काठमाडौं । आर्थिक वर्षको अन्त्यसँगै कम्पनी रजिष्ट्रार कार्यालयका सर्भरले काम नगरेको भन्दै सेवा नै ठप्प जस्तै भएको छ । कतिपय बन्द अवस्थामा रहेका र कतिपयले नविकरण नगरेका उद्योग र कम्पनीहरुलाई असार मसान्तसम्म ९० प्रतिशत छुटमा नविकरण गर्न पाउने व्यवस्था गरेको छ । तर, असारमसान्त आउनु एक हप्ता अगाडि नै कम्पनी रजिष्ट्रार कार्यालयले कमिसनको चक्करमा सर्भर नै बन्द गराएर सेवाग्राहीलाई हैरानी दिने काम गरेको छ ।
सर्भर बन्द भएको हल्ला गरेर सेवाग्राहीलाई हायलकायल बनाई ५० प्रतिशतमा काम मिलाइदिने नाममा १० प्रतिशतमा काम गरेर ४० प्रतिशत रकम कम्पनी रजिष्ट्रारका कर्मचारीले झ्वाम पार्दै आएको स्रोतले बताएको छ । कम्पनी रजिष्ट्रारले आर्थिक वर्षको अन्त्यमा यसैगरी सधैंजसो उद्योगी व्यवसायीहरुलाई हैरानी दिने गरेको थियो । अधिकांश पुराना बन्द कम्पनीहरु नविकरण गर्न नसकेर बन्द अवस्थामा रहेका थिए । त्यस्ता कम्पनी र उद्योगहरुलाई ९० प्रतिशत छुटमा नविकरण गर्ने अवसर सरकारले दिएको थियो ।
आर्थिक वर्षको अन्त्यमा आएर कम्पनी रजिष्ट्रारका कर्मचारीहरुले त्यसैमा खेलेर कमाउधन्दा सञ्चालन गरेको स्रोतको दावी छ । उता, आर्थिक वर्षको अन्त्यमा आएर आन्तरिक राजश्व कार्यालयमा पनि स्टिमले काम नगरेको भन्दै सेवाग्राहीलाई समस्यामा पार्ने काम विगतका वर्षमा गर्दै आएको थियो । यसपालि पनि त्यही हालत नदोहोरिएला भन्न सकिँदैन । कम्पनी रजिष्ट्रार कार्यालय र आन्तरिक राजश्व कार्यालय त एउटा उदाहरण मात्रै हुन् । अधिकांश सरकारी कार्यालयहरुमा आर्थिक वर्षको अन्त्यमा कमिसन नआउने भुक्तानी रोक्न यस्तै खेलाफड्को गरिन्छ ।