काठमाडौं । कांग्रेस र एमालेको सरकार बनेको वर्षदिन भइसक्दा पनि निर्वाध रुपले कुनै पनि काम सम्पन्न हुन सकेन । मन्त्री र सांसदहरु पनि यो या त्यो बहानामा विवादमा पर्दै गएका छन् । उर्जामन्त्री दीपक खड्का नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदा विवादमा परेका थिए भने गृहमन्त्री रमेश लेखक भिजिट भिसा काण्डमा मुछिइरहेका छन् । उता, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई अहिलेसम्मका परराष्ट्रमन्त्री मध्यमा सबैभन्दा बढी विदेश भ्रमण गरेर राज्यको ढुकुटी दोहन गरेको आरोप लागिरहेको छ ।
त्योसँगै परराष्ट्रमन्त्रालयमा अनावश्यक कर्मचारी दरबन्दी सिर्जना गरेर १५० जना नयाँ कर्मचारी भर्ना गरी राज्यलाई आर्थिक भार थपेको आरोप पनि उनीमाथि छ । उता, मन्त्री आरजुका छोरा जयवीर देउवाले नक्सालस्थित हिलटन होटेलमा लगानीको विवाद पनि त्यत्तिकै छ । अर्कोतिर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम सम्झौता गर्ने नाममा विभिन्न देशदौडाह गरेर राज्यको ढुकुटी दोहन गरेको आरोप लागिरहेको छ । त्योसँगै मन्त्रालयको गाडीसमेत लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई दिएर राज्यको ढुकुटी दोहन गरेको आरोप पनि मन्त्री भण्डारीमाथि लागेको थियो । उता, मन्त्रालयमा गाडी हराएको हल्लीखल्ली मच्चिएपछि सो गाडी मन्त्रालयमै फिर्ता गरिएको थियो ।
त्यस्तै खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले पनि मेलम्ची खानेपानी आयोजनालाई व्यवस्थित गरेर उपत्यकावासीहरुलाई खानेपानी उपलब्ध गराउन नसकेको, कर्मचारी व्यवस्थापन गर्न नसकेको र कमिसनको चक्करमा लागिपरेको आरोप खेपिरहेका छन् । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दोमोदर भण्डारीले विभिन्न उद्योगी, व्यापारीहरुसँग साँठगाँठ गरी कमिसन खाएको आरोप खेपिरहेका छन् । त्यस्तै कांग्रेस सांसद महोनबहादुर बस्नेतलाई टेरामक्स काण्डमा भ्रष्टाचार गरेको मुद्दा परेको थियो । त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं कांग्रेस सांसद रामहरि खतिवडा कर्मचारीको ‘कुलिङ अफ पिरियड’को विषयलाई लिएर विवादमा मुछिएका छन् ।
सभापति खतिवडा ‘कुलिङ पिरियड’ को विषयमा मुछिएपछि उनका पुराना कालाकर्तुतहरु धमाधम बाहिर आउन थालेका छन् । त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसिया विवादमा तानिएका छन् । किन कि मन्त्री चौरसियालाई इँटा भट्टमा जिउँदै मान्छे जलाएर ज्यान मुद्दामा जेल परेका मोहम्मद अफताब आलमलाई पैसाको लेनदेन गरी न्यायाधीशसँग मिलेमतो गरी छुटाएको आरोप लागेको छ । उता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राम कुमार गुप्ताले कर्मचारी सरुवा गर्दा ५० लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएपछि उनी पनि विवादमा तानिएका छन् ।
त्यसैगरी भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पनि भौतिक संरचनाको काम गर्न नसकेको, बजेट व्यवस्थापन गर्न नसकेको, ठेक्कापट्टामा मिलेमतो गरी घुस खाएकोलगायतका आरोप खेपिरहेका छन् । त्यस्तै एमालेबाट भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री बनेका बलराम अधिकारीले भूमाफियासँग साँठगाँठ गरी सरकारी जग्गा हडपेको आरोप खेपिरहेका छन् । त्योसँगै कांग्रेसबाट उप–प्रधानसहित शहरी विकासमन्त्री बनेका प्रकाशमान सिंह सबैभन्दा बदनाम मन्त्रीमा दहरिएका छन् ।
कांग्रेस र एमाले सरकारका मन्त्री र सांसदहरु काम गर्नेभन्दा पनि अनियमितताका विभिन्न काण्डमा मुछिएर वर्षदिन बिताएका छन् । त्यसले गर्दा यी मन्त्रीहरु छिट्टै विदाइ हुने लाइनमा परेका छन् । सत्तासिन दलका शीर्ष नेताहरुले मन्त्रिमण्डल फेरबदल गर्ने हल्ला चलाएसँगै सरकार नै परिवर्तन हुने सम्भावना त्यत्तिकै छ । सरकार परिवर्तन भएको खण्डमा सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिने सम्भावना बढेको छ । सरकारमा कुन–कुन पार्टीबाट सहभागि हुन्छन् यकिन भइसकेको छैन ।