भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले आफ्नो अधिकारका लागि आनदोलन थालेको तीन दशक बढीको समयपछि छलफल सकारात्मक

विविध समाचार

काठमाडौं । भूतपूर्व ब्रिटिश गोर्खाहरुले लामो समयदेखि उठाउँदै आएको समान पेन्सनसम्बन्धी मागबारे बेलायती पक्षसँग छलफल शुरु भएको छ ।

लण्डनस्थित नेपाली दूतावासमा भएको छलफलमा करिब साढे दुई घण्टा चलेको बैठकमा गोर्खाहरूको समान पेन्सनसम्बन्धी मुख्य मागको विषयले नै प्राथमिकता पाएकोले छलफल सकारात्मक रहेको नेपाली पक्षले जनाएको हो ।

भूतपूर्व गोर्खाहरुले आफ्नो अधिकारका लागि आन्दोलन थालेको तीन दशक बढी समय बितिसकेको छ । भूतपूर्व गोर्खा र तिनका वयस्क सन्तानहरुको बेलायतमा स्थायी आवासीय अधिकार मिले पनि ब्रिटिश सैनिक सरह समान पेन्सन मुख्य माग सम्बोधन गर्न बेलायतले आनाकानी गर्दै आएको छ ।

सन् १९९७ भन्दा अघि अवकास पाएका भूतपूर्व गोर्खा सैनिकहरुले ब्रिटिश समकक्षीको तुलनामा ज्यादै न्यून पेन्सन पाइरहेको गुनासो गर्दै आइरहेका छन्।

त्यसो त यसअघि बेलायतको उच्च अदालत र युरोपेली अदालतले समेत भूतपूर्व गोर्खाहरुको समान पेन्सन मुद्दामा भेदभाव नभएको भन्दै हराइदिएकाले कूटनीतिक वार्ताबाट मात्र यो समस्या समाधानको विकल्प बाँकी रहेको छ ।

अवकास प्राप्त गोर्खाहरुले आफ्ना सबै माग समेटिएको ३५ बुँदा बेलायती रक्षा मन्त्रालय (एमओडी) लाई बुझाएका छन् । ती मागमा समान पेन्सन, कल्याणकारी सुविधा, आवासीय अधिकार, स्वास्थ्य उपचार आदि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *