केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयको चिनसँग अनुरोध

विविध समाचार

काठमाडौं । गत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयले
चिनसँग अनुरोध गरेको छ ।

केरुङमा अलपत्र परेका एक हजार दुई सय जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको हो । केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् ।

कामको सिलसिलामा त्यहाँ रहेका एक सय १७ जनालाई पनि घर फर्काउने प्रबन्ध गरिएको छ । सडक क्षति भएको अन्य स्थानमा मर्मतको काम सकिए पनि लिङलिङमा मात्र ट्र्याक खोल्न बाँकी रहेको सडक विभागका अधिकारीहरु बताउँछन् । लिङलिङमा १२० मिटर सडक भत्किएको छ । पहाडको सिधा भित्तातिर बगेको नदीलाई तर्काइएको छ भने भित्तो काटेर ट्र्याक खुलाउने काम भइरहेको छ ।

ट्र्याक खुलेपछि तत्काललाई साना गाडी चलाउने र थप मर्मत गरी ठूला गाडीहरु पनि चलाउन मिल्ने बनाउने अधिकारीहरुले बताएका छन् । नेपाल–चीन जोड्ने मितेरी पुल भने कहिले बन्ने भन्ने अन्योल छ । सोही बाढीमा परी ११ शव र मानवअंगहरु फेला परेका छन् भने १८ जना सम्पर्कविहीन छन् । बाढीले नेपाल–चीन मितेरी पुल भत्काइदिनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । रसुवागढी सुक्खा बन्दरगाह, सो क्षेत्रमा पर्ने तीनवटा जलविद्युत् आयोजना र भन्सार क्षेत्रबाट करिब एक सय गाडीहरु बगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *