काठमाडौं । कांग्रेस र एमालेको दुई तिहाई हाराहारी बहुमतको सरकार दिनप्रतिदिन फेलर बन्दै गएको छ ।
सरकार बनाउने बेलामा महंगी, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, चोरी, तस्करी जस्ता आपराधिक गतिविधि गर्नेहरुलाई नियन्त्रण गरी कारबाहीको दायरामा ल्याई सुशासन कायम गर्न आवश्यक परे संविधानै संशोधन गर्ने सहमति भएको थियो ।
तर, सरकार बनेको एक वर्ष पार गरिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । उल्टै बरु दुई तिहाईको बलमा अनेक फन्डा मच्चाएर सर्वसाधारण जनतालाई दुःख दिने काम गर्दै आएको छ । यो सरकारले न त महंगी नियन्त्रण गर्न सकेको छ, न त उद्योगधन्दा सञ्चालन गर्न सकेको छ, न पर्याप्त मात्रामा राजश्व उठाउन सकेको छ, न त राज्यका संवैधानिक निकायहरुमा समयमा पदाधिकारीहरु नियुक्ति गर्न सकेको नै छ खाली सत्तामा बसेर कर्मचारी सरुवा गर्ने, आयोजना प्रमुखहरु फेरबदल गर्ने र विदेश भ्रमण गरी फजुल खर्च गर्ने काममा सरकार व्यस्त रहेको देखिन्छ ।
उल्टै दुई तिहाईको आडमा हत्यारा, बलात्कारी, भ्रष्टाचारी र मावन बेचविखन गर्नेहरुलाई आममाफी दिने गरी कानुन नै संशोधन गर्न सरकार लागिपरेको छ । के कांग्रेस र एमालेको सरकारले जनतालाई दिने उपहार यही हो त ? त्यसले गर्दा कांग्रेस र एमाले सरकार पनि आफ्नै क्रियाकलापको कारण बदनाम हुँदै गएको छ । देशमा कांग्रेस र एमालेको स्थिर सरकार हुँदा अर्थतन्त्र चलायमान हुन सकेको छैन । जताततै भ्रष्टाचार बढेको छ, लगानी गर्ने उचित वातावरण नहुँदा बैंकमा पैसा थुप्रिएर बसेको छ । कांग्रेस एमाले सरकार बनेको एक वर्ष भित्र दुई खर्ब ३१ अर्ब ऋण थपिएको छ । देश आर्थिक रुपले ‘ग्रे’ लिस्टमा फसेको छ । त्यसलाई उकास्ने काम सरकारले गर्न सकेको छैन ।

