काठमाडौं । राष्ट्रिय सभाले जलस्रोत विधेयक अघि बढाउने भएको छ।
राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्दैछ । जहाँ ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयकलाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् । विधेयकमा उल्लेख भएअनुसार जलस्रोत आयोजनाको विकास तथा सञ्चालन सम्बन्धमा संघीय इकाइहरुबीच अधिकार र जिम्मेवारीको बाँडफाँट तथा आपसी समन्वय गर्न विधेयक ल्याइएको हो ।
जलस्रोतको क्षेत्रगत योजना एवं कार्यान्वयनबाट उत्पन्न असमाञ्जस्यतालाई न्यूनीकारण गर्नको लागि समझदारी तथा समन्वय कायम गर्न, जलस्रोतको एकल उद्देश्यीय उपयोगबाट प्राप्त हुने सीमित लाभलाई बहुउद्देश्यीय उपयोग मार्फत अभिवृद्धि गर्न विधेयक ल्याइएको उल्लेख छ ।
यो विधेयक सरकारले फिर्ता लिने भनेको थियो । २ असार २०८२ मा बसेको मन्त्रिपरिषद्को बैठकमा यो विधेयक फिर्ता लिने विषयमा छलफल भएको थियो । बैठकपछि केही मन्त्रीले विधेयक फिर्ता लिने निर्णय भएको बताएका थिए । तर, पछि सरकार विधेयक फिर्ता लिने निर्णयबाट पछाडि हट्यो । त्यसपछि राष्ट्रिय सभाले अगाडि बढाएको हो ।
यो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको हो । ३१ जेठ २०८१ मा दर्ता भएको विधेयक प्रतिनिधि सभाले ५ जेठ २०८२ मा पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो ।

