उम्मेदवारहरुको चुनावी एजेन्डा खोइ ?

राजनीति समाचार

प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा दलहरुले आफ्नो पार्टीको स्पष्ट नीति र भिजनसहितको राजनीतिक एजेन्डा सार्वजनिक गर्न सकेका छैनन् । पार्टीको चुनावी घोषणा–पत्र पनि अहिलेसम्म ल्याएका छैनन् । जुनसुकै दल अथवा स्वतन्त्रबाट उम्मेदवार बनेकाहरुले सामाजिक सञ्जाल फोसबुक र युटुबबाट व्यक्तिगत प्रचार–प्रसार गरिरहेका छन् । तर, आ–आफ्नो पार्टीको विचार, सिद्धान्द र नीतिअनुसारको विकास निर्माणका एजेन्डाहरु घोषणा–पत्रमार्फत सार्वजनिक गरेका छैनन् । पार्टीको चुनावी घोषणापत्र नल्याइ उम्मेदवारहरु सामाजिक सञ्जालमार्फत व्यक्तिगत प्रचार प्रचारमा रमाइरहेका छन् । जनतामाझ पार्टीको स्पष्ट भिजन लिएर जानुपर्नेमा त्यो नगरी खाली फलानो व्यक्तिको ठाउँमा म आएको छु, त्यसैले मलाई भोट दिनुपर्छ भनेर प्रचार गरिरहेका छन् ।

अधिकांश नयाँ पार्टी र स्वतन्त्र उम्मेदवार बनेकाहरुले चुनावी एजेन्डासहित घोषणापत्र सार्वजनिक गर्नु त पुरैको कुरा आफ्नो व्यक्तिगत विवरणसमेत लुकाएर उम्मेदवारी दिएका छन् । रास्वपाका उपाध्यक्ष बालेन साहले आफ्नो व्यक्तिगत विवरणसमेत लुकाएर उम्मेदवारी दिएका छन् ।

त्यस्तै आगामी फागुन २१ को निर्वाचनमा चर्चित अनुहार देखिएका जगदिश खरेल, पुकार बम, रञ्जु दर्शना, सोभिता गौतमलगायतले पनि उम्मेदवारी दिँदा व्यक्तिगत विवरणसँगै सम्पत्ति विवरणसमेत लुकाएका छन् । सर्वसाजनिक पदधारण गर्ने व्यक्तिले आफ्नो पारिवारिक, वैबाहिक र सम्पत्ति विवरण लुकाउँछन् भने उनीहरु निर्वाचित भएको खण्डमा देशमा कस्तो शासन व्यवस्था चलाउँछन् भन्ने गम्भीर प्रश्न खडा भएको छ । नयाँ दल र स्वतन्त्रबाट उम्मेदवार बनेका अधिकांशले राजनीतिक सिद्धान्त, भिजन र एजेन्डाभन्दा बाहिर गएर उम्मेदवारी दिएका छन् । त्यसले गर्दा देशमा विकासभन्दा विनाश निम्तिने खतरा बढिरहेको छ ।

उता, पुराना दलहरुले पनि निर्वाचन नजिकिँदै गर्दासमेत आफ्नो पार्टीको स्पष्ट धारणा र विकास निर्माणका योजनाहरु सार्वजनिक गरेका छैनन् । पार्टीबाट उम्मदवार बनेकाहरु पनि व्यक्तिगत स्वार्थ र जनताको मनोविज्ञानअनुसार बोल्ने गरेका छन् । तर, पार्टीको स्पष्ट खाका तयार गरी सार्वजनिक गर्न सकेका छैनन् । २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ हुनुपर्ने कारण पनि पुराना र नयाँ दलहरुले खुलाउन सकेका छैनन् । त्यसले गर्दा यो निर्वाचन नेपाल र नेपालीको भलाइका लागि नभइ विदेशीको चाहनाअनुसार हुने देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *