काठमाडौं । मुख्य सचिव एकनारायण अर्यालको जागिर अवधि छोटिँदै गर्दा भावी मुख्य सचिव बन्न श्रम सचिव डा. कृष्णहरि पुस्कर कर्ण, गोकर्णमणि दुवाडी र अन्य केही सचिवहरु चलखेलमा लागेका छन् । चलखेलमा लागेकामध्ये श्रम सचिव कर्ण सिनियरमा पर्दछन् । कर्णको जागिरे अवधि २०८३ सालभित्र समाप्त हुने भएकाले पनि मुख्यसचिव बनिछाड्ने योजनामा उनी लागिपरेका हुन् ।
त्यसले गर्दा डा. कर्ण मुख्यसचिव बन्नको लागि न्वारनदेखिको बल निकालेर साम, दाम, दण्ड भेद प्रयोगरी दौडधूपमा लागेका छन् । यदि डा. कर्ण मुख्यसचिव भएको खण्डमा मधेस प्रदेशको इतिहास पनि रच्ने छन् । त्यसकै लागि सचिव कर्णले वैदेशिक रोजगार विभाग र वोर्डमा सेटिङ मिलाएर कमाउधन्दा सञ्चालन गरेका छन् ।
पहिला श्रममन्त्री शरद्सिंह भण्डारीको श्रममा एकछत्र राज थियो भने अहिले सचिव कर्णले उनलाई ओझेलमा पारेका छन् । ओझेलमा पार्नुका साथै मन्त्री पदबाटै हटाउने चलखेलमा सचिव कर्ण लागिपरेका छन् । सरकार परिवर्तन नहुँदै तराइवासी नेता महन्थ ठाकुरलाई प्रयोग गरेर श्रम मन्त्रीमा सर्वेन्द्रनाथ शुक्लालाई ल्याउने योजना सचिव कर्णले बनाइरहेको स्रोतले उल्लेख गरेको छ ।
त्यसले गर्दा श्रम, खानेपानी र महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब परेको बताइन्छ । श्रम मन्त्री भण्डारीलाई मात्रै परिवर्तन गर्दा नराम्रो सन्देश जाने भएकाले लोसपा र जसपाको भागमा परेका सबै मन्त्री परिवर्तन गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिइरहेको स्रोतको दावी छ । त्यसले गर्दा पनि मन्त्रिमण्डल फेरबदल गर्न प्रधानमन्त्री ओलीलाई मधेसवादी दलको दबाब परिरहेको छ । यदि प्रधानमन्त्री ओलीले मधेसवादी दलबाट बनेका मन्त्रीहरु परिवर्तन गरे तापनि सचिव कर्णलाई मुख्य सचिव बनाउने सम्भावना न्यून छ । सचिव कर्ण भावी मुख्यसचिव बन्नको लागि राजनीतिक दलका शीर्ष नेतादेखि मुख्यसचिव अर्यालको चाकडीमा लागिपरेको स्रोतको भनाइ छ ।
