काठमाडौं । वर्षा यामसँगै नेपाली बजारमा विषादियुक्त बेमौसमे तरकारीहरु छ्यापछ्याप्ती पाइन्छ । त्यस्ता तरकारीहरु विचौलियामार्फत कालीमाटी, टुकुचा, तीनकुने, जडीबुटी, चाबहिल, बालाजु, महाराजगञ्जलगायत उपत्यकाका विभिन्न ठाउँमा विक्रीवितरण हुने गरेका छन् । चितवन, धादिन, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुरलगायतका जिल्लाहरुबाट विषादियुक्त तरकारीहरु उपत्यका भित्रका विभिन्न होलसेल पसलहरुबाट विक्रीवितरण हुने गर्दछन् । यसरी आउने काउली, बन्दा, साग, मुन्टा, सिमी, मोडी, लौका, काक्रो र टमाटरमा व्यापक विषादि प्रयोग गरिएको पाइन्छ । गर्मी मौसमसँगै विषादीयुक्त तरकारीले उपभोक्ताहरु बिरामी हुने गरेका छन् । तरकारीसँगै आँप, केरा, स्याउ, कटहरलगायतका फलफूलमा पनि विषादी प्रयोग गरिएकाले उपभोक्ताहरुलाई झाडापखाला लाग्नुका साथै ‘फुडप्वाइजन’ हुने गरेका छन् ।
तरकारीमा व्यापक विषादी प्रयोग गर्नाले क्यान्सरजस्ता जघन्य रोग लाग्ने खतरा पनि त्यत्तिकै छ । किसानहरुले पनि आफूले खानको लागि अर्गानिक तरकारी उत्पादन गर्ने गरेका हुन्छन् भने बजारमा विक्रीवितरण गर्नको लागि बढी उत्पादन गर्ने नाममा विषादीहरु प्रयोग गर्ने गरेका छन् । काक्रो, टमाटर, भ्यान्टा, लौका जस्ता तरकारीमा छिटो बढाउनको लागि इन्जेक्सन लगाउने गरेको पाइन्छ । त्योसँगै मासुजन्य वस्तुमा पनि विशाक्त औषधिको प्रयोग गर्ने गरेको पाइन्छ । मासुको लागि प्रयोग गरिने पशुहरु जस्तै खसी, कुखुरा, बंगुर, हाँसलगायतमा छिटो बढाउने नाममा मानव स्वास्थ्यलाई हानिकारक सुई र दाना प्रयोग गर्ने गरिएको पाइन्छ । आँप र केरा पकाउनको लागि पनि मानव स्वास्थ्यमा हानी पु¥याउने चुना र औषधिको प्रयोग गरिएको बताइन्छ । नेपालमा उत्पादन भएका अर्गानिक आलु, दाल, चामल, सुद्ध घ्यू, खानेतेल विचौलियामार्फत भारत निर्यात गरिन्छ ।
तर, नेपाली बजारमा भने विषाक्त औषधि मिसावट गरिएका तरकारी, फलफूल, खानेतेल र दुधको पाउडर भारतबाट ल्याउने गरिन्छ । यसरी विभिन्न विषादि मिसावट भएका खाद्यान्न सेवनबाट अधिकांश नेपालीहरुको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । तर, आपूर्ति विभाग, उपभोक्ता मञ्च र खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीहरु भने तिनै अखाद्य वस्तु विक्रीवितरण गर्ने विचौलियाहरुसँग मिलेमतो गरी कमिसनमा रमाइरहेका छन् । अहिलेसम्म खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता अखाद्य तरकारी, फलफूल, दाल, चामल र दुध खानयोग्य छ कि छैन ? भनेर अनुगमन गरेको पाइँदैन ।

