लौ पढ्नुस् तत्कालीन मुख्यसचिव वैरागीको नालीबेली

राजनीति समाचार

काठमाडौं । चेला अख्तियारमा परेको बेला गुरुले अर्काे लाभको पद हात पारेका छन् । दुई साता अघिमात्र कान्छा सहसचिव प्रदीप परियारलाई अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको थियो । सो को दुई साता पछि उनका गुरु पूर्व मुख्य सचिव शंकरदास बैरागीलाई सरकारले एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भिजिट भिसा प्रकरणमा छानबिनको लागि पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेकोछ ।

बैरागीको नेतृत्वमा गठन भएको छानबिन समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलुवाल, कानुन न्याय तथा संसदीय मामिलाका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले सदस्य सचिवको जिम्मेवारीमा छन् । यो समिति नै गृहमन्त्रीलाई क्लिन चिट दिने गरी समिति बनाइएको छ ।तत्कालीन मुख्यसचिव बैरागी सत्ताका एसम्यान प्रशासक हुन् ।

अहिले संघीय निजामती सेवा विद्येयकमा कुलिङ्ग पिरियडको बिषयमा चर्काे चर्चा र बहस चलिरहेको छ । तीन दिनपछि अवकाश पाउन लागेका सचिव वैकुण्ठ अर्याल मुख्यसचिव साढे ३ महिना अगावै बैरागीलाई राजीनामा गराएर कानुनले समेत नचिन्ने पद सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको थियो । संवैधानिक रूपमा व्यवस्था नै नभएको पदमा पुगेको १५ महिना पछि राजदूत खान उनी आफैंले पदबाट राजीनामा दिएका थिए तर अन्तिममा हिस्स बूढी हरियो दाँत भनेझैं भयो उनको हालत ।

वैरागी तिनै व्यक्ति हुन्, जसले परराष्ट्र सचिवबाट अवकाश हुन ७ दिन मात्रै बाँकी रहेका बेला मुख्यसचिव पद हात पारेका थिए । अवकाशको मुखमा आफू ३ वर्षका लागि मुख्य सचिव हुन उनले तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतमा राजदूत बनाउने गरी राजीनामा दिने वातावरण तयार गराएका थिए । अवकाश लिनुपर्ने बेलामा नयाँ सार्वजनिक लाभको पद सिर्जना गरेर आफ्नो नियुक्ति आफैंले गर्न बैरागीले मुख्य सचिव पदको कतिसम्म दुरुपयोग गरेका थिए होला खोतल्दै जाने हो भने नयाँ नयाँ तथ्यहरु भेटिदैं जाने छन् । जस्तो एउटा त यो पदै कानुनले चिन्दैन थियो । उनले हतार–हतार ‘राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधा सम्बन्धी निर्देशिका २०८०’ को मस्यौदा तयार पारे र आफूलाई मन्त्री बराबरको सेवा सुविधा लिने गरी नियुक्ति तयार पारेका थिए । त्यो बिषयमा अख्तियार लाग्छ कि लाग्दैन ? प्रतिक्षाको विषय बनेको छ ।

पर्वतमा जन्मिएका बैरागी ०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका कर्मचारी हुन् । उनी २०७२ सालमा परराष्ट्र सचिव भएका थिए । त्यसअघि एक वर्षभन्दा लामो अवधि उनी सोही मन्त्रालयमा निमित्त सचिव भए । परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो पात्र हुन् । ओली सरकारले बैरागीलाई भारतको राजदूत बनाउने चर्चा थियो तर काँग्रेसले डा शंकर शर्मालाई निरन्तरता दिने भएसँगै उनी राजदूतमा सिफारिस भएनन् । त्यसरी मुख्य सचिव हुँदै राष्ट्रिय सुरक्षा सल्लाहकारबाट अनपेक्षित राजीनामा दिएका बैरागीमाथि विकल सुनिल ग्याङ्गबाट अनुचित फाइदा लिएको आरोप समेत लागेको छ ।

जस्तो कि गृह मन्त्री रमेश लेखक र भिजिट भिसाको भ्रष्टाचारमा जोडिएका तीर्थ भट्टराई हरेक बिहान सँगसँगै मर्निङ्ग वार्क गर्ने गरेको आरोप संसदभित्रैबाट लगाइएको छ,उस्तै गम्भीर आरोप संसदभित्रैबाट उठेको छ । यसरी व्यापारी र विचौलियाको हितमा र आफ्नो स्वार्थमा काम गर्दै आएका उनै बैरागीलाई सरकारले १३ लाख बजेट छुट्टाएर छानबिन समिति बनाएको छ तर वैरागीको नेतृत्वले निष्पक्ष छानबिन गर्दछ भन्नेमा सत्तापक्षकै सांसदहरु नै विश्वस्थ छैनन्,उनको गतिविधि र पृष्टभूमिको कारण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *