किसानको मर्का कहिले बुझ्ने सरकार

राजनीति समाचार

मुलुकको शासन सत्ताको बागडोर सम्हालेको गठबन्धन सरकारले किन किसानहरुको समस्या बुझ्न सक्दैनन् । सर्वसाधारण जनताको समस्याको समाधान गर्ने क्षमता र हैसियत सरकारमा हुन्छ । तर सरकार किन यस्ता समस्याको समाधानमा असफल रहन्छ । यसको पहिलो कारण हो जनताको समस्यालाई बेवास्ता गर्नु । दोस्रो कारण हो, बिचौलिया ।

बिचौलिया राजनीतिसँग जोडिएका छन् । सरकार परिवर्तनमा चलखेल गर्छन् र बजार आफ्नो कब्जामा राख्छन् । तेस्रो हो भ्रष्ट राजनीति । नेपालको राजनीतिक संस्कार निकै भ्रष्ट छ । हरेक पेशागत संघसंगठन राजनीतिक दलको भातृ संगठन जस्तो भएका छन् । गलतलाई गलत र सहीलाई सही भन्नेहरु नै छैनन् । आफ्नो निकट राजनीतिक दलहरुको गुणगान गाउने र आफ्नो स्वार्थ पूर्ति गर्ने परिपाटी हरेक क्षेत्रमा व्याप्त देखिन्छ ।

हरेक वर्षको समस्याझैं अहिले पनि उँखु किसान, दुध किसान एकातिर आन्दोलित छन्, अर्काेतिर सरकारले समयमा मल उपलब्ध नगराउँदा किसानहरु पीडित बनेका छन् । किसानका समस्यामा सरकार बेखबर बनेको छ । मन्त्रालयहरु केवल झारा टार्ने र आफ्नो सरकारी समय पुरा गरेर तलब कुम्ल्याउने जस्ता मात्रै भएका छन् ।

केही दिन पहिले नै कृषि मन्त्रीले किसानलाई मल सहजै उपलब्ध गराउने भाषण दिएका छन् । तर वास्तविकता एकदमै पीडादायी छ । कृषिप्रधान मुलुक नेपाल सरकारकै कमजोरी र भ्रष्ट संस्कारका कारण अहिले खाद्यान्नमा समेत परनिर्भर बनेको छ । खाद्य उत्पादन पनि अहिले विदेशी मुलुकहरुबाट नेपाल भित्रिने गर्दछ । सरकारको व्यवहारबाट कृषि पेशामा संलग्न किसानहरु पनि आजित भइसकेका छन् ।

उता उँखु किसानले भुक्तानी नपाउँदा आन्दोलित छन् । किसानको उँखु उठाउने, उपयोग गर्ने तर भुक्तानी नदिने व्यवसायी, कलकारखानाहरुलाई किन सरकारले कारबाही गर्न सक्दैन ? किसान सँधै मारमा पर्ने गरेका छन् । अझ विशेषगरी बिचौलियाहरु हावी भएकै कारण वास्तविक किसान र व्यवसायीबिच प्रत्यक्ष काम नहुँदा किसान, व्यवसायी पीडित त भएका छन् नै, बजार पनि भताभुंग भएको छ । बिचौलियाले चर्काे मुल्य राखेर बजारमा पठाउने कारणले उपभोक्ताले महंगो तिनुपर्ने तर किसानले वास्तविक मूल्य नपाउने अवस्था पनि अहिले व्याप्त छ । मुलुकको हरेक क्षेत्रमा व्यापत बिचौलियाकरणको अन्त्य सरकारको पहिलो प्राथमिकता हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *