रामचन्द्र बस्नेत
नेपालमा जब वामपन्थी सरकार बन्छ तब छिमेकी मुलुक भारतदेखि अन्य मुलुकहरुले नेपालमाथि चासो बढाउने गर्दछन् । नेपालका कम्युनिस्ट सरकारलाई प्रायःजसो छिमेकी मुलुक भारतदेखि अन्य विदेशी मुलुकहरुले रुचाउने गरेका छैनन् । त्यसको सिकार सधंै कम्यनिस्ट सरकारहरु हुने गरेका छन् । नेपालमा चाहे माओवादी केन्द्र नेतृत्वको सरकार होस् अथवा एमाले नेतृत्वको सरकार होस् ।
जुनसुकै कम्युनिस्ट पार्टी नेतृत्वमा सरकार बनेता पनि ६ महिनादेखि एक वर्षभित्र ढाल्ने खेल सुरु भइहाल्छ । एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपाको सरकार भने चालीस महिना टिक्न सफल भएको थियो । नेकपाको दुईतिहाई हाराहारी बहुमतको सरकार पनि चालीस महिनाभन्दा बढी टिक्न सकेन । नेकपाको सरकार पाँच वर्ष टिक्नु त परैजाओस् उल्टै नेकपा नै फुटाएर तीन टुक्रामा विभाजित गरिएको थियो ।
त्यसयता बनेका कम्युनिस्ट नेतृत्वका सरकारहरु ६ देखि नौ महिनाभित्र ढल्ने गरेका छन् । अहिले कांग्रेससँग मिलेर बनेको एमाले नेतृत्वको सरकार पनि दश महिना पुरा हुँदानहुँदै डगमगाउन थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नको लागि नेपालका कम्युनिस्ट पार्टीदेखि छिमेकी मुलुक भारत लागिपरेको छ । त्यसको लागि छिमेकी मुलुक भारतबाट विभिन्न धर्म, संस्कृति र राजनीतिक भेटभाटको निहुँ बनाएर भारतीय नेताहरु नेपाल भित्रिइरहेका छन् । त्यसले गर्दा पनि केपी ओली सरकारको आयु छोटिने क्रम जारी छ ।
नेपालका कम्युनिस्ट पार्टीहरु पनि एउटा कम्युनिस्ट पार्टी सरकारमा जानासाथै अर्को कम्युनिस्ट पार्टी त्यसलाई ढाल्नको लागि हात धोएर लाग्ने गरेका छन् । अहिले पनि कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीलाई सत्ताबाट हटाउनको लागि प्रतिपक्ष दल माओवादी केन्द्रदेखि अन्य दलहरु न्वारनदेखिको बल निकाले लागिपरेका छन् । उता छिमेकी मुलुक भारतका नेताहरु पनि प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन यो बहाना र त्यो बहानामा नेपाल भ्रमण गरिरहेका छन् । त्यसको गतिलो उदाहरण हो, ओली प्रधानमन्त्री भएको दश महिना पुगिसक्दा पनि भारतले भ्रमणमा नबोलाउनु ।
यसअघिका प्रधानमन्त्रीहरुलाई पदभार ग्रहण गरेको दुई महिना नपुग्दै भारतले भ्रमणमा बोलाउने गरेको थियो । सबैजसो प्रधनमन्त्रीहरुको पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुने गर्दथ्यो । तर, यसपटक प्रधानमन्त्री ओलीलाई भारतले दश महिना बितिसक्दा पनि भ्रमणको निमन्त्रणा पठाएको छैन । त्यसले गर्दा प्रधानमन्त्री ओली सधैं भारतको निसाना बनिरहेका छन् ।