प्रधानमन्त्रीज्यू ! चीन र भारत भ्रमण स्थगित गर्ने कि ?

राजनीति समाचार

रामचन्द्र बस्नेत
उत्तरी र दक्षिणी छिमेकी मुलुक चीन र भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू–भाग नेपाल सरकारलाई जानकारी नै नदिई व्यापारिक प्रयोजनको ५६ किलोमिटिर सडक निर्माण गरी अतिक्रमण गरेको छ । त्यसले गर्दा दुवै ठुला छिमेकी मुलुक चीन र भारतले नेपाली जनतामाथि कुठाराघात गरेको देखिन्छ । दुई ठुला र शक्तिशाली मुलुकले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकमाथि कुठाराघात गरेपछि आमसर्वसाधारण नेपाली दुखित भएका छन् ।

दक्षिणी छिमेकी मुलुक भारतले पूर्वदेखि पश्चिसम्मका विभिन्न भू–भाग विगत लामो समयदेखि पटक–पटक गरी अतिक्रमण गर्दै आएको थियो । भारतले पटक–पटक नेपाली भू–भाग अतिक्रमण गर्दा उत्तरी छिमेकी मुलुक चीनले त्यसप्रति कुनै चासो देखाएको थिएन । किन कि भारतले नेपालका भू–भाग अतिक्रमण गर्दा चीनले त्यसमा सहयोग गर्ने नेपाली जनताले आशा गरेका थिए ।

तर, पछिल्लो समय उल्टै भारतले अतिक्रमण गरेको नेपाली भू–भागमा भारतसँग मिलेर नेपाल सरकारलाई जानकारी नै नदिई व्यापारिक मार्ग बनाउन चीनले सहमति जनाउनुलाई नेपालमाथि विश्वासघात गर्नु हो । एकातिर दुई छिमेकी मुलुकले एकपछि अर्को गर्दै नेपाली भू–भाग अतिक्रमण गरिरहेका छन् भने अर्कोतिर नेपालका राजनीतिक पार्टीहरु उनीहरुको इसारामा नाचेर पार्टी, फुटाउने, सरकार ढाल्ने, आफू सत्तामा र पुग्न जस्तोसुकै सन्धि–सम्झौता गर्न पछि नपर्ने कारणले गर्दा छिमेकी मुलुकहरुले नेपाललाई असहयोग गर्दै आएका हुन् ।

नेपालका राजनीतिक पार्टीहरु सत्तामा भएको बेला छिमेकी मुलुकहरुसँग चुइक्क नबोल्ने अनि सत्ताबाहिर हुँदा नेपाली जनतालाई खोक्रो राष्ट्रवाद देखाउने प्रवृत्तिले पनि छिमेकी मुलुकहरुले हेप्ने काम गर्दै आएका छन् । राष्ट्र र राष्ट्रियताको लागि सम्पूर्ण राजनीतिक दलका नेताहरु एकठाउँमा उभिएर सीमा समस्या समाधानको लागि कूटनीतिक पहल गर्नुपर्नेमा सत्तामा हुने चुपचाप बस्ने र सत्ताबाहिर हुनेहरु आ–आफ्नो पार्टीको लेटरप्याडमा प्रेस विज्ञप्ति प्रकाशित गरेर नेपाली जनतालाई राष्ट्रवाद देखाउने गरेका छन् ।

जस्तै तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भू–भाग लिम्पियाधुरा र लिपुलेक समेटिएको चुच्चे नक्सा सार्वजनिक गरेका थिए । त्यसैगरी अहिले भारत र चीनबीच नेपाली भू–भाग अतिक्रमण गरी ब्यापारिक मार्ग निर्माण गर्ने गरी भएको सहमति फिर्ता नगरेसम्म चीन र भारतले भ्रमणको लागि गरेको निमन्त्रणा स्थगित गर्दा विश्वमा सकारात्मक सन्देश जाने र कूटनीतिक पहल हुने सम्भावना छ । त्यसैले प्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रियताको पक्षमा दृढ रहने हो भने अहिले हुनै लागेको चीन र भारतको भ्रमण स्थगित गर्नु नै उचित हुने देखिन्छ । त्यसले मात्रै मिचिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग फिर्ता ल्याउन टेवा मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *