काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टीयू)ले यही पुस १० गते ५१ औं दिक्षान्त समारोह भव्य रुपमा सम्पन्न गरेको छ । (टीयू) नेपालको सबैभन्दा पुरानो, ठूलो र प्रतिष्ठित शैक्षिक संस्था हो । सन् १९५९ मा स्थापना भएको यस विश्वविद्यालयले नेपालको उच्च शिक्षाको विकासमा ऐतिहासिक योगदान पु¥याउँदै आएको छ । हरेक वर्ष आयोजना हुने दीक्षान्त समारोह त्रिभुवन विश्वविद्यालयको शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धिको रुपमा लिन सकिन्छ ।
सोही क्रममा आयोजित ५१ औँ दीक्षान्त समारोह विश्वविद्यालय, विद्यार्थी तथा अभिभावकहरूका लागि अत्यन्त गौरवपूर्ण अवसरको रूपमा लिने गरिन्छ । टीयूले ५१ औँ दीक्षान्त समारोहमार्फत् लामो समयको अध्ययन, मेहनत र सोधपछि विद्यार्थीहरूले प्राप्त गरेको सफलतालाई औपचारिक मान्यता प्रदान गरेको छ । यस ५१ औं दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि (पीएचडी) तह उत्तीर्ण गरेका १६ हजार विद्यार्थीहरू दीक्षित भएका छन् । दीक्षान्त समारोहलाई केवल प्रमाणपत्र वितरण गर्ने कार्यक्रमको रुपमा मात्रै नलिई विद्यार्थीहरुमाझ ज्ञान, सीप र जिम्मेवारी बोधको मेरुदण्ड मानिन्छ ।
५१ औं दीक्षान्त समारोहको कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गड त्रिपुरेश्वरमा सम्पन्न गरिएको थियो । समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति, सह–कुलपति, उपकुलपति, शिक्षाविद्, प्राध्यापक, विशिष्ट अतिथि तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । राष्ट्रिय झण्डा, शैक्षिक पोशाक (गाउन र क्याप) र अनुशासित वातावरणले कार्यक्रमलाई थप गरिमामय र रोमान्चक बनाएको थियो ।
दीक्षान्त समारोहमा वक्ताहरुले शिक्षा केवल जागिर प्राप्तिको माध्यम नभई समाज परिवर्तनको आधार भएको कुरामा जोड दिइयो । दीक्षित विद्यार्थीहरूलाई ज्ञान, सीप र नैतिकताको सही प्रयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरियो । विशेष गरी युवा पुस्ताले इमानदारी, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्नुपर्ने सन्देश दिइयो ।
५१ औँ दीक्षान्त समारोहले त्रिभुवन विश्वविद्यालयले उत्पादन गरेका दक्ष जनशक्तिलाई राष्ट्रको विकाससँग जोड्ने लक्ष्य राखिएको बताइएको थियो । शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, व्यवस्थापन, कृषि, मानविकी तथा सामाजिक विज्ञानलगायत विभिन्न संकायबाट दीक्षित विद्यार्थीहरूले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन् । यस दीक्षान्त समारोहले त्यस्ता विद्यार्थीहरूको आत्मविश्वासलाई थप बलियो बनाएको छ ।
कार्यक्रमका क्रममा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई स्वर्णपदक तथा विशेष सम्मान प्रदान गरिएको थियो । यसले अन्य विद्यार्थीहरूलाई पनि अध्ययनमा प्रतिस्पर्धी र अनुशासित बन्न प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ । पुरस्कार र सम्मानले मेहनत, लगनशीलता र निरन्तर अभ्यासको महत्वलाई उजागर गर्दछ । ५१ औँ दीक्षान्त समारोहले त्रिभुवन विश्वविद्यालयको शैक्षिक सुधार, अनुसन्धान प्रवद्र्धन र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई पनि उजागर गरेको छ । विश्वव्यापी प्रतिस्पर्धाको यस युगमा विश्वविद्यालयले समयअनुकूल पाठ्यक्रम, अनुसन्धानमुखी सीपमूलक शिक्षा र प्रविधिमैत्री सिकाइमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको थियो ।
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह केवल एक औपचारिक कार्यक्रम नभई भविष्यका जिम्मेवार नागरिक उत्पादन गर्ने ऐतिहासिक अवसरको रूपमा स्मरणयोग्य बन्यो । दीक्षित विद्यार्थीहरूले प्राप्त ज्ञान र सीपलाई राष्ट्र, राष्ट्रिय र असल समाज निर्माणमा समर्पित गर्ने दृढ संकल्पसहित अगाडि बढ्ने अपेक्षा गरिएको छ । तर, नेपालको परिप्रेक्षमा विश्वविद्यालयलाई त्यो नभएर शैक्षिक बेरोजगार उत्पादन गर्ने थलोको रुपमा लिन थालिएको छ । किन कि समयानुकूल सीपमूलक पाठ्यक्रमको अभाव, शैक्षिक सामग्री र अध्यायन गर्ने वातावरण अभाव, विश्वविद्यालयलाई ज्ञान, सीप र बौद्धिक जनशक्ति उत्पादन गर्ने भन्दा पनि राजनीतिक कार्यकर्ता उत्पादन गर्ने थलो बनाइएको छ ।
प्राध्यापकहरुले सरकारी विश्वविद्यालयहरुलाई केवल जागिर खाने र राजनीति गर्ने थलो बनाएर आफ्नो अथवा व्यापारीको लगानीमा निजी विद्यालय खडी गरी व्यापारिक उद्योग बनाउने गरेका छन् । पछिल्लो समय सरकारी स्कूलदेखि विश्वविद्यालयसम्म शिक्षकहरुको स्थायी जागिर खाने र विद्यार्थीहरुको राजनीतिक गर्ने थलो बनेको छ । देशमा भएका कलकारखाना र उद्योगधन्दा बन्द भएपछि शैक्षिक बेरोजगार बढिरहेका छन् । देशका पढेलेखेका दक्ष जनशक्ति रोजगारीको लागि विदेशिने क्रम बढिरहेको छ । अशिक्षित र अक्षम व्यक्तिहरु राज्यका महत्वपूर्ण नीतिनिर्माण तहमा रहेका छन् भने शिक्षित र दक्ष व्यक्तिहरु सीपअनुसारको जिम्मेवारी एवं काम नपाए विदेशमा लेबर बन्न वाध्य छन् ।
देशको राजनीतिदेखि नीतिनिर्माणका सबै तहमा अध्यक्ष व्यक्तिहरुको हालीमुहाली चलिरहेको छ । टीयूको ५१ औं दिक्षान्त समारोहमा दीक्षित अधिकांश व्यक्तिहरुले भनिरहेका थिए, ‘हामी बढेर दीक्षित भएर के गर्ने ? हामीमाथि शासनसत्तामा अशिक्षितहरुको हालीमुहाली छ ।’ कोही हतारिँदै थिए, ‘मेरो त आज मलेसिया उड्नुपर्ने प्लेन टिकट छ, गएँ है ? फेरि भेटौं’ भन्दै गएका दृष्यहरु पनि देखिन्थे । त्यसैले नेपाली युवाहरुले नेपालका शैक्षिक संस्था बेरोजगार उत्पान गर्ने कारखाना हुन् । जेहोस् आफ्नो मेहनत, लगानशीलता, निरन्तरता र इच्छाअनुसार सफलताको प्रमाण–पत्र हात लाग्दा उपस्थिति सबै उत्साहित र खुशी देखिन्थे ।

