आन्तरिक उत्पादन र पर्यटन राज्यको आधार

राजनीति समाचार

नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मुलुक हो । प्राकृतिक विविधताकै वरदानस्वरुप नेपाल विश्वमै जलस्रोतको धनी राष्ट्र हो । पर्यटन, जलविद्युतको पर्याप्त प्रयोगले पनि नेपालको अर्थतन्त्र निकै माथि उकासिन सक्छ । त्यसैगरी, करिब करिब पूर्णरुपमा उपभोग्य वस्तुमा परनिर्भर बनेको नेपालमा उपलब्ध स्रोतसाधनको प्रयोग गरेर आन्तरिक उत्पादनमा निर्भर बन्दै अर्थतन्त्रलाई समृद्ध बनाउन र सुधार गर्न सकिन्छ । त्यसैगरी, आन्तरिक उत्पादनको निर्यातले मुलुकले वैदेशिक मुद्रा आर्जन गरेर मुलुकको विकासमा टेवा पु¥याउन सकिन्छ ।

नेपालको अर्थतन्त्रको आधारशिला कृषि, आन्तरिक उत्पादन, जलविद्युत, पर्यटनजस्ता क्षेत्रहरुलाई सरकारले कागजी प्रतिवेदनमा सुधारोन्मुख देखाएपनि विगतका वर्षहरुको अवस्थालाई मूल्यांकन गर्दा मुलुकको कस्तो अवस्थाबाट गुज्रिरहेको छ भन्ने देख्न सकिन्छ । सरकारको भ्रष्ट मानसिकता र बेवास्ताकै कारण मुलुक दीर्घकालीन रुपमा परनिर्भर बन्दै गएको विश्लेषण गर्न सकिन्छ । दुई दशक पहिले आफ्नै उत्पादनमा निर्भर नेपाल अहिले खाद्यान्न पनि आयात गर्नुपर्ने अवस्थामा पुगेको छ ।

परनिर्भरताकै परिणामस्वरुप मुलुकको आन्तरिक कृषि उत्पादन र अन्य औद्योगिक उत्पादन पनि घट्दै गएको छ । विकासका नाममा जथाभावी सडक निर्माण गर्ने प्रवृत्तिले अव्यवस्थित विकासलाई प्रश्रय दिएको छ । अहिले यस्तै व्यवस्थित नहुँदा पहिरो जाने, सडक बन्द हुनेजस्ता काम भएका छन् । भएगरेका सडकहरु पनि भत्किन पुगेको अवस्था छ । विकास खस्किँदो छ र विकास निर्माण र मर्मतमा ठूलो खर्च हुने गरेको छ । अर्काेतिर, विगत दुई दशकको राजनीतिक परिर्वतन, नेतृत्वको स्वार्थ र अराजकताका कारण मुलुक परनिर्भर बन्दै गएको स्पष्ट देखिएको छ ।

मुलुकमा अहिले ९० प्रतिशतभन्दा बढी उपभोग्य वस्तु आयात हुने गर्दछ । अर्थात, नेपालमा उपभोग गरिने वस्तुहरु ९० प्रतिशत आयातित छन् । नेपालमै उत्पादन गर्न सकिन्छ वा केही उपभोग्य वस्तुहरुलाई निषेध गर्न सकिन्छ भन्ने कुरा राज्यले मनन गर्नुपर्ने विषय हो । यसरी आयात हुँदा राज्यको ठूलो रकम विदेसिने गरेको छ । यस्तो खर्चलाई राज्यको रेमिट्यान्सले धान्नुपर्ने अवस्था छ । यो चक्रिय आर्थिक क्रियाकलापकै कारण राज्य दिनानुदिन कमजोर बन्दै गइरहेको अवस्था छ ।
नेपालको समृद्धि र विकासको प्रमुख मेरुदण्डको रुपमा कृषि र पर्यटन हुन् ।

मुलुकको श्रम शक्तिको प्रयोग गर्न नसक्ने, आयातलाई सहजीकरण गर्ने, आन्तरिक उत्पादन र यी उत्पादनको प्रयोगमा सरकारले प्रोत्साहन नगर्ने, कृषि क्षेत्रमा आवश्यक सामाग्री, मल, बिउबिजन, प्रविधि भित्र्याउन नसक्ने कारणले गर्दा कृषिप्रधान मुलुकमा कृषि उत्पादन पनि कमजोर बन्दै गएको छ । आन्तरिक उपभोग्य वस्तु पनि उत्पादन हुने अवस्था छैन । पर्यटनको अवस्था त्यस्तै छ । भौतिक विकास, पर्यटनमा सहजीकरण र सिण्डिकेटको अन्त्य नभएसम्म पर्यटनको विकास पनि कमजोर नै देखिन्छ । वि.सं. २०७२ मा नेपालमा गएको भुकम्पले पर्यटनले कमजोर बनाएको थियो ।

त्यसयता, पर्यटनमा त्यति सुधार हुन सकेको छैन । भुकम्पपछिको भौतिक विकास निर्माण पनि शून्यप्राय अवस्थामा छ । मुलुकको आकर्षणहरुमा भूकम्पले असर गरेको अवस्थामा पर्यटकको आवागमन घट्दै गएको थियो । अर्काेतर्फ, सन् २०१९ मा कोरोना संक्रमण भित्रिएपछि नेपाललगायत विश्व समुदायलाई नै असर पारेको थियो । विश्वभर कोरोना संक्रमण बढेपछि नेपालमा पनि पर्यटकको आगमनमा निकै घटेको थियो ।

नेपाललाई पर्यटकीय मुलुकका रुपमा पनि विकास गर्न नसक्नु सरकारको प्रमुखको कमजोरी हो । मनोरञ्जन र पर्यटन क्षेत्रको विकासमा राज्य र निजी क्षेत्रले सहकार्य गरेर काम गर्नुपर्ने हुन्थ्यो । पर्यटकीय क्षेत्रको पहिचान गरेर सडक तथा यातायातको सुविधा उपलब्ध गराउने, पर्यटकीय क्षेत्रको संरक्षण गर्नेलगायतका कामहरु राज्यले गनुपर्ने हुन्छ । हिमाल, पहाड र तराई गरी विविधतायुक्त क्षेत्रले भरिपूर्ण नेपाल पर्यटनमा पछि पर्नु राज्यको कमजोरी हो ।

विश्वमा कतिपय यस्ता मुलुकहरु छन् जसको अर्थतन्त्र पूर्णरुपमा पर्यटनमा निर्भर छ । ती राज्यहरुले पर्यटनकै लागि भौतिक विकास अगाडि बढाएका छन् । मनोरञ्जनका क्षेत्रहरु पहिचान गरेर निजी क्षेत्रको स्वामित्वलाई प्राथमिकता दिएका छन् । तर नेपालको खर्च संघीयता धान्न र सरकार, मन्त्रीहरुको सेवा सुविधाको खर्च तिर्नै सकिने गर्छ । मुलुकको १० प्रतिशत बजेट पनि पु्ँजीगत तथा विकास निर्माणमा खर्च हुन सकेको पाइँदैन ।

पर्यटन क्षेत्र नेपालको राम्रो र दीर्घकालीन आम्दानीको स्रोत बन्न सक्छ । पर्यटनको विकासका लागि राज्यले सडक निर्माण, हिमाली भूभागमा मनोरञ्जनका साधनहरुको विकास, सौहार्दपूर्ण पर्यटकीय वातावरण, होटल तथा रेस्टुराहरुको सहजतालगायतका विविध पक्षहरुमा निजी क्षेत्रसँग सहकार्य गरेर काम अगाडि बढाउनुपर्ने देखिन्छ । सरकारले विश्वका पर्यटनले अर्थतन्त्र धानेका मुलुकहरुको अनुशरण गर्न जरुरी छ । नेपाल प्रशस्त हिमाल र पहाडहरुले भरिपूर्ण छ ।

यसको उच्चतम उपभोग गर्नका लागि राज्य स्वयले र निजी क्षेत्रलाई सहजीकरण गरिदिनुपर्ने देखिन्छ । नेपाल आन्तरिक उत्पादनमा पनि कमजोर बनेको छ । आन्तरिक उत्पादन बढाउन आयात न्यून गर्ने र आन्तरिक स्रोतको उच्चतम उपभोग हुने गरी सर्वसाधारण उद्यमीहरुलाई सहजीकरण गरिदिनुपर्दछ । आन्तरिक उत्पादनका मामिलामा अनेक कानूनको बन्धनमा पारेर उद्यमी पलायन हुने र आन्तरिक उत्पादन नहुने अवस्थाको अन्त्य गर्ने काम सरकारले गर्नुपर्दछ ।

सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर पर्यटकीय क्षेत्र पहिचान गर्ने, पर्यटन आकर्षणका निम्ति योजना तथा स्किमहरु ल्याउने, आन्तरिक तथा विदेशी पर्यटक प्रवद्र्धन गर्ने, पर्यटन विस्तारका निम्ति सहुलियत प्रदान गर्ने, पर्यटन क्षेत्रमा नयाँ प्रविधिको विकास र विस्तार गर्ने, सडक र पूर्वाधार निर्माण गर्ने काम गर्नुपर्दछ । साथसाथै, आन्तरिक उत्पादन बढाउन उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्दै दीर्घकालीन आयात न्यूनीकरणको योजना अगाडि बढाउनुपर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *