेपछि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले कायम मुकायम गभर्नरको जिम्मेवारी पाएकी छिन् । सरकारले भावी गभर्नर कसलाई बनाउँछ भन्ने विषयमा अहिले सबैतिर कौतुहलता छाएको छ ।

भावी गभर्नरको लागि विभिन्न व्यक्तिहरुको चलखेल सुरु भएको छ । निजी क्षेत्रबाट गभर्नर बन्नका लागि नबिल बैंकका सिईओ ज्ञानेन्द्र ढुंगाना, लगानी बोर्डका सिईओ सुशील भट्ट, प्रभु बैंकका सिईओ अशोक शेरचन, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सिईओ शिवनाथ पाण्डे, व्यापारी दिपक भट्टलगायतको दौडधुप चलेको छ । तर, सरकारले राष्ट्र बैंककै पूर्वकर्मचारी तथा बहालवाला कर्मचारीबाटै गभर्नर बनाउने मनस्थिति बनाएको छ । उता, एमाले र कांग्रेसको भागबन्डा अनुसार निर्वाचन आयुक्त एमालेलाई र राष्ट्र बैंकको गभर्नर कांग्रेसलाई दिने भनिएको छ ।

तर, अर्थमन्त्री एमालेको भएकाले कांग्रेसले गभर्नर पाउने सम्भावना कम देखिन्छ । यदि कांग्रेसको भागमा परेको खण्डमा राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सम्भावना छ । गभर्नर बन्नको लागि राष्ट्र बैंकका पूर्व कर्मचारी चिन्तामणि सिवाकोटीलगायतले पनि दौडधुप गरेका छन् । यदि राष्ट्र बैंकको गभर्नर एमालेको भागमा परेको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालकी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई गभर्नर बनाउने देखिन्छ । प्रधानमन्त्री ओलीले महिलालाई प्राथमिकता दिँदै आएका छन् ।

प्रधानमन्त्री ओलीको नियुक्तिमा महिलाहरुले प्राथमिकता पाउँदै आएका छन् । यसले गर्दा पनि एमालेको भागमा गभर्नर परेको खण्डमा ढुंगाना तिम्सिना पक्कापक्की जस्तै हुन् । त्यसैगरी, राष्ट्र बैंककै अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र पनि गभर्नर बन्नको लागि दौडधुप गरिरहेका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि निजी वित्तीय क्षेत्रका सीईओहरु, व्यापारी तथा व्यवसायीहरु गुप्तरुपमा लागिपरेका छन् । त्यसैगरी, आफुनिकट व्यक्तिहरुलाई गभर्नर बनाउनका लागि बिचौलियाको चलखेल पनि उत्तिकै बढेको छ । गभर्नरका लागि कसले बाजी मार्छ त्यो सरकारको विषय हो, तर गभर्नर बन्नकै लागि थैली नै बोकेर दौडधुप गर्नेहरुको ताँती छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *